स्वतन्त्र हुनु, विचारहीन हुनु भने होइन !

डा. नारायण चालिसे
Read Time = 13 mins

शब्दकोशमा स्वतन्त्र शब्दका धेरै कोशीय अर्थ र तात्पर्यार्थहरू गरिएका छन् र ती ज्यादै सुन्दर रहेका छन् । स्वतन्त्र शब्द मानिस जातिको निम्ति त अति प्रिय शब्द हो नै । त्यसो त स्वतन्त्रता प्राणी जातिकै निम्ति पनि प्रिय कुरा हो । उनीहरूका कुरा नबुझे पनि हामीले अनुमान गर्छौं कुनै पनि प्राणी स्वतन्त्र रहन पाउँदा खुसी भएकै लाग्छ । उसका गतिविधिहरू त्यस्ता लाग्छन् । बाँधेर राखेका वस्तुभाउ दाम्लोबाट उम्किन चाहेको बुझेका छौं । घरपालुवा अन्य जनावरहरू र पशुपक्षीहरूको पनि त्यस्तै सङ्केत हामी पाउँछौँ । अरूलाई कैद गर्न रुचाउने मानिस आफू भने कैदमा बस्न कत्ति रुचाउँदैन ।

स्वतन्त्रताको व्याख्या गर्ने विचारशील हामी मानिसहरूसँग स्वतन्त्रताको साइनो के हो भनेर सोध्नुभन्दा नसोध्नु उचित हो । युगौँदेखि हामी स्वतन्त्रताको वकालत गर्दै आइरहेका छौँ । सङ्घर्ष गर्दै र बलिदान दिँदै पनि आएका छौँ । साहित्यमा, राजनीतिमा, सामाजिक जीवनका हरेक मोड र घुम्तीहरूमा हामी स्वतन्त्रताका कुरा गर्न रुचाउँछौँ । यसो हुन नसकेको परिस्थितिको विपक्षमा जान्छौँ, बोल्छौँ प्रतिक्रिया जनाउँछौँ । यो क्रम सदियौँदेखि चलिआएको छ । स्वतन्त्र विचार, स्वतन्त्र सिद्धान्त, स्वतन्त्र चेतना, स्वतन्त्र जीवन इत्यादि धेरै सन्दर्भसँग स्वतन्त्र शब्द जोडिएर आएको पाइन्छ ।

सिद्धान्तका कतिपय कुराहरू व्यवहारमा प्रयोग हुँदा देखापरेका अनौठा परिणामहरू अहिले हाम्रा सामु छन् । सुनौला अक्षरले लेखिएका सिद्धान्तका कतिपय असफल पानाहरूले अहिले हामीलाई गिज्याइरहेका छन् । अहिले पनि हामी हाम्रो नीति र सिद्धान्त राम्रो हो भन्नेमै व्यस्त छौं तर च्यातिँदै गएका सिद्धान्तका पानाहरू बजारमा छरपष्ट हुन थालेका छन् । आज दलप्रति निराश बन्दै गएका नागरिकहरू तिनै च्यातिएका पाना बटुल्दै स्वतन्त्रताको नयाँ सिद्धान्तको खेस्रा कोर्दै गरेको दृश्य त्यति प्रिय नभए पनि हामी हेर्न विवश छौँ ।

कति गौरवले लिने हाम्रा दलीय नामहरू, तिनका विचार र दर्शन अनि तिनले व्यक्त गरेका जनमुखी भनिएका प्रतिबद्धताको अन्तर्य खोजिरहेका छौँ । दलको आदर्श हामीबाट टाढिँदै जानु र व्यक्तिमा दलीय आदर्शको प्रतिरूपको खोजीको प्रक्रिया थालिनु दलीय राज्यमा त्यति सन्तोषजनक कुरा होइन । विचार, दर्शन र दृष्टिको पूर्ण जिम्मेवारी हामीसँग छ भन्ने हाम्रा दलहरूमा कतिपय विचार, दर्शन र दृष्टि भएका व्यक्तिहरू नअटाउनु बरु त्यसको ठीकविपरीत त्यस्ता व्यक्तिहरू निराश बनेर वैकल्पिक बाटो रोज्न बाध्य हुनु लोकतन्त्रको सुन्दर पाटो होइन ।

दलीय राजनीतिमा दलगत मान्यताभन्दा व्यक्ति दृष्टिलाई उच्च ठानेर दलीय चेतनामा अनास्था फैलाउने निर्दलीय चेतना पनि समाज र देशको पक्षमा छ भन्न सकिँदैन । तर जुन देशको राजनीतिको मूलधार नै दलीय लोकतन्त्र रहेको छ त्यस ठाउँमा उभिएर निर्दलीयहरूको दल खडा गर्नुपर्ने बाध्यता र नयाँ नेता बन्ने रहर पनि त्यति सुन्दर अभियान होइन । नेपालको संविधानले सबै नागरिकलाई स्वतन्त्र निर्णय गर्ने अधिकार दिएको छ तर दलीय राज्यमा दलहीन स्वतन्त्र व्यक्तिले एक्लै हिँडेर सबै काम गर्न सक्दैन ।

उसलाई पनि दल वा कुनै वैधानिक समूहको साथ सहयोग चाहिन्छ । स्वतन्त्र नै आफैँमा दल हो भन्ने नयाँ व्याख्याका प्रयासहरू पनि थालिएका छन् । रातारात नेता बन्ने रहरले भोलि अहिलेकै अवस्था न निम्तिएला भन्न कहाँ सकिन्छ र ? व्यक्ति महत्वाकाङ्क्षाभन्दा राष्ट्र र जनताको स्वाभिमान एवं सम्मान ठूलो हो । जसले यस कुराको हेक्का राखेको छैन इतिहासले त्यसलाई ढिलोचाँडो दण्ड दिँदै आएकै छ ।

यो स्थानीय निर्वाचनले दलकोे विकल्पमा स्वतन्त्र भन्ने शब्दलाई केही चर्चामा ल्यायो तर त्यो चर्चा अनुकूल सन्दर्भमा आएन । यस पटकको निर्वाचनको केही अनपेक्षित परिणामबाट हौसिएका व्यक्तिहरू जनताको दलप्रतिको निराशालाई भजाउने नयाँ रणनीतिमा लाग्ने क्रम बढिरहेको जस्तो पनि लाग्दैछ । धेरै कुरा हामीलाई स्वतन्त्रतासँग जोडिएका मन परे पनि स्वतन्त्र उम्मेदवार भने हामीलाई त्यति मन परेन । त्यसका पछाडि केही तार्किक आधारहरू रहे । हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ ।

यो समयसम्म आइपुग्न हामीले लामो सङ्घर्षपूर्ण समय पार गरेका हौँ । एकदलीय वा निर्दलीय शासन व्यवस्थामा हाम्रा भावनाको सम्बोधन नभएकैले हामीले हाम्रो अनुकूलको व्यवस्था ल्याउने क्रममा गणतन्त्रलाई आफ्नो अनुकूलको व्यवस्था मानेकाले र यो व्यवस्थामा दलीय राजनीति महत्वपूर्ण विषय बन्ने भएकाले दलप्रतिको आबद्धतालाई यस व्यवस्थामा उत्तम मानियो । यसरी संविधानमा हामी दलीय राज्यका स्वतन्त्र नागरिक भएको पनि धेरै वर्ष भयो । दलप्रतिको आस्था र भरोसामा हामीले धेरै वर्ष यसको सबल पक्षको प्रतीक्षामा बिताइसकेका छौँ ।

हामीले दलीय व्यवस्था रोज्न जानेनौँ कि यो व्यवस्थाको मर्यादा बुझ्ने नेता र नेतृत्व छान्न जानेनौँ ? हामी अहिले अन्योलमा छौँ । सुस्त सुस्त दल र दलीय व्यवस्थाप्रति निराशा बढ्दै गएका सङ्केतहरू देखिन थालेको विषय अहिले चर्चामा छ । दलीय व्यवस्थामा स्वभावैले दलगतउ म्मेदवारहरू बलिया दावेदार हुन् र हामी दलीय अनुशासनमा आबद्ध नागरिकहरू पनि दलप्रति उत्तरदायी हुनु पनि स्वाभाविक कुरा हो । यसो भनिरहँदा दलको नागरिकप्रतिको दायित्व र दलप्रतिको नागरिकहरूको आस्थाका बीचमा जे जस्तो सम्बन्ध हुनुुपथ्र्यो त्यो हुन नसकेको तीतो यथार्थ अहिले हाम्रो निम्ति चिन्ता र चासोको विषय बनेको छ ।

गत स्थानीय निर्वाचनका केही सङ्केतहरू त्यस्तै विषयका झरिला दृष्टान्तहरू हुन् । दलीय उम्मेदवारले निर्वाचनमा पराजय भोग्नु अनि दलबाहिरका उम्मेदवारहरूले विजय प्राप्त गर्नुलाई दलप्रतिको अनास्थाको रूपमा व्याख्या गरिएको छ । हामीले दलीय व्यवस्थामा दलसँग आबद्ध हुनुपर्ने कुरालाई बढी महत्त्वले हेर्‍यौँ । कुरा केही हदसम्म उचित भए पनि सर्वथा उचित हुन सकेन । हामी कुनै न कुनै पार्टीमा आबद्ध भएकैले हाम्रा आफ्ना पार्टीका प्रतिनिधिहरू रहेर तिनका पक्षमा हामी लाग्यौँ ।

यी सबै भएर पनि हामी मानिस मानिस जस्तो बन्न सकिरहेका छैनौँ । अर्कोतिर हामीले स्वतन्त्रताका कुरा गरेको सयौँ वर्ष भयो । हामी स्वतन्त्रताकै हिमायतीहरू हौँ । हामीले विचार, व्यवहार, अभिव्यक्ति सामाजिक, अर्थिक, राजनीतिक स्वतन्त्रताकै निम्ति सङ्घर्ष ग¥यौँ । बलिदान दियौँ केवल स्वतन्त्रताको निम्ति । त्यसरी सङ्घर्ष गरेर स्वतन्त्र भएपछि हामी पुनः अमुक अमुक राजनीतिक पार्टीको अधीनमा पुग्यौँ । हाम्रो स्वतन्त्रतालाई स्वतन्त्रताका हिमायती पार्टी र तिनका नेतृत्वले सम्मोहनमा पारेर अपहरण गर्दैछन् । हामी स्वतन्त्र छौँ भन्दै पार्टीको अधीनमा पर्दैछौँ र परतन्त्र हुँदैछौँ । भन्न त अहिले पनि हामी स्वतन्त्र छौँ भन्छौँ र स्वतन्त्रताका गफ चुट्छौँ ।

तर, हामीहरू अमुक पार्टीले भनेको भन्दा पर गएर कुनै पनि निर्णय गर्न सक्दैनौँ । स्वतन्त्रलाई हामी स्वयं स्वतन्त्रताका हिमायतीहरूले नै उपेक्षा गरिरहेको अनौठो दृश्य यस पटकको निर्वाचनमा देखाप¥यो । स्वतन्त्र उम्मेदवारलाई असक्षम हुन् भन्नेदेखि उनीहरूको व्यक्तिगत चरित्रमा प्रश्न उठाउने कामहरू पनि भए । असम्मान वा अपमान कसैको हुनुहुँदैन ।

खरो भाषामा भन्दा खासमा स्वतन्त्र त तिनै थिए जसले स्वतन्त्रताको सही उपयोग गरे र स्वतन्त्र मतदाताले स्वतन्त्रताको उपयोग गरेर तिनै स्वतन्त्रलाई निर्वाचित गरे । जे जति नागरिक स्वतन्त्र थिए तिनले स्वतन्त्र उम्मेदवारलाई मतदान गरे स्वतन्त्रताको उपयोग गरे भनियो भने अहिलेको परिस्थितिमा लोकतन्त्र विरोधी भनिने डर छ । तर, किन हो किन पार्टी वा सिद्धान्तको नाममा भएको स्वेच्छाचारी प्रवृत्तिका विपक्षमा आफ्नो अभिमत जाहेर गर्ने व्यक्तिले ठीकै गरे भनेर दलहीन सत्ताको पैरवी गर्न हाम्रो चरित्रले अनुमति दिँदैन । तर, निर्वाचित भएपछि तिनै पार्टीका कारिन्दाहरू आफूलाई बलशाली र ज्ञानी ठान्दैछन् र स्वतन्त्रलाई उपेक्षा गर्न खोज्दैछन् ।

र, उनीहरू यो पनि ठान्दैछन् कि ती जो स्वतन्त्र हुन् ती त कुनै क्षमता भएका मानिस नै होइनन् । स्वतन्त्रहरू भनेका कुनै विचार, दर्शन, सिद्धान्त, दृष्टि वा क्षमता भएका मानिस नै होइनन् । विचार दृष्टि भएको व्यक्ति त कुनै न कुनै पार्टीमै जानुपर्छ वा पार्टीमै छ भन्ने दलीय व्याख्या पनि फजुल तर्क हो कि जस्तो लाग्दै छ । सत्यका झिल्काहरू अरू नै कुराको सङ्केत गर्दैछन् । कसैलाई पनि उपेक्षा वा अपमान नगर । आफ्नो असक्षमतालाई अरूमा आरोपित नगर भन्ने पछिल्लो सन्देश त्यसैको दृष्टान्त हो । समय यसरी फेरिँदै जाँदो छ ? एउटा मान्नै पर्ने सत्य के हो भने स्वतन्त्र हुनु विचारहीन, क्षमताहीन, मूल्यहीन, मान्यताहीन हुनु अवश्य होइन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?