रविको पार्टी रविन्द्रको जस्तो नबनोस्

Read Time = 13 mins

✍️  मणि शर्मा
राजनीतिक मण्डीमा फेरि एउटा नयाँ पसल खोले रवि लामिछानेले । केही नयाँपन, केही नयाँ जोश तर रक्सी पुरानो बोतल नयाँ । जसरी जनयुद्धको नाममा इण्डोपश्चिमा शक्तिले पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई स्थापित गरी दस वर्षसम्म नरसंहारसहित विध्वंश मच्चाए, जसरी मधेस आन्दोलनको नाममा गौर हत्याकाण्ड मच्चाएर उपेन्द्र यादवलाई स्थापित गरे, जसरी उपेन्द्रबाट तिनीहरूको स्वार्थ पूरा हुन नसकेपछि अमेरिकाबाट सिके राउतलाई यहाँ पठाएर स्वतन्त्र मधेसको नारा दिएर तराई विखण्डनको जग बसाल्न लगाए  ।

अहिले बाटो परिवर्तन गरेर यही व्यवस्थालाई टेकेर लक्ष्य पूरा गर्न उद्यत छन्, जसरी इण्डियाले कथित मधेसवादी दलका नाममा तराईलाई नेपालबाट अलग पार्न कथित मधेसवादी दलहरू गठन गर्‍यो, ठीक त्यसरी नै यी पुराना प्रयोगहरूको वास्तविकता थाहा पाएर जनताको वितृष्णा यी दलहरूमाथि जाग्न थालेपछि अमेरिका रिटर्न रवि लामिछानेलाई यही व्यवस्था जोगाउन नयाँ प्रयोगका लागि पश्चिमा शक्तिकेन्द्रहरू तथा भेटिकनले उनलाई यहाँ स्थापित गर्दैछन् । अहिले देउवा सरकार भारतलाई खुशी पार्न नागरिकता विधेयक संशोधन गर्न लागेको छ ।

नेपालमा राजसंस्था नहुँदा विदेशीहरूलाई यहाँ चलखेल गर्न सजिलो भएको छ । राजा देशभक्त हुन्छन् । उनलाई यहीँ राज गर्नु छ र आफ्नो शेषपछि आफ्ना छोरा नातिलाई राजा बनाउनु छ । यही स्वार्थले पनि राजा देशभक्त हुने गर्दछन् । नेपाल रहेमात्र उनी र उनका सन्तान यहाँ राजा बन्न पाउनेछन् । यी नेताहरूलाई भोलि नेपाल टाट पल्टिए वा विदेशीको गुलाम भए यो देश छोडेर अशरफ घानी जस्तै भाग्नेछन् । उनीहरूलाई यो देशको फिटिक्कै माया छैन ।

राजा फालेपछि मात्र उनीहरूलाई गणतन्त्र, संघीयता तथा धर्मनिरपेक्षता रूपी विषवृक्ष रोप्न सफल भएका हुन् । आज देश ऋणमा चुलुम्र्म डुबेको छ । श्रीलंकालाई टाट पल्टाइसकेपछि विश्वबैंकको क्षेत्रीय कार्यालय नेपाललाई टाट पल्टाउन यहाँ सारिएको छ । अहिले त गगन थापा स्वयं त्यसको बोर्डमा छन् । हाम्रा जनप्रतिनिधि रूपी सांसदहरू न त जनताकै बन्न सके न त देशकै । सम्पूर्ण कामकारबाही सर्वदलीय सहमतिको नाममा केही शीर्ष नेताहरूको निर्णयहरूबाट चलेको छ । सांसदहरू करिब नब्बे प्रतिशत संसदमा हुँदैनन्, संसदमा जान्छन् हाजिरी गर्छन् अनि टाप कस्छन्, विद्यार्थीहरूले विद्यालय बंक गरे जस्तै ।

संसदमा भएका सांसदहरू पनि प्रायः कुम्भकर्ण निद्रामा हुन्छन् । मानौँ उनीहरूलाई देश र जनताको चिन्ता छैन । प्रधानमन्त्री न संसदीय समितिमा बोलाउँदा जान्छन् न त संसदमा । यिनीहरूलाई न त देश चाहिएको छ र न तजनता । दोष यिनीहरूको होइन, यिनीहरू त विदेशीको निर्देशनमा चल्ने हुन् । विदेशीले रोपिदिएको विषवृक्षको फलबाट अमृत त वर्षिंदैन, बरू यो काँढादार विषवृक्ष झ्यांगिँदै जान्छ ।

नेपालमा इण्डो पश्चिमाले लादेको व्यवस्थालाई ठीक तर यसका सञ्चालक बेठीक भन्ने तर्कको हल्ला फिजाउन रवि लामिछानेलाई यहाँ अहिले स्थापित गरिएको छ । यी दुवैको स्वामी एउटै हुन् । जनतालाई रनभुल्लमा पार्न कहिले नेतृत्वको दोष, कहिले नयाँ पुस्ताको कुरा, कहिले शासकीय स्वरूप फेरे यो व्यवस्था उत्तम व्यवस्था हुने बहस, कहिले व्यवस्था ठीक कि वर्तमान अवस्था ठीक, कहिले व्यवस्था ठीक पार्टी बेठीक भनेर रवि लामिछाने जस्ता नयाँ व्यक्ति खोजेर नयाँ पार्टी खोल्ने यस्ता प्रयोग विदेशी शक्तिकेन्द्रले गरिरहन्छन् ।

रवि लामिछाने अहिले उनीहरूको नयाँ उत्पादन हुन् । उनलाई जनजीवनको झिनामसिना मुद्दाहरू सम्बोधन गर्न न्यूज २४ मा स्थापित गरियो । चितवन काण्डमा उनलाई कृत्रिमरूपमा फसाइयो, न्यूज २४ छोडेर उनले आफ्नै टिभी च्यानल खोले । यतिका पैसा आयो कहाँबाट ? चितवन काण्ड पनि उनलाई स्थापित गर्न रचिएको एउटा प्रायोजित काण्ड थियो भन्ने यसले प्रमाणित गर्छ । उनी कहिल्यै यो व्यवस्थाको विरोधमा बोलेनन् । यो व्यवस्था ल्याउनमा पुष्पकमलको देन छ भनेर उनको प्रशंसा गर्दै उनलाई आफ्नो आदर्श मानेका छन् । जबकि आम नेपालीले थाहा पाइसकेका छन् यो व्यवस्था ल्याउन ककसको हात थियो भनेर ।

पश्चिमा शक्तिले प्रयोगका लागि बिबिसीको जागिर छोडाएर पार्टी खोल्न पठाएका रविन्द्र मिश्र जो असफल भएपछि अहिले रविलाई अगाडि सारिएको छ । उनले द लिडर सोमा कस्ता कस्ता व्यक्तिहरूलाई अतिथि बनाएर ल्याएका थिए त्यसले नै उनी कस्तो किसिमको मान्छे हुन् भन्ने थाहा हुन्छ । सुशीला कार्की जसले सर्वोच्च अदालतमा आइएनजिओ भित्र्याइन, आइएनजिओ भित्र्याएर अदालतलाई पश्चिमा शक्तिको कठपुतली बनाउने उनी र कल्याण श्रेष्ठ नै हुन्, बाबुराम भट्टराई जो दश वर्षे नृशंस नरसंहारमा लागेर देशलार्ई तहसनहस बनाउने र पछि गएर एउटा असफल नेता बनेका व्यक्ति ।

उनले यस कार्यक्रममा भाग लिन सहभागी दर्शकसँग एक हजारका दरले उठाएको कुरा अहिले बाहिर आएको छ । पैसा लिँदा सरिद दिनुपर्ने हो तर उनले दिएनन् । जनताले उनको लोकप्रियताले गर्दा उनको विश्वास गरेका थिए । आदित्य न्यौपाने भन्ने एउटा व्यक्ति जसले एक हजार रुपैयाँ बुझाएको दर्ता नं ३०४७१ हो । अझै पैसा नपाएको सामाजिक सञ्जालमार्फत गुनासो गरेका छन् । यस्ता गुनासाहरू आउने क्रम जारी भएपछि रवि लामिछानेले पैसा सय रुपैयाँ व्याजसहित फिर्ता गर्छु भनेका छन् ।

यसबाहेक पनि उनले विभिन्न व्यक्तिसँग लाखौं रुपैयाँ लिएको कुरा बाहिर आइरहेको छ । राजनीतिमा प्रवेश नगर्दै घोटाला गर्नेले भोलि सत्तामा गएपछि के गर्लान् ? पारिवारिक रूपमा पनि उनी आफ्नी स्वास्नी हुँदाहुँदै पनि अमेरिकामा अर्के केटीसँग लागेर पारिवारिक सम्बन्ध बिग्रेको कुरा बाहिर आइसकेको छ । जसले आफ्नो परिवारप्रति न्याय गर्न सकेन उसले यो देशप्रति के न्याय गर्ला ? आदर्शको चर्को बोलीले देश चल्दैन । आदर्शवान तथा देशभक्त हुनुपर्छ ।

उनको चुनाव चिहृन घण्टा चर्चको घण्टा जस्तै छ । उनको झण्डाको रंग बाइबलको रंग जस्तै छ, उनको सात तारा युरोपियन युनियनको बाह्र तारामध्ये सात तारा हो । यो झण्डाको रंग र तारा अमेरिकाको कन्फडेरेट स्टेटको सात तारा भएको झण्डासँग मिल्न जान्छ । अमेरिकन इन्डिपेन्डेन्ट पार्टीको नामकै सक्कलबमोजिम नक्कल पार्टीको नाम राखेका छन् । जनताले सबै बुझ्दैछन्, एक दिन उनको पनि अवस्था रविन्द्र मिश्रकै जस्तो र उनको पार्टीको अवस्था अमेरिकन इन्डिपेन्डेन्ट पार्टीको जस्तै हुनेछ ।

कबीरको एउटा दोहा छ- ‘करता था तो क्यों रहा, अब काहे पछताय, बोया पेड बबूल का आम कहाँ से खाय ।’ यो व्यवस्था पनि बबूलको रूख जस्तो काँढेदार हो । यहाँ प्रत्येक पगमा, धर्मान्तरण, विदेशीको गुलामी, देशलाई कंगाली, जनतालाई गरिबी आदि धेरै काँढैकाँढा उपहारमा पाइन्छ । बबूल त्यो पनि विदेशी, खतरनाक बबूल । इण्डियामा अंग्रेजहरूको शासन कालमा हरियाली बढाउन यमुनादेखि चम्बलसम्मको क्षेत्रमा बेलायती बबूलको बिउ ल्याएर हेलिकप्टरबाट छरियो । बिउ बिरुवा भयो, बिरुवा रूख भयो । यसले जैविक विविधतामाथि ठूलो खतरा बढायो, पर्यावरणमाथि भारी बोकायो ।

यसले स्थानीय जातको पाँच सयभन्दा बढी प्रजातिको बोट बिरुवा र रूखहरूलाई समाप्त पारिदियो र यो क्रम अहिले पनि जारी छ । यसले शुष्क क्षेत्रमा जल संकट बढाएको छ । जुन जंगलमा कुनै बेला शेर, बाघ, भालु, चितुवा, हुँडार, स्याल, ब्वाँसा आदि जनावर थिए, अजिङ्गरहरू पहाडको ओडारमा बास बस्दथे आज त्यसमध्ये कति भाग्न नसक्दा सिकारीहरूको सिकार भए, भाग्न सक्ने जति पलायन भए । यसको बबूलको वैज्ञानिक नाम प्रोसोपिस जुलिफ्लोरा हो । यो मूलरूपमा दक्षिण तथा मध्यअमेरिका र क्यारेबियन मुलुकहरूमा पाइन्छ । सन् १८७० मा अंग्रेजहरूले यसलाई इण्डियामा ल्याएका थिए ।

सत्र हजार पाँच सय बत्तीस हेक्टरको असिञ्चित भूमिमा हरियाली विराजमान थियो । विभिन्न जातका फलफूल पाइन्थ्यो, जनावरहरूका लागि चरण, विचरण र आवास क्षेत्र थियो । चम्बल क्षेत्रको सुरक्षाका लागि भनेर स्वतन्त्र भारत सरकारले सन् १९८० मा यो बेलायती बबूलको बिउ फेरि ल्याएर रोप्यो तर यो अभिशाप सिद्ध भयो । यसले जमिनको चिसोपनलाई सोखेको कारण यसको नजिक कुनै बोट बिरुवा उम्रिन पाएनन्, यसले फ्याँक्ने अत्याधिक कार्बन डाइअक्साइडले चम्बलको शीतल वनलाई तातो बनायो ।

यसकै कारण प्रदुषणमा पनि वृद्धि भयो किनकि यसले अरू जातका बोट बिरुवाहरूलाई उम्रिनै दिँदैन । पर्यावरणविदले यसको विरोध गरिरहेका छन् । हाम्रो यो व्यवस्था पनि इण्डोपश्चिमा शक्तिले रोपिदिएको प्रोसोपिस जुलीफ्लोरा जातको बबूलको रूख हो । यो अहिले गाउँदेखि सहरसम्म यसरी झांगिएको छ जसले एक दिन नेपाली जनतालाई सास फेर्न गाह्रो हुनेछ । समय छँदै सचेत हुनु जरुरी छ । दलरूपी यो भयानक बबूलरूपी व्यवस्थाका हाँगाहरू समातेर हातलाई रगताम्य पार्नबाट बचाउन आफ्नै स्थानीय जातको मौलिक जरोकिलो भएको व्यवस्था स्थापना गर्न एकजुट होऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?