पार्टी खोल्ने होडबाजी

हिमालय टाइम्स
Read Time = 6 mins

हाल नेपालमा पार्टी खोल्ने होडबाजी चलिरहेको छ । पार्टी प्रणालीमा पार्टी खोल्ने कार्य अस्वाभाविक होइन । यसलाई स्वाभाविक कार्यका रूपमा लिनुपर्ने हुन्छ तर पार्टीप्रति जनताको विश्वास कम भइरहेको बेला नयाँ-नयाँ पार्टी खोल्नु भनेको नजताको ती पार्टीप्रतिको भरोषा बढाउने होइन उपहासमात्र बढाउने कार्यमात्र हो । पार्टी प्रणालीमा पार्टीहरू नै यसको प्राण हो । निर्दलीय प्रणालीमा पार्टीमाथि प्रतिबन्ध लागेको कारणले नै पार्टी खोल्न पाउनुपर्छ भनेर नै तत्कालीन व्यवस्थाविरुद्ध विभिन्न चरणमा विभिन्न प्रकारका आन्दोलन भएका थिए । बञ्चराको एकै प्रहारले रूख ढल्ने होइन विभिन्न प्रहार गर्नुपर्ने हुन्छ । त्यसका लागि पहिलो र अन्तिम प्रहारको उत्तिकै महत्व हुन्छ । यस अर्थमा २०३१, २०४२ र २०४६ सालका आन्दोलनहरूको उत्तिकै महत्व रहेको थियो ।

२०४६ सालको जनआन्दोलनको सफलतापछि नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । त्यसपछिका यी ३३ वर्षमा हामी पार्टी प्रणालीको अभ्यासमा छौं । यसबीच निर्वाचन आयोगमा सयौं पार्टीहरू दर्ता भए । तीमध्ये केही आफ्नो अस्तित्वमा आउन सके केही इतिहासमा त्यसै विलिन हुनपुगे । कुनै-कुनै पार्टीले एक-दुई पटक निर्वाचनमा भाग लिए तर विजयी बन्न सकेनन् । कुनै-कुनै पार्टीले त निर्वाचनमा भागसमेत लिएनन् । ती त्यसै विलय भए । लोकतन्त्र प्राप्तिपछि बनेको वर्तमान संविधानले व्यवस्था गरेबमोजिम हाल देशमा संघीय गणतान्त्रिक राज्यप्रणाली सञ्चालन भइरहेको छ । यस प्रणालीले दिएको अधिकार प्रयोग गरी पार्टी दर्ता गर्ने र सञ्चालन गर्ने अधिकार सबैलाई छ । संविधान प्रदत्त यही अधिकार प्रयोग गरी निर्वाचन आयोगमा नयाँ-नयाँ पार्टी दर्ता गर्ने क्रम हालका दिनहरूमा बढिरहेको छ ।

केही दिनपूर्व चर्चित पत्रकार रवि लामिछानेले नयाँ पार्टी दर्ता गर्नुभयो र यस पार्टीको नाम उहाँले ‘स्वतन्त्र’ शब्द जोडेर राख्नुभयो । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय निकायको निर्वाचनका केही प्रमुख नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका कारण उहाँले पार्टीको नाममा यसरी ‘स्वतन्त्र’ शब्द जोड्नु भएको हुनसक्छ । यसैगरी हालै नेकपा एमालेका प्रभावशाली नेता वामदेव गौतमले पनि नयाँ पार्टी दर्ता गर्नु भएको छ । विगतमा उहाँ कहिले केपी ओली नजिक त कहिले पुष्पकमल नजिक रहनुभयो । नेकपा एमाले पार्टीको अध्यक्षका लागि प्रयास गर्नुभयो भने प्रधानमन्त्रीको पनि आकांक्षा राख्नुभयो तर उहाँ यी दुवै स्थानमा सफल हुनुभएन ।

अन्ततः राष्ट्रिय सभाको सदस्यमा चित्त बुझाएर बस्नुभएको छ । उहाँको महत्वाकांक्षलाई मत्थर पार्नकै लागि पार्टीले उहाँलाई राष्ट्रिय सभामा लगेको थियोे । पार्टीमा बसेर उहाँको महत्वाकांक्षा अनुसारका दुवै पद प्राप्तिको सम्भावना नदेखे पनि उहाँले नयाँ पार्टी दर्ता गर्नुभएको हो । तर, स्थापना हुन नपाउँदैदेखि उहाँको पार्टीको आलोचना व्याप्त भइरहेको छ । सामाजिक सञ्जालहरू यही विषयले भरिएका छन् । उहाँले आफ्नै परिवारका सदस्य र नातागोता राखेर पार्टी दर्ता गराउनु भएको छ । राजनीति गर्ने अरू सबैको तर्क जसरी नै वामदेवले पनि मेरा परिवारका सदस्य भएका कारणले होइन उनीहरूको राजनीतिमा योगदान भएका कारण उनीहरूलाई समावेश गरिएको हो भन्नुभएको छ ।

यसरी दर्ता हुने अनगिन्ती पार्टीहरू नेपालको राजनीतिक फाँटमा अगाडि आउन सक्लान् वा नसक्लान् तर एउटा कुरा चाहिँ के निश्चित छ भने तिनले ठूला पार्टीहरूका मत काट्न सहयोग पुर्‍याएर केही ठाउँमा तिनलाई हराउन सहयोगी बन्लान् तर उनीहरूले जित्लान् वा नजित्लान् त्यो अहिले नै भन्न सकिने विषय होइन । वामदेवको पार्टी दर्ताबाट नेकपा एमालेलाई केही प्रभाव पार्ला त्यो अनुमान गर्न सकिने प्रसंग हो । उहाँको पार्टी दर्ताबाट उहाँको महत्वाकांक्षाको निवारण होला तर पार्टी सञ्चालनको भुक्तमान पनि उहाँले थाहा पाउनु होला । उहाँको पार्टी दर्ताबाट नेपालमा कम्युनिष्ट पार्टीहरू कहिल्यै एक हुन सक्दैनन् भन्ने मान्यतालाई भने अन्तिम पटक फेरि प्रमाणित गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?