-डम्मर बुढा मगर
बागलुङ । कालोपत्रे नसकिँदै मध्यपहाडी लोकमार्ग अन्तर्गतको घोडाबाँधे-गलकोट खण्ड क्षतबिक्षत बनेको छ ।
यो सडक खण्डसँगै बागलुङ सदरमुकामदेखि काठेखोला, बडिगाड, ढोरपाटन हुँदै निसीखोलासम्म पर्ने मध्यपहाडी लोकमार्गको अधिकांश भाग क्षतविक्षत बनेको हो ।
ठेकेदार कम्पनीले कमसल सामाग्रीको प्रयोग र बाढी, पहिरोको कारण सडकको बीच भागमा ठूला खाल्डाखुल्डी परेका छन् भने भलले सडक चिरिएर दुर्घटनाको जोखिम बढाएको छ ।
बागलुङ सदरमुकामदेखि बिहुँसम्मको खण्ड कालोपत्रे गर्न बाँकी रहेपनि बिहुँ हुँदै गलकोट-बडिगाड-बुर्तिबाङसम्मको खण्ड २०७२ सालमा कालोपत्रे सम्पन्न गरिएको थियो । कालोपत्रे गरिएका ति खण्डका अधिकाँस भाग भलले उप्काईदिएको छ । त्यसबाट करोडौं रुपैयाँको क्षति पुगेको छ ।
हटिया-बुर्तिबाङ खण्डमा ९५ प्रतिशत काम सम्पन्न भए पनि निर्माण कम्पनी स्वच्छन्द-शंकर जेभी सम्पर्क बिहीन हुँदा सडक अस्तव्यस्त बनेको मध्यपहाडी लोकमार्गको कार्यालय पर्वतले जनाएको छ । बुर्तिबाङ-पातिहाल्नेसम्मको ९५ प्रतिशत काम सकिएको र यो आर्थिक वर्षसम्म सकिने कार्यालयले जनाएको छ ।
क्षतविक्षत बनेको सडकमा यात्रा गर्दा निकै जोखिम बढेको गाडी चालक रमन कँडेलले बताउनुभयो । उहाँले सडकको धेरै खण्डमा खाल्डाखुल्डी परेको हुँदा गाडीको चक्का पस्ने हुँदा यातायातनै ठप्प हुने बताउनुभयो ।
‘बाटोको बीच भागमै ठूला-ठूला खाल्डाखुल्डी परेका छन्, त्यही खाल्डामा गाडीको चक्का फस्छ, त्यो निकाल्न घण्टौँ लाग्छ, त्यसले गर्दा पछाडीका गाडीहरू जाममा पर्ने गर्छन्,’ कँडेलले भन्नुभयो ‘यात्रुहरू समयमै गन्तव्यमा पुग्न पाउँदैनन्, निकै समस्या भइरहेको छ, सरकारले ध्यान नदिएरै यस्तो समस्या परिराखेको छ ।’
अर्का चालक चन्द्रबहादुर तामाङले यो सडकमा यात्रा गर्दा गाडीका पट्ट भाँचिदा घाटा मात्रै व्यहोर्नु परेको बताउनुभयो । तामाङले सडकको छेउँछाउमा रहेका नालीहरूमा सबै झारपात उम्रिएको र माथिबाट आएको भल सबै सडकमा बग्दा कालोपत्रे उप्किएको बताउनुभयो । सडकको बीच भाग भएर बग्ने भलसहितको पानीले सडकको बीच-बीचमा ठूला-ठूला खाल्डा बनाएको हुँदा सवारी धासान संचालन गर्न नसकिने भए पनि बाध्यताले जवरजस्ती चलाउनु पर्ने अवस्था आएको बताउनुभयो ।
‘सडकको अवस्था निकै बेहाल छ, वर्षाले गर्दा माथिदेखि आएको भलसहितको पानी सडकको बीचबाटै बग्ने गरेको छ, जसले गर्दा कालेपत्रे उप्किएर सडकमा ठूला ठूला खाल्डाखुल्डी परेका छन्,’ तामाङले भन्नुभयो ‘नाली त छ तर नालीमा पानी बग्दैन झारपात र रुखले नाली ढाकिएको छ, यस तर्फ कसैको ध्यान पुग्न सकेको छैन ।’
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पर्ने १४२ किलोमिटर मध्ये करिब १२० किलोमिटर सडक कालोपत्रे गरिए भइसकेको छ । तर अधिकांश सडक खण्डमा नाली पुरिएकोले भल सडकको बीच भाग बाट बग्ने गर्दछ ।
जीर्ण बनेको घोडाबाँधे-हटिया सडक खण्ड मर्मतको लागि ४० करोड रुपैयाँ विनियोजन भएको र त्यसबाट प्रक्रियागत रुपमा ठेक्कापट्टा गरि मर्मत गरिने मध्य पहाडी लोकमार्गको कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो ।
बागलुङका ६ वटा स्थानीय तहमा प्रत्यक्ष जोडिएको मध्यपहाडी लोकमार्ग जिल्लाको विकासको मेरुदण्ड मानिए पनि दुरावस्था हुँदा यात्रुहरूले सास्ती भोग्न बाध्य भएका छन् । कालोपत्रे हुन बाँकी रहेका सडकको कालोपत्रे गर्न, क्षतविक्षत बनेको सडकको तत्काल मर्मत सम्हार गरि जोखिम न्यूनिकरण गर्न स्थानीयको माग छ ।
यता बागलुङ सदरमुकामदेखि घोडाबाँधेसम्मको सडकको अवस्था पनि उस्तै छ । सडक खुलेको दुई दशक बितिसक्दा पनि कालोपत्र हुन नसक्दा स्थानीय र यात्रु हिउँदमा धुलो र वर्षातमा धुलोले आजित भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच