आर्थिक प्रणालीलाई पारदर्शी बनाउन काठेखोला गाउँपालिकामा ई-पेमेन्ट सेवा

Read Time = 3 mins

-डम्मर बुढा मगर
बागलुङ । जिल्लाको काठेखोला गाउँपालिकाले ई–पेमेन्ट सेवा सुरु गरेको छ । गाउँपालिकाले आर्थिक प्रणालीलाई पारदर्शी र जफावदेही बनाउनका लागि ई-पेमेन्ट सेवा सञ्चालनमा ल्याएको हो । यो सेवा सुरु भएसँगै सेवाग्राहीलाई चेकका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

सिधै सेवाग्राहीको बैंक खातामै पैसा स्थानान्तरण हुने भएकाले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताउनु भयो ।

‘सेवाग्राहीमैत्री सेवामा हामी जिम्मेबार छौं, एकै दिनमा काम सकेर खर्च र समयको बचतका लागि गाउँपालिकाले हरेक सेवालाई प्रबिधि मैत्री बनाउँदै आएको छ’, कार्कीले भन्नुभयोे ‘ई-पेमेन्टले चेक काट्नुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य भएको छ, कर्मचारीको समय बचत हुने भएकाले अन्य कार्यसम्पादनमा समय दिन पाउनुहुन्छ र जनताको काम छिट्टै हुन्छ ।’

सेवाग्राहीले पेस गरेका कागजपत्रका आधारमा भौचर उठाइ सोही आधारमा खातामा नगद रकम स्थानान्तरण गरिने लेखा अधिकृत माधव शर्माले बताउनुभयो । आर्थिक कारोबारको डे क्लोजिङ हुने भएकाले हिसाब गर्नमा समेत आर्थिक प्रशासन शाखाका कर्मचारीले विगतको जस्तो झन्झट व्यहोर्नु नपर्ने उहाँले बताउनु भयो ।

कार्यालयमा चेक लिनका लागि दिनुपर्ने समय, बैंकमा लाईन बस्नुपर्ने बाध्यता र एउटै चेक नगदमा परिणत गर्ने बेलासम्मका झण्झट उपभोक्तालाई कमी भएको शर्माले बताउनु भयो । स्थानीय तहको बजेट तर्जुमा लेखांकन र प्रतिवेदन गर्ने प्रयोजनका लागि तयार गरिएको सफ्टवेयर स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमार्फत यो सेवा सञ्चालन गरिएको छ ।

गाउँपालिकाले भुक्तानी लिन आउने जो-कोहीलाई आफ्नो बैंक खाताको चेकको फोटोकपी कागजातका साथ संलग्न गर्न अनुरोध गर्ने गरेको छ । ‘कागजात पुगेको छ र प्रकृया सबै सकिएका छन् भने भुक्तानीका लागि उपभोक्ताले कुर्नु पर्दैन’ शर्माले भन्नुभायो,‘चेक बुकमा उल्लेख भएको खातामा उपभोक्ता कार्यालयमा नभएपनि रकम सिधै जम्मा हुन्छ ।’ ई-पेमेन्टका लेखा शाखाका कर्मचारीलाई सामान्य तालिम दिइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?