लिभरपुलमा सलाहको सम्झौता नवीकरण

Read Time = 3 mins

लन्डन । इजिप्टका मोहम्मद सलाहले इंग्लिस क्लब लिभरपुलसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अवधि एक वर्षमात्रै बाँकी रहँदा सलाहले तीन वर्षका लागि नयाँ सम्झौता गर्नुभएको हो । सलाहले एनफिल्डमा पाँच वर्षको बसाइमा २५४ खेलमा १५६ गोल गर्नुभएको छ । उहाँ इटालियन क्लब रोमाबाट लिभरपुल आउनुभएको थियो ।

‘मलाई राम्रो लाग्छ र म क्लबसँग ट्रफी जित्न पाउँदा उत्साहित छु । यो सबैका लागि खुसीको दिन हो । हामी सबै कुराका लागि लड्न राम्रो स्थितिमा छौँ,’ सलाहले सम्झौतापछि उल्लेख गर्नुभएको छ, ‘मलाई लाग्छ, नवीकरण गर्न थोरै समय लाग्छ तर अब सबै कुरा सकिएको छ, त्यसैले हामीले अब के हुन्छ भन्नेमा ध्यान केन्द्रित गर्न आवश्यक छ ।’

सलाहले लिभरपुलमा रहँदा च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, लिग कप, फिफा क्लब विश्वकप र युइएफए सुपर कपको उपाधि उचाल्नुभएको छ । त्यसबाहेक उहाँले तीन प्रिमियर लिगसँगै तीन गोल्डेन बुटसमेत जित्नुभएको छ । लिभरपुलले यस सिजन एफए कप र काराबाओ कप जितेको थियो ।

यस्तै ब्राजिली फरवार्ड रिचार्लीसन इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्धित हुनुभएको थियो । टोटेनहमले रिचार्लीसनलाई ६० मिलियन पाउन्डमा एभर्टनबाट भित्र्याएको हो । टोटेनहमले २५ वर्षीय फरवार्डलाई पाँच वर्षका लागि क्लबमा अनुबन्धित गरेको हो । उहाँ अब सन् २०२७ सम्म क्लबमा रहनुहुनेछ ।

गत सिजन एभर्टनलाई रेलिगेसनबाट बचाउन रिचार्लीसनको भूमिका महत्वपूर्ण रहेको थियो । उहाँले गत सिजन टोटेनहमका लागि १० गोल गर्दा पाँच असिस्ट दिनुभएको थियो । रिचार्लीसन २०१८ जुलाईमा वाट्फोर्डबाट टोटेनहम पुग्नुभएको थियो । उहाँले टोटेनहमका लागि १३५ खेलमा ४३ गोल गर्नुभएको छ ।

रिचार्लीसन मर्सिसाइड क्लबमा सुरुवाती दुई सिजन एभर्टनमा शीर्ष गोलकर्तासमेत रहनुभएको थियो । रिचार्लीसनले २०१८ सेप्टेम्बरमा अमेरिकाविरुद्ध खेल्दै ब्राजिलबाट डेब्यु गर्नुभएको थियो । उहाँले ब्राजिलका लागि ३६ खेलमा १४ गोल गर्नुभएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?