आज काठमाडौंमा अन्तिम चुनावी सभा गर्दै गठबन्धन, प्रचण्डदेखि गगन थापाले सम्बोधन गर्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि अघि सत्ता गठबन्धनले आज बिहीबार काठमाडौंमा अन्तिम चुनावी सभा आयोजना गर्ने भएको छ ।

आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ, मौन अवधिमा चुनावी गतिविधि गर्न पाइँदैन ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको कोटेश्वरमा चुनावी सभा गर्न लागेको हो ।

गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा लगायतले सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने गृहजिल्ला डडेल्धुरामा रहनुभएको छ ।

काठमाडौं २ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गठबन्धनबाट माओवादी केन्द्रकी ओनसरी घर्ती, एमालेका मणिराम फुँयाल, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेल मुख्य प्रतिस्पर्धी हुनुहुन्छ ।

काठमाडौं २ मा ०६४ को संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गर्नुभएको थियो भने ०७० दोस्रो संविधानसभा निर्वाचनमा नेपाल काठमाडौं २ र रौतहट १ बाट विजयी हुनुभएको थियो । उहाँले काठमाडौं २ छोड्दा भएको उपनिर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठलाई पराजित गर्दै कांग्रेसका दीपक कुँइकेल विजयी हुनुभएको थियो ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाल विजयी हुनुभएको थियो । एकीकृत समाजवादीका अध्यक्ष रहनुभएका नेपाल यो निर्वाचनमा रौतहटबाट चुनाव लड्दै हुनुहुन्छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?