राष्ट्रिय सभा बैठकको शुन्य समयमा पेट्रोलियम पदार्थदेखि बाढी, पहिरोप्रति सरकारकाे ध्यानाकर्षण

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सुचिकृत गर नियन्त्रणका लागि पहिल गर्न माग गर्नुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचिकृत गर्न माग गर्नुभएको हो । उहाँले सूचिकृत गरी डेंगुको नियन्त्रण र रोकथामका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो - ‘दाङ जिल्लामा डेंगु रोग छ । दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचिकृत गरी डेंगु नियन्त्रण, रोकथामका उपाय र साधनका लागि कार्यक्रमहरु समावेश गर्न, सञ्चालन गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराउँछु ।’

राष्ट्रिय सभा सदस्य इन्दु कडरियाले नेपालका नर्सिङ कलेजहरु बन्द गरी बिद्यार्थीहरु बाहिर पढ्न जानुपर्ने अवस्था रहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो - ‘धेरै जसो स्वास्थ्य क्षेत्रहरुमा यतिबेला जनशक्ति र स्वास्थ्य उपकरणहरुको अभाव छ भनेको सुनिएको छ । सरकारले प्राविधिक र छिट्टै रोजगारीको सम्भावना भएको विषय अध्ययन, अध्यापन गराउन नर्सिङ कलेजहरुलाई १०० शैय्याको अस्पताल अनिवार्य बनाउँदै दर्जनौँ नर्सिङ कलेजहरुलाई बन्द गर्न बाध्य पारिएको हो भनेर सुनिएको छ । नर्सिङ कलेजहरुलाई बन्द गर्दै बोर्डरमा खोलेका कलेजहरुमा जान शैक्षिक माफियाहरुले नै प्रेरित गरेको पनि सुनिएको छ । यो महत्वपूर्ण विषयमा सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण होस् ।’

राष्ट्रिय सभा सदस्य कुमार दसौदीले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भएपनि सरकारले मूल्य नघटाएको बताउनु भयो ।

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले अन्नपूर्ण संरक्षण आयोजना(एक्याप)ले स्थानीय तहका विकास निर्माणलगायतका काममा व्यवधान सिर्जना गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले समस्या समाधान गर्न सरकारलाई अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो - ‘अन्नपूर्ण संरक्षण आयोजना एक्यापले स्थानीय तहका विकास निर्माण लगायतका काममा व्यवधान सिर्जना गरेको भन्ने व्यापक गुनासो छ । यस्तै गुनासो गण्डकी सरकारको पनि छ । वन तथा भू संरक्षण मन्त्रालयको २०७१ फागुन २५को राजपत्रमा प्रकाशित सूचना अनुसार एक्याप स्थानीय समुदायलाई हस्तान्तरण गर्ने भन्ने छ तर हालसम्म पनि हस्तान्तरण नभएकोमा प्रभावित क्षेत्रका समुदाय स्थानीय सरकार आन्दोलित छन् । आक्रोशित छन् । यो समस्याको समाधानमा सरकारको विशेष पहलकदमीका लागि अनुरोध छ । एक्याप जस्तै देशभर संरक्षण आयोजनाको नाममा स्थानीय समुदाय, स्थानीय सरकार प्रताडित छन् । पञ्चायतकालिन कानूनलाई टेकेर नागरिकलाई दुःख दिने काम नगरियोस् । पुरानो ऐन, कानूनलाई संविधानको भावना अनुसार सुधार गरियोस् ।’

राष्ट्रिय सभा सदस्य दीपा गुरुङले वर्षाका कारण देशको थुप्रै ठाउँमा बाढी, पहिरो गएको र जनधनको क्षति भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले प्रभावितहरुलाई व्यवस्थित ढंगले राहत, सहुलियतका साथै स्थानान्तरण गरी बसोवासको उचित व्यवस्था मिलाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो - ‘बाढी पहिरोले लमजुङको धेरै ठाउँमा जनधनको क्षति भएको । देशको थुप्रै ठाउँमा बाढी, पहिरोले जनधनको क्षति भएको छ । सरकारको ध्यान पुगेको छैन । सरकारले व्यवस्थित ढंगबाट राहत, सहुलियतका साथै स्थानान्तरण गरी उचित बसोवासको व्यवस्था मिलाउनको निम्ति सरकारको ध्यानाकर्षण गराउँदछु ।’

राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा पार्वतीले आगामी आर्थिक वर्ष २०८०/८१ मा हुम्ला सदरमुकाममा राष्ट्रिय सडक सञ्जालमा जोड्नेगरी बजेटको सुनिश्चितता मिलाउन माग गर्नुभयो । त्यस्तै सडक निर्माणमा खटिएका नेपाली सेनाको जोखिम भत्ता नकटाउन समेत उहाँले माग गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य महेशकुमार महराले डडेलधुरामा अविरल वर्षाका कारण केही गाउँ भासिएर ४५ घरहरु बिस्थापित भएको भन्दै उनीहरुको उचित व्यवस्थाप गर्न सरकारसँग माग गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्माले खेतीको सिजनमा किसानले मल नपाएका बताउनु भयो ।

राष्ट्रिय सभा बैठक जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?