जापानमा तीन महिने ऊर्जा बचतका लागि आहृवान

Read Time = 3 mins

टोकियो । जापान सरकारले सात वर्षमा पहिलो पटक व्यवसाय तथा बस्तीमा विद्युत्को अभावबाट बच्न तीन महिना अवधिका लागि विद्युत् संरक्षणमा अनुरोध गरेको छ । गर्मीसँगै तातो हावा बहन थालेपछि विद्युत् अत्यधिक खपत हुन थालेको समय सरकारले विद्युत् खपतमा सावधानी अपनाउन आग्रह गरेको हो ।

सरकारले सेप्टेम्बरदेखि विद्युत्को प्रयोगमा कटौती गर्ने कुनै तालिका सार्वजनिक नगरे पनि मानिसलाई उद्योग सञ्चालन तथा नागरिकको दैनिक जीवनमा बाधा सिर्जना नगरी विद्युत् खपतस्तर कम गर्न आग्रह गरेको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सातौं दिनसम्म लगातार ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरिएको र यसबाट ‘अत्यधिक गर्मी’ भएको अधिकारीले बताएका छन् ।

शुक्रबार टोकियोमा ३७.० डिग्री सेल्सियसमा पुगेको छ । विद्यत्को कमीबाट बच्न मानिसले ऊर्जा संरक्षणका उपायहरू अपनाउनु विशेषगरी महŒवपूर्ण हुन भन्दै सरकारले साँझ पाँच बजेदेखि आठ बजेसम्म कम विद्युत् खपतका लागि सूचना जारी गरेको छ । उक्त समय सौर्य ऊर्जा उत्पादन घट्दा विद्युत्को माग अनुसार आपूर्तिमा अभाव हुने देखिएको अधिकारीले बताएका छन् ।

यसवर्ष जापानका विभिन्न छ स्थानमा ४० डिग्री असामान्य तापक्रम वृद्धिसँगै अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले मानिसहरूलाई तापघात र तापसित सम्बन्धित अन्य रोगको चिन्ताले गर्दा एयर कन्डिसनरको प्रयोग जारी राख्न आग्रह गरेको छ । मन्त्रालयले एयर कन्डिसनर बन्द गर्नुको सट्टा बत्तीका लागि बिजुलीको खपतमा कमी गर्न र अनावश्यक विद्युतीय उपकरणको कम प्रयोगका लागि आग्रह गरेको हो ।

जापानको मौसम विज्ञान निकायले कान्टो-कोशिनदेखि क्युशु क्षेत्रसम्म व्यापक गर्मीसँगै शुक्रबार ‘लु’ लाग्ने चेतावनी जारी गरेको थियो । जापानका अस्पतालहरूमा उच्च तापक्रमका कारण देखिने समस्या लिएर जानेको संख्या उल्लेख्य बढेको बताइएको छ ।

तातो हावा बहने सम्भावना रहेका क्षेत्रमा उच्च तापक्रमका कारण हुनसक्ने मस्तिष्कघात रोक्न नागरिकहरूले घरबाहिर निस्कँदा मास्क नलगाउन जापानका उपमुख्य मन्त्री सेइजी किहाराले आग्रह गर्नुभएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?