बुटवल-लुम्बिनी प्रसारणलाइन सञ्चालन

Read Time = 3 mins

काठमाडौं । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल-लुम्बिनी प्रसारणलाइनमा बुधबारदेखि विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याएको छ ।

प्रसारणलाइन निर्माणसँगै करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुन सक्ने पूर्वाधार तयार भएको प्राधिकरणले जनाएको छ । मैनहियामा १३२/३३/११ केभीको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसनमा ४५ एमभिएका दुई पावर ट्रान्सफर्मर र ३३/११ केभी, १६ एमभिए पावर ट्रान्सफर्मर रहनेछन् ।

प्रसारणलाइन सञ्चालनसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने र उद्योगलाई मागेजति विद्युत् दिन सकिने आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले बताउनुभयो । स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिनेछ । त्यसमध्ये चारवटा फिडरको लाइन तानिएको पाण्डेले जानकारी गराउनुभयो ।

१८ किलोमिटर प्रसारणलाइनमा ५७ वटा टावरको निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारणलाइनलाई दुई किलोमिटर भूमिगत गरिएको छ । प्रसारणलाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/०७१ मा सुरु भएको थियो । रुट परिवर्तन, कोरोनालगायतका कारण आयोजना निर्माणमा केही ढिला भएको थियो ।

मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारणलाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारणलाइनको निर्माण अन्तिम चरणमा छ । हाल उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोमा मैनहिया-सम्पत्तिया बनेपछि नेपाल-भारतबीचको अन्तरदेशीय विद्युत् व्यापार अझ सहज बन्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?