दाङका विद्यालयमा अझै पुगेन पुस्तक

हिमालय टाइम्स
Read Time = 5 mins

-विवेक खड्का

दाङ । दाङका विद्यालयमा पहिलो त्रैमासिक परीक्षा सञ्चालन हुँदासम्म विद्यार्थीहरूले पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तकबिना नै परीक्षाको तयारीमा जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू रहेका छन् । विद्यार्थीहरूले सहजरूपमा पूर्ण पाठ्यपुस्तक अहिलेसम्म पाउन सकेका छैनन् । विशेष गरेर कक्षा ६ देखि १० कक्षासम्मका पाठ्यपुस्तकहरूको अभाव देखिएको छ । कक्षा ६ र ८ का प्रायः सबै अनिवार्य किताबहरूको अभाव देखिएको छ भने कक्षा ९ र १० का आधा विषयका किताबको अभाव देखिएको छ ।

जिल्लाका व्यवसायीका अनुसार असार २३ गतेसम्म ६९ हजार ८६२ थान पुस्तक अभाव भएको छ । पुस्तक तथा स्टेसनरी व्यवसायी समितिका कोषाध्यक्ष तीर्थबहादुर डाँगीले सबैभन्दा बढी कक्षा आठका किताबहरूको अभाव भएको बताउनुभयो । उहाँले कक्षाका सबै विषय गरेर ३४ हजार १२५ थान किताब नपुगेको जानकारी दिनुभयो । त्यसपछि कक्षा ६ को किताब अभाव छ । कक्षा ६ मा ६ विषयमा २१ हजार ४७५ थान पुस्तक अभाव देखिएको छ ।

कक्षा ७ का ६ हजार आठ सय, कक्षा ९ का सात हजार ११८ र अन्य कक्षाका ३४४ थान पुस्तक अभाव भएको डाँगीको भनाइ छ । विद्यार्थीले परीक्षा दिँदासमेत पाठ्यपुस्तक नआउँदा व्यवसाय धान्न नै समस्या भएको व्यवसायीहरूको गुनासो छ । विगतका वर्षमा अभाव भए पनि असारसम्ममा सबैका हातमा किताब पुगिसक्ने अवस्था रहेकोमा यस वर्ष असार सकिँदा पनि किताब विद्यार्थीसमक्ष पुग्न सकेको छैन ।

जिल्लाका सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तकको उपलब्धता नहुँदा विद्यार्थीहरूको पढाइमा समस्या भएको छ । माध्यमिक तहको शिक्षा स्थानीय सरकार मातहत भए पनि पाठ्यपुस्तकको व्यवस्थापनमा स्थानीय सरकारको चासो कम देखिएको छ । दाङ जिल्ला पुस्तक व्यवसायी संघका कोषाध्यक्ष तथा जनक शिक्षाका दाङका आधिकारिक बिक्रेता तीर्थ डाँगीले समयमै पुस्तक नआउँदा समस्या भएको बताउनुभयो ।

‘हामीसँग नै पुस्तक छैन, विद्यार्थीलाई कसरी दिनु ?,’ उहाँले भन्नुभयो, ‘जनक शिक्षाले किताब पठाए पो हामीले वितरण गर्ने हो ।’ उहाँले हरेक वर्ष सरकारी पाठ्यपुस्तकमा समस्या आउने गरेको सुनाउनुभयो । सहज पाठ्यपुस्तक भएको वर्ष कुनै छैन, शैक्षिक सत्र सुरू भएको तीन महिना भइसक्यो पूरा किताब आउँदैन, अहिले पनि हजारौँको किताब माग छ आपूर्ति छैन । सहज पाठ्यपुस्तक नहुँदा शिक्षक, विद्यार्थी, अभिभावकको गुनासो व्यवसायीले खेप्नुपरे देखिन्छ ।

जनक शिक्षा सामग्री केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रमुख रविन शर्माले पाठ्यपुस्तकको समस्या केन्द्रकै भएको बताउनुभयो । उहाँले आफ्नो क्षेत्राधिकार भएका जिल्लामा पाठ्यपुस्तक पठाएको जानकारी दिनुभयो । उहाँले अहिले कक्षा ६ देखि १० कक्षासम्मका केही किताब अभाव भएको बताउनुभयो ।

शर्माले नेपालगञ्ज कार्यालयले बाँके, बर्दिया, दाङ, सल्यान, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पामा नेपालगञ्जले पाठ्यपुस्तक व्यवस्थापन गर्ने गरेको छ भने साबिक राप्तीको प्युठानमा बुटवल कार्यालयले व्यवस्थापन गर्दै आएको बताउनुभयो ।

दाङमा कक्षा १ देखि १० कक्षासम्म ८५ हजार विद्यार्थी रहेका छन् भने कक्षा १२ सम्ममा ९७ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् । अहिले नेपाली, अंग्रेजी, गणित, सामाजिक विज्ञान, पेशा, नैतिक, स्वास्थ्य, अर्थशास्त्रलगायतका अनिवार्य विषय र ऐच्छिक विषयका पुस्तकहरूको अभाव देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?