कोलम्बियाको राष्ट्रपति चुनाव चर्चामा किन ?

Read Time = 14 mins

✍️ लोकनारायण सुवेदी

विश्वव्यापी रूपमा आजको राजनीतिक गतिशीलतालाई हेर्दा वस्तुगत दृष्टिकोणको सुझबुझ राख्ने इमादार बुद्धिजीवीहरू यो समय दक्षिणपन्थतिरको उछाल आएको प्रतिप्रबाहकारी समय हो भन्ने गर्दछन् । यद्यपि कतिपय देशहरू यसको अपवाद् पनि देखिने गर्दछन् । किनकि परिस्थिति मानिसको इच्छानुसार बन्दैन र परिवर्तन चाहनेहरूले त्यो प्रतिकूलतालाई कसरी अनुकूलतामा ढाल्ने भन्ने कुराको खोजी गर्नु पर्दछ भन्ने विश्वव्यापी एउटा मान्यताको कुरा हो । अहिले दक्षिण अमेरिकी राष्ट्रका मानिसले त्यस्तै परिस्थितिको खोजी गरेको देखिँदैछ ।

हुन त आजको विज्ञान र प्रविधिको अद्भूत प्रगतिले सारा विश्वलाई नजिक तुल्याइदिएको छ । कुनै सुदूर देशमा घटने घटनाले पनि विश्वको अर्को सुदूरवर्ती देशलाई पनि प्रभाव नपारी छोड्दैन । दूरीको कुरा गर्दा हाम्रो देशको राजधानीबाट कोलम्बियाको राजधानी बोगोटा झण्डै झण्डै १४ हजार किलोमिटर टाढाको दूरीमा छ । पुरानो प्रचलित भाषा र शब्दमा भन्ने हो भने त त्यो देश हाम्रा लागि ‘पाताल देश’ नै हो । पृथ्वीको ठीक अर्को पाटामा पर्छ हाम्रो देशबाट त्यो देश । त्यति टाढा रहेको देशमा भएको राष्ट्रपतिको चुनावको कुरा किन गर्नुपरेको होला भन्ने प्रश्न उठ्न सक्दछ ।

यो अस्वाभाविक पनि होइन । यद्यपि हामी ‘बशुधैव कुटुम्बकम्’ भन्ने मान्यता राख्ने परम्परा भएको देशका बासिन्दा हौं माक्र्सवादी दृष्टिकोणले अन्तर्राष्ट्रियवादी पनि हौँ । त्यसैले पनि यसप्रति चासो हुनु स्वाभाविक नै भयो । त्यसका अनेक कारण हुन सक्छन् । हाम्रा लागि भने यसको एउटा मूल कारण रहेको प्रतीत हुन्छ । त्यो हो-त्यहाँका सर्वकालिक प्रिय लेखक गेब्रियल गार्सिया माक्र्वेज (मार्च १९२७–अप्रिल २०१४) को कारणले हो । उनी उनको जादुमय यथार्थवादी साहित्यिक शैलीका लागि संसारभरि विख्यात र लोकप्रिय छन् । कतिपयले उनलाई मार्खेज भनेर पनि सम्बोधन गर्ने गर्दछन् ।

उनी स्पेनिस भाषाका उपन्यासकार र कथाकार थिए । उनलाई साहित्यका लागि नोबल पुरस्कारले पनि सम्मान गरिएको थियो । ‘हन्ड्रेड इयर्स अफ सोलिच्युड’ अर्थात् ‘एकान्तका सय वर्ष’ नामको असाधारण कृति उपन्यासका लागि । त्यसो त उनले लेखेका हरेक शब्द पठनीय र आकर्षक मान्छन् साहित्यका मर्मज्ञहरू । त्यसमा पनि जसलाई ल्याटिन अमेरिका र त्यसको मन मस्तिष्कलाई बुझ्नु छ तिनले उनको अर्को एउटा किताब ‘दि जनरल इनहिजलेब्रिन्थ’ पढ्नुपर्ने बताउँछन् । यसको अतिरिक्त फिडेल क्याष्ट्रोको १७ घण्टा लामो अन्तर्वार्ताका साथ लेखिएको उनको भूमिका ‘पर्सनल पोट्रेट अफ फिडेल’ तथा ‘फिडेल क्याष्ट्रो’ र ‘माई अर्ली इयर्स’ जस्ता निबन्ध पढ्न सकिने साहित्यानुरागी र जनताको राजनीतिमा साँच्चै समर्पितहरू औंल्याउने गर्दछन् ।

यी कुरालाई निजी कारण मानेर छाडिदिने हो भने पनि अर्को एउटा महत्वपूर्ण कारण पनि छ कि २१२ वर्षयताको कालखण्डको इतिहासमा कोलम्बियामा पहिलो पटक वामपन्थी राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएका छन् । दोस्रो चरणसम्म गएर प्रतिस्पर्धी १९ जुन २०२२ आइतबारका दिन वामपन्थी गठबन्धनका उम्मेदवार गुस्ताभ पट्रोबाट पराजित हुन पुगे । पेट्रोले ५० प्रतिशत भन्दा बढी मत पाएर निर्णायक मत हासिल गरे भने दक्षिणपन्थी प्रत्यासी भने ४७ प्रतिशत मतमै रोकिन पुगे । उपराष्ट्रपतिमा भने अर्काको घरमा काम गर्ने महिला वामपन्थी उम्मेदवार मिस फ्रान्सिया मार्केजले विजय हासिल गरिन् । यस पदमा पुग्ने उनी एक मजदुर हुनका साथसाथै एक अश्वेत महिला पनि हुन् ।

त्यहाँका जनताले र विश्वभरिकै प्रगतिशील जनसमुदायले त्यस जितलाई साम्राज्यवादी न नीतिहरूका विरुद्धको विजय भनेर लिएका छन् । भनिन्छ कि नवउदारवादी नीतिको कसाइखाना यसै दक्षिण अमेरिकी देशलाई बनाइएको थियो । अनि साम्राज्यवादी लुटको आरम्भको तारो पनि यही देशलाई बनाइएको थियो । अनि क्रिष्टोफर कोलम्बसको तेस्रो अमेरिका यात्रा यही देशको नजिक भेनेजुएलाको बाटो हुँदै भएको थियो ।

यो महाद्वीपलाई यति क्रूरतापूर्वक लुटियो कि अरू सबैको त कुरै छोडौं तिनका भाषाहरू जो हजारांै भाषाभाषिका थिए तिनलाई पनि पूरै मेटाएर छोडियो । आज यस महाद्वीपमा बोलिने छ प्रमुख भाषाहरू-स्पेनिस, पुर्तगाली, जर्मन, डच, इटालियन र अंग्रेजी छन् जो हजारौं किलोमिटर टाढा बाहिरबाट आएका मानिसहरूका भाषा हुन् । त्यहाँका पुराना मूल बासिन्दाका भाषा होइनन् । कोलम्बिया वास्तवमा सामान्य देश होइन ।

यो मुठ्ठिभर अल्पतन्त्री धनपिचासहरूको जकडमा परेको यातनागृह जस्तै हो । यो विश्वको नशालु पदार्थको राजधानी (ड्रग क्यापिटल) पनि मानिन्छ । जहाँ बर्बर ड्रग तस्करको बिगबिगी चल्छ । कुनै बेला ‘विश्वको सबैभन्दा ठूलो अपराधी’ भनिने पाब्लो एस्कोबार कोकिनको अहिलेसम्मको सबैभन्दा चालबाज व्यापारी यहीका थिए । आज पनि सबैभन्दा बढी कोकिनको निर्यात त्यहीबाट हुने गर्दछ ।
यो ड्रग माफियाले सरकारलाई हरेक तहमा कब्जा गरेको छ । तिनको विरोधमा जो पनि खडा हुन्छ त्यसको हत्या गराइने गरिन्छ र यसलाई सामान्य कुराजस्तै मानिन्छ । बितेको समयमा त्यहाँ जुन जुन राष्ट्रपति पदका उम्मेदवारले यस प्रकारको अराजकतावादी अपराधी डप्फाको विरोध जनाए तिनको मध्य दिउँसै हत्या गरियो । तीमध्येमा जानएलीसर गेटन, जेमे पार्दो लिल, बर्नार्डो जरामिलो, कार्लोस पिजारो, लुइस कार्लोस् गलन आदिको उल्लेख गर्न सकिन्छ ।

यो देशमा जब कसैले वामपन्थी पार्टी संगठित गर्ने गर्दछ तिनको हत्या गर्ने गरिन्छ । ‘प्याट्रोटिक युनियन’ यसको एउटा उदाहरण हो । बितेको वर्षमात्र त्यस पार्टीका ११६३ नेताकार्यकर्ता मारिएको अभिलेख छ । त्यस हत्यामा राष्ट्रपति पदका दुई उम्मेदवार, १३ सांसद र ११ महापउर रहेका थिए । त्यसैले अहिलेका राष्ट्रपतिको विजय असाधारण हुनपुगेको हो । यी सबै किसिमका कठिन र ज्यानै जाने अवस्थामा ‘कोलम्बियन कम्युनिष्ट पार्टी, ‘कोलम्बिया हृयुमाना’लगायत सबै वामपन्थी पार्टीहरूले एउटा ‘जन गठबन्धन’– ‘मास कोलिएसन’ बनाएर चुनाव लडेका थिए । पूर्वगुरिल्ला लडाकु पेट्रोलाई राष्ट्रपति तथा जुझारु आन्दोलनकारी किशोरी सुश्री फ्रान्सिया मार्केजलाई उपराष्ट्रपतिको रूपमा विजय गराइयो ।

लामो समयदेखि कोलम्बिया अशान्त छ । आन्तरिक कलहहरू र टकराउले गर्दा कैयौं मानिस मारिइसकेका छन् । २५ हजार अहिले पनि बेपत्ता रहेका छन् । ६० लाखभन्दा बढी आफ्नो रासोबासो भएको ठाउँबाट विस्थापित शरणार्थी हुन बाध्य भएका छन् । त्यसैले अहिलेको यो चुनाव परिणामलाई ती सबै पीडित नागरिकका लागि एउटा शान्ति बहालीको सन्देश लिएर आएको रूपमा हेर्न थालिएको छ । यो त्यस्तो कोलम्बिया हो जहाँ अहिले ३४ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेका छन् । १ करोड २७ लाख जति कोलम्बियन्सले प्रतिदिन २ डलरमात्र कमाउन सक्छन् र त्यसैमा गुजारा गर्न अभिशप्त रहेका छन् ।

त्यही समाजको माथिल्लो १० प्रतिशत तप्काको आमदानीको तुलनामा यो ४६ दोब्बर बढी छ । त्यहाँ जनसंख्याको १७ प्रतिशत बेरोगार मानिस छन् र त्यो बेरोजगारीको दर पूरै ल्याटिन अमेरिकाको कुरा गर्दा कोलम्बियामा सबैभन्दा बढी छ । यहाँ झण्डै ३० प्रतिशत नागरिकसँग समुचित आवासको व्यवस्था छैन । यसका अतिरिक्त ६ लाख ६२ हजार १४६ परिवार अर्थात् जनसंख्याको ५ प्रतिशत जनसंख्या बेघरबार रहेको छ ।

जहाँ गरिब ग्रामीण घरहरूमा ८१ प्रतिशत यस्ता ग्रामीण छन् जोसँग धाराको पानी पिउने सुबिधासम्म पनि छैन । अनि ६८ प्रतिशत जनसंख्या भीडभाडमा रहन बाध्य छ । अर्कोतिर शहरहरूमा ५० प्रतिशत र गाउँघरमा ८० प्रतिशत श्रमशक्ति असंगठित क्षेत्रमा छ । जसलाई अनौपचारिक अर्थव्यवस्था भन्ने गरिन्छ । तिनमा ठूलो संख्यामा खेत मजदुर, ट्याक्सी चालक, न्यूनपुँजीको सानो व्यापार गर्ने श्रमिकहरू छन् जसलाई कुनै किसिमको निवृत्तिभरण (पेन्सन) या कुनै प्रकारको सामाजिक सुरक्षाको व्यवस्था छैन । ८ वर्षअगाडिको अभिलेखअनुसार २०१४ मा कुल श्रमशक्तिको दुई तिहाइ यही असंगठित क्षेत्रमा थियो । अब यो अहिले अझ बढेको छ ।

त्यसैले अहिलेको राष्ट्रपति उपराष्ट्रपतिको चुनावको विजयलाई केवल असन्तोष र उदासीनताको परिणाम मात्र होइन, यो त त्यहाँका श्रमजीवी जनताले विगतमा गरेको संघर्षको सानदार विजयको रूपमा लिइएको छ । अप्रिल, मे र जुन २०२१ मा हरेक महिनामा त्यहाँ राष्ट्रिय स्तरका हड्तालहरू भएका थिए । ती हड्तालहरूको परिणामस्वरूप सरकारले विभिन्न राहत दिने, अनुदान दिने र बढाउने घोषणाहरू गर्नु परेको थियो । यो संघर्ष त्यति बेला भयो जतिबेला जनआन्दोलनकारीमाथि पुलिसले नराम्रोसँग अपराध गरेको थियो, हत्याकाण्डको पूरै शृंंखला नै चलाएको थियो ।

बर्खास्त गर्ने, निष्काशन गर्ने र दमन गर्ने सारा कुराले सीमा नै नाघिसकेको थियो । यो तीव्र दमन पनि त्यतिबेला भएको थियो जति बेला जानकार र इमानदार मानिएका बुद्धिजीवीले भनिरहेका थिए कि यो समय विश्व दक्षिणपन्थको उभारबाट गुज्रिरहेको समय हो । त्यसैले यो कोलम्बियाले जो मोड अहिले लिएको छ त्यसबारेमा जानकारी राख्नु र त्यहाँ अब श्रमजीवी जनताको आन्दोलन कसरी अगाडि बढ्छ गम्भीरतापूर्वक हेर्नु र सही निष्कर्ष निकाल्नु श्रमजीवी वर्गको हितमा हुन्छ । त्यसैले कोलम्बियाको चुनावले विश्वकै ध्यानाकर्षण गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?