‘लिलु’ मा छाउपडी प्रथा

Read Time = 6 mins

गोपिकृष्ण चापागाईं/हिटा
काठमाडौं । रजस्वलाको समयमा महिलाहरूले घर छोडेर अलग्गै छाउ वा गोठमा बस्नुपर्ने चलन पुस्तौंदेखि चल्दै आयो । त्यसरी छाउपडीका रूपमा बसिरहेका बेला विभिन्न कारणले महिलाले ज्यानसमेत गुमाउँदै आएका छन् । नेपालमा छाउपडी प्रथा रोक्न सरकारले कानुनसमेत ल्यायो तर अझै नेपालको मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका कतिपय ठाउँमा छाउपडी प्रथा रोकिएको छैन ।

सन् २०१८ को अगष्टमा नेपालले छाउपडीलाई गैरकानुनी घोषणा गरेको थियो । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ । यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ ।
तर यो कानुनले अझै पनि छाउपडी प्रथालाई रोक्न सकेको देखिँदैन । सुदूरपश्चिमका जिल्लाहरुमा अहिलेपनि छाउपडी प्रथा देखिएकै कारण गीतसंगीतको तर्फबाट भए पनि सन्देश प्रवाह गर्नुपर्छ भन्ने उद्देश्यले एल.पी शर्मा र गौरव गिरीको टिमले छाउपडीकै विषयमा गीत बनाउने निर्णय ग¥यो र बन्यो ‘लिलु’ ।

‘लिलु’ अछामसहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशको कुप्रथाका रूपमा रहेको छाउपडी प्रथाको कथा बोकेको देउडा गीत हो । जसमा गीतकी मुख्य पात्र लिलुले पहिलो पटक आफू छाउ भएको सपना देखिन्छन् । दोस्रो दिन उनी स्कुल जाँदा आफ्नो साथीलाई उक्त कुरा सुनाउछिन् । बाटोमा मन्दिरलाई ढोग्न खोज्दा लिलुकी साथीले छाउको समयमा मन्दिरमा ढोग्न हुँदैन भन्छिन् । लिलुले आफूलाई गास, कपास दिए पनि बास नदिएको कुरा गीतमा व्यक्त गर्छिन् ।

एक्लै डर लाग्छ बुबा मलाई रामा साथ दिया भन्दै बेलौंना गीतमा पोख्छिन् । उनकी आमाले वर्ष, महिना त गयो चार दिन त यत्तिकै जान्छ, तलाई केही हुँदैन भन्दै गीतमा सम्झाउन खोजिएको छ । ती चेली छाउ बस्दा बलात्कृत हुन पुग्छिन् । उनको मृत्यु हुन्छ ।

गीतमा एल.पी.शर्मा र गौरव गिरीको शब्द छ भने पूजा देवकोटा, रेखा जोशी, गौरी भट्ट र रोहित देउवाको स्वर छ । गीतमा संगीत रोहित देउवाको छ । एचबिएन किस्मतले एरेञ्ज गरेको गीत वान डिबी स्टुडियोमा विमल चिनालले रेर्कड गर्नुभएको हो । गीतमा रोशनी कार्की, पूजा देवकोटा, लक्ष्मीप्रसाद शर्मा, भद्रजंग कुवँर, मुकेश सुनार, इब्सु सञ्ज्याल र पशुपति कुवँरको अभिनय छ । म्युजिक भिडियोको निर्देशन गौरव गिरीले नै गर्नुभएको छ ।

काठमाडौंको मोजो बुटिक एण्ड रेष्टुरेण्टमा एक कार्यक्रमबीच सार्वजनिक ‘लिलु’ गीतबारे प्रमुख अतिथि राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले छाउपडी प्रथा रोक्न सरकारी तबरबाटै जोड गर्नुपर्ने बताउनुभयो । साथै उहाँले नेपाली समाजमा अझै छोरा र छोरीबीचको भेदभाव रहेकाले दुवैलाई समानका रूपमा लिन सबैले आफ्नो घरबाट सुरुवात गर्नुपर्ने बताउनुभयो । उहाँले गीतमार्फत छाउपडी प्रथाविरुद्धको सन्देश दिएकोमा निर्माण टिमलाई धन्यवादसँगै गीतले समाज परिवर्तनमा भूमिका खेल्नेमा विश्वास राख्नुभयो ।

भिडियोका निर्देशक तथा गीतकार गौरवले नेपाल समाजमा अझै कायमै रहेको कूप्रथालाई गीतमार्फत देखाएर यस्तो प्रथा हट्नुपर्ने सन्देश दिन खोजिएको बताउनुभयो । उहाँले भिडियो छायांकनको क्रममा सम्पूर्ण टिमको मिहिनेतले भिडियो राम्रो बनेको भन्दै प्राविधिकदेखि कलाकारको टिमलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठ, मर्यादित महिनावारी अभियान्ता राधा पौडेल, संगीतकार तथा गायक वसन्त सापकोटा, सञ्चारकर्मी डब्बु क्षेत्रीलगायतले गीत हेरेर आफ्नो भनाइ राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?