बाँकेका ‘गाउँका सिंहदरबार’ का आफ्नै पाठ्यक्रम

हिमालय टाइम्स
Read Time = 5 mins

-शुभाकर विश्वकर्मा

नेपालगञ्ज । बाँकेमा आठ स्थानीय तह अहिले आफ्नै पाठ्यक्रम निर्माणमा जुटेका छन् । तीमध्ये केही पालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरेर पढाउन सुरु गरिसकेका छन् । केही पालिका भने प्रक्रियामा छन् ।

‘गाउँका सिंहदरबार’ समेत भनिने स्थानीय तहहरूले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार आफ्नै पाठ्यक्रम निर्माण गरेर लागू गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानको व्यवस्थाअनुसार अहिलेसम्म जिल्लाका तीन पालिकाले स्थानीय पाठ्यक्रम लागू गरिसकेका छन् ।  हाल कोहलपुर नगरपालिका, राप्तीसोनारी र खजुरा गाउँपालिकाले आधारभूत तहमा आफ्नै स्थानीय पाठ्यक्रम लागू गरिसकेको अवस्था छ ।

यी पालिकामा कक्षा १ देखि ७ सम्म स्थानीय पाठ्यक्रमअनुसार अध्ययन भइरहेको छ । जिल्लाका नेपालगञ्ज उपमहानगर, बैजनाथ, डुडुवा, नरैनापुर र जानकी गाउँपालिका प्रक्रियामा छन् । ती पालिका आर्थिक वर्ष २०७९/०८० मा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने तयारीमा छन् । स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने प्रयोजनका लागि ती पालिकाले आगामी आवको नीति तथा कार्यक्रमका साथै बजेटसमेत विनियोजन गरेका छन् ।

राप्तीसोनारी गाउँपालिकाका प्रशासन तथा शिक्षा शाखा प्रमुख जीवन न्यौपानेका अनुसार कक्षा १ देखि ७ कक्षासम्म अध्यापन सुरु भइसकेको छ । उहाँले ‘हाम्रो राप्तीसोनारी’ पाठ्यक्रम नै निर्माण गरेर अध्ययन सुरु भएको बताउनुभयो । खजुरा गाउँपालिकाअन्तर्गत शिक्षा शाखाका विद्यालय निरीक्षक खगेन्द्र मल्ल खजुरामा स्थानीय पाठ्यक्रम निर्माण भइसकेको बताउनुहुन्छ । त्यहाँ अहिले आधारभूत तहमा स्थानीय पाठ्यक्रमअनुसार नै एक विषय पढाइ भइरहेको छ । गाउँपालिकाभरि यही भदौ, असोजसम्म सम्पूर्ण विद्यार्थीलाई पाठ्यपुस्तक नै उपलब्ध गराउने गरी काम भइरहेको मल्लको भनाइ छ । पाठ्यक्रममा पालिकाका भौतिक, शैक्षिक, आर्थिक, पेसा र व्यवसायका प्रसंग समेटिएको विद्यालय निरीक्षक मल्लले बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका नगर शिक्षा अधिकारी गोर्खबहादुर थापा नेपालगञ्जमा स्थानीय पाठ्यक्रम लागू गर्ने विषय फागुन महिनाबाट सुरु भएको बताउनुहुन्छ । नेपालगञ्जको समग्र अवस्था समेटेर अहिले पाठ्यक्रम निर्माण भइरहेको उहाँले बताउनुभयो । जानकी गाउँपालिकाकी शिक्षा अधिकृत प्रतिमा ओली खड्काले आर्थिक वर्ष २०७९/०८० को बजेटमा स्थानीय पाठ्यक्रम निर्माणका लागि कुल ६ लाख बजेट विनियोजन गरिएको बताउनुभयो ।

उहाँले आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू हुने प्रक्रिया नयाँ आर्थिक वर्ष सुरु भएदेखि नै सुरु हुने बताउनुभयो । यसैगरी डुडुवा गाउँपालिकाका शिक्षा शाखाका सहायक सन्तोष गुप्ताले डुडुवा गाउँपालिकाको अझै पनि स्थानीय पाठ्यक्रम लागू नै नभएको बताउनुभएको छ । उहाँले  शिक्षा शाखाले यसै शैक्षिक सत्रमा सम्पूर्ण पूर्वतयारी सुरु गर्ने बताउनुभयो । गुप्ताका अनुसार डुडुवामा वडा नम्बर ५ बाहेक अन्य वडामा अवधी भाषाको बाहुल्य रहेको छ । स्थानीय पाठ्यक्रम नेपाली र अवधी भाषामा निर्माण हुने उहाँको भनाइ छ । बैजनाथ गाउँपालिकाले भने  स्थानीय पाठ्यक्रम निर्माण गरिरहेको छ । शिक्षा शाखाका अधिकृत विश्वराज ढकालले बैजनाथमा स्थानीय पाठ्यक्रम बन्ने चरणमा रहेको बताउनुभयो । सरकारी प्रक्रियाअनुसार नै कक्षा १ देखि ८ सम्म पढाइ सुरु गर्नका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?