युद्ध आफैँमा असल होइन । युद्धको डरलाग्दो अवस्थाले संसारमा मानिसको भावनालाई कहिले पनि बोक्न सक्दैन । मानिसको मानवीय चेतना र त्यसले जीवनमा दिनसक्ने आधारलाई कहिले पनि युद्धले स्थापपित गर्न सक्दैन । युद्ध समाजको उन्नतिको प्रतीक होइन । युद्ध त जहिले पनि मानवीय भावना र मानवताको क्षय हो । यसमा मानिसका सबै सकारात्मक सोच समाप्त हुन्छन् । नकारात्मक सोचले मस्तिष्कमा आफूलाई तरोताजा बनाएर राख्ने गरेका हुन्छन् । अतः मानवीय चेतनाको स्खलन र मानवताको समाप्तिलाई युद्धले बोकेको हुन्छ । मानवीय चेतनालाई समाप्त पार्ने आधारवस्तुका रूपमा युद्धलाई लिने गरिएको पाइन्छ ।
संसारमा युद्ध धेरै भए । पौराणिककाल सदा युद्धका लागि प्रख्यात नै बन्यो । देवासुर सङ्ग्राम, राम रावणको युद्ध, महाभारत युद्ध पौराणिक कालका वा तत्कालीन समयका सबैभन्दा सबल युद्ध मानिए । ती युद्धले एक अर्काको अस्तित्वलाई सकार्न चाहेनन् र युद्धको भुँमरीको फसे । तत्कालीन समयमा भएका यी युद्धलाई धर्मयुद्धका नामले प्रतिष्ठिापित गराइयो । सत्य र असत्य, धर्म र अधर्म, पाप र पुण्य, सत्पात्र र असत्पात्र, दानव र देवताबीचको युद्धका रूपमा स्वीकार गरे तत्कालीन धर्मशास्त्र तथा इतिहास पुराणहरूले ।
आरम्भमायी युुद्धहरूमा दानवीय प्रवृत्तिको विजय र उसका पापलाई प्रश्रय दिने अवस्था देखियो । दानवीय प्रवृत्तिको विकासलाई समाप्त पार्न ईश्वरका विभिन्न अवतार भएको पाइन्छ । उत्तरार्धमा सत्य, देवता र धर्मको विजय देखाएर युद्धलाई समापन गरेको पाइयो । यी युद्धहरूलाई तत्कालीन समयका बलशाली र डरलाग्दा युद्धका रूपमा मानिएको पाइन्छ ।
शुक्राचार्य तत्कालीन समयमा दानवका गुरुका रूपमा देखिए । उनको शिक्षा गुरुका नाताले दानवका लागि समर्पित बन्यो । उनीसित मृतसञ्जीवनी विद्या थियो । उनले मरेका दानवलाई विद्याका माध्यमबाट जगाएर युद्धको भूमिमा पठाउने गरेका थिए । उनले सञ्चालन गरेको नीतिलाई शास्त्रले शुक्रनीतिका रूपमा मानेको छ । उनको नीतिले युद्धको वर्गीकरण र आधारहरू प्रस्तुत गरेको छ ।
युद्धका प्रकार :
युद्ध आफैँमा विकास र उन्नतिको सबल पाटो होइन । युद्धका आफ्नै प्रकार र तिनले व्यक्त गर्ने आधारलाई युद्धनीतिका रूपमा मानेको पाइन्छ । शुक्राचार्य युद्धलाई वर्गीकरण गर्दछन्
मन्त्रास्त्रैर्दैविकं युद्धं नालाद्यस्त्रैस्तथाऽऽसुरम् ।
शत्रुबाहुसमुत्थं तु मानवं युद्धमीरितम् ।।
मन्त्रबलद्वारा अस्त्रको प्रयोग गरिने युद्धलाई दैविक युद्ध मानिएको छ । बम, गोला, बारुद, बन्दुकद्वारा लडिने युद्धलाई आसुरी युद्ध मानिएको छ । खड्ग तथा बाहुद्वारा लडिने युद्धलाई मानव युद्धका रूपमा मानिएको छ । युद्धका यी भाव र युद्धमा प्रयोग हुने शस्त्रका आधारमा शुक्राचार्यले युद्धको वर्गीकरण गरेका छन् । यो युद्धको नीति र त्यसले समाजमा पार्ने प्रवाहको आधार हो । यसै आधारमा उनले युद्धको नीतिलाई समर्थन र त्यसको प्रवृत्ति स्वीकार गरेका छन् । आज हुने सबै मानवीय युद्ध आसुरी युद्धका रूपमा बाहिर आएका छन् । शुक्राचार्यको वर्गीकरणको आधार शस्त्र भए पनि आज हुने युद्धका सबै आधार आसुरी प्रवृत्तिका रहेका छन् ।
आसुरी भावना र त्यसले व्यक्त गर्ने सन्दर्भको पहिचानका रूपमा आएका यस किसिमका युद्धले दिने सन्त्रासमय वातावरण, मानवताको संहार, चेतनाको अभाव तत्कालीन समयमा थिएन भन्ने सन्दर्भलाई आजको युुद्धले देखाएको छ । यस्ता युद्ध तत्कालीन समयमा थिएनन् । युद्ध नभएका होइनन् तर युद्धका लागि र युद्धमा प्रयोग गरिने हातहतियारको आफ्नै किसिमको नियम र व्यवस्था थियो जो आजको युद्धमा देखिँदैन ।
हातहतियार रहित, युद्धमा संलग्न नभएका, सकेसम्म युद्ध नचाहने मानिस नै आजको युद्धका केन्द्र बनेर उभिएका छन् । आजको युद्धले युद्धमा संलग्न नरहेका मानिस, बालबालिका आदिलाई समेत मृत्यु दिन तम्सिने गरेको छ । आजको युद्धमा मानवता हराएको छ । चेतना कमजोर बनेको छ । सन्त्रासको वातावरण युक्त छ । आजको युद्धले मित्रताको आधारलाई समाप्त पािरदिएको छ । आजको युद्ध डरलाग्दो छ, अस्वस्थ छ, अविश्वसनीय छ, एक–अर्काका बीचको असमदारीले भरिएको छ ।
युद्ध समयमा लडिने र समयमा समाप्त हुने आधार हो । समयको बन्धनले युद्धलाई सामान्य र डरलाग्दो तरिकाबाट बाहिर ल्याएको हुन्छ । शास्त्रले युद्धका प्रकारमात्र होइन युद्धका लागि उत्तम ऋतु र समयको समेत चर्चा गरेको छ ।
शरद्धेमन्तशिशिरकालो युद्धेषु चोत्तमः ।
वसन्तो मध्यमो ज्ञेयोऽधमो ग्रीष्मः स्मृतः ।।
सदा वर्षासु न प्रशंसन्ति युद्धं साम स्मृत ंतदा ।
शरद, हेमन्त र शिशिर ऋतु युद्धका लागि उत्तम, वसन्त ऋतु युद्धका लागि मध्यम र ग्रीष्म ऋतु युद्धका लागि अधम मानिएको छ । वर्षा ऋतु त युद्धका लागि सदा त्याज्य मानिएको छ । वर्षामा युद्ध होइन शत्रुसित सन्धि गर्नु नै उपयुक्त मानिएको छ ।
शास्त्र युद्धका प्रकार र युद्धका लागि उचित समयको समेत ख्याल गर्ने गर्दछ । शास्त्रअनुसार लडिने युद्धलाई सदा धर्मयुद्धका रूपमा स्वीकार गरिएको पाइन्छ । शास्त्र युद्धका लागि उपयोगी ऋतुलाई सदा स्वीकार गर्ने आधार बनाएर अघि बढेको छ । यसैलाई युद्धको नियम र युद्धको उचित समयको आधार मानिएको पाइन्छ । उचित समयलाई ख्याल गरेर लडिने युद्धमा विजय सुनिश्चित छ भन्ने आधार नीतिको मुलभूत सिद्धान्त हो ।
विजयको सङ्केत :
युद्धमा सदा विजय प्राप्त हुन्छ भन्ने होइन । युद्ध लड्दा जय र पराजयको ख्याल अनिवार्य मानिएको छ । रावणसित राक्षस सेनाको सङ्ख्या धेरै थियो रावणले युद्ध हारे । महाभारतमा पाण्डवभन्दा कौरवको सैन्यशक्ति सबल थियो पाण्डवले युद्ध जिते । युद्ध न्यायका लागि र अन्यायका विरुद्ध भयो भने अवस्य विजय प्राप्त हुने सङ्केत शास्त्रमा उल्लेख गरिएको छ । आजसम्म भएका युद्धले पनि यही परिणाम देखाएको छ । युद्ध व्यक्तिगत हुँदैन । युद्धमा समर्पित सेना र सेनापतिको भूमिकाले युद्धलाई विजय र पराजयको अवस्थामा लगेर राखेका हुन्छन् । त्यसैले युद्धमा विजयको मूल आधार सेना हो । सेनाको व्यवस्था जति चुस्तरूपमा रहेको हुन्छ युद्ध त्यति सजिलो तरिकाले जित्न सक्ने सम्भावना रहेको हुन्छ । शास्त्र सेनाको सन्दर्भमा भन्छ ः
पुत्रवत् पालितं यत्तु दानमानविवद्र्धितम् ।
युद्धसम्भारसम्पन्नं स्वसैन्यं विजयंप्रदम् ।।
सेनालाई पुत्रवत् व्यवहार गरिएर राखिएको छ, हातहतियारले युक्त बनाइएको छ, दान, मान र सम्मानले संतुष्ट तुल्याइएको छ भने युद्ध अवस्य नै जितिनेछ । यसरी युद्धको नियम र युद्ध जित्न सक्ने अवस्थाको भावलाई शास्त्रले पूूर्णरूपमा उल्लेख गरेको छ । युद्ध सदा जित्नका लागि लडिन्छ तर युद्धमा सधैँ विजय पाइन्छ भन्ने पनि छ्रैन । युद्ध आरम्भदेखि नै जय र पराजयको आधारमा उपस्थित भएको हुन्छ । शास्त्रले युद्धका नियमलाई अक्षरशः पालन गर्न आग्रह गरेको छ । पौराणिक कालमा भएका सबै युद्ध नियमसङ्गत तरिकाले लडिएका थिए भन्ने होइन । तर युद्धको समग्रता सत्यको विजयमा अडिएको पाइन्छ । सत्य नै युद्धको विजयमा आधार हो भन्ने प्रमाणलाई प्राचीनकालका युद्धले देखाएका छन् ।
विजयको लक्ष्यलाई लिएर अघि बढेका युद्धले हारको स्वाद चाखेका उदाहरण धेरै छन् । शास्त्रीय मर्यादा, शास्त्रका मान्यता, नैतिकता र सेनाको बलमा जितिने युद्धका आफ्नै पहिचान र आधार छन् । ती आधारमा टेकेर गरिने युद्धले विजयलाई अङ्कमाल गरेको हुन्छ ।
आजका युद्ध :
हामी प्रविधिबाट चन्द्रमामा पुगिसक्यौँ । वैज्ञानिक खोजले आजको समाजलाई सुविधासम्पन्न बनाएको छ । त्यही सुविधाको अवस्थालाई जीवन्त बनाउन हामी सदा तयार बनेर उभिएका छौँ । आज पनि हामी युद्धको चपेटामा परिरहेका छौँ । कतिपय मुलुक युद्धका कारण सम्पन्न बनेका छन् भने कतिपय मुलुक युद्धको चपेटामा परेर नाश भएका उदाहरण प्रशस्त देखापरेका छन् आज ।
रसिया र यु्ुक्रेन युद्धको मार झेलिरहेका देश हुन् । युद्धको डरलाग्दो अवस्थामा रहेका यी दुई मुलुकले संसारलाई आर्थिक मन्दीको अवस्थामा धकेलिरहेका छन् । यही युद्धको चपेटामा आज श्रीलङ्का जस्तो देश आर्थिक विपत्तिको मारमा परेको छ । चुलिँदै गएको महँगी र त्यसले निम्त्याउने भोकलाई आजको विश्वले धान्न नसक्ने अवस्थामा पु¥याएको छ । युद्ध रोकिने छाँट देखिएको छैन । युद्ध दिनानुदिन क्रूर र डरलाग्दो बनिरहेको छ । युद्ध गर्ने देशलाई मानवता, विश्व अर्थतन्त्र र विश्वका मानिसले भोगेको अवस्थाको चिन्ता छैन । त्यसैले यो युद्ध रोकिनु अनिवार्य छ ।
हामी युद्धको कल्पना गर्न सक्दैनौँ । आजको विश्वमा देखिएको अमानवीय व्यवहार र त्यसले निम्त्याएको अराजकताका साक्षी बनिरहेका छौँ । शासन चलाउने व्यक्ति देश र देशबासीको अवस्थालाई हेरेर शासन चलाउन सक्दैन । भ्रष्टाचार, घुसखोरी, आफन्तवादले आजको विश्व जटिल बन्दै गएको छ । जापानजस्तो मुलुकका भूतपूूर्व प्रधानमन्त्रीको सडकमा हत्या हुन्छ । अब उप्रान्त त्यस किसिमका घटना हुँदैनन् भन्ने आधार आज हामीसित छैन । हामी कस्तो शासनको कल्पनामा छौँ । कस्तो विश्व निर्माणको अवस्थामा छौँ । यो बुझ्न हामीलाई आवश्यक छ । यदि हामी सदा युद्धको वकालत गर्ने र एक अर्का देशका बीचको युद्धलाई नकार्न नसक्ने भयौँ भने भोलिको संसार मानवीय भावना, भातृत्व, आफ्नोपन रहित हुने निश्चित छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच