हिमालयको काठमाडौं-कुवेत उडान

Read Time = 3 mins

काठमाडौं । हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै आठौँ अन्तर्राष्ट्रिय निर्धारित गन्तव्य र छैटौँ गल्फ सिटी कुवेतका लागि शुक्रबार पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको छ । निर्धारित उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राती २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कनेक्रममा शनिबार बिहान ९ः१७ बजे काठमाडौं अवतरण गरेको थियो ।

उडान उद्घाटन कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरलगायतको उपस्थिति रहेको थियो । एयरलाइन्सले हरेक शुक्रबार काठमाडौं-कुवेत र हरेक शनिबार कुवेत-काठमाडौं उडान सञ्चालन गरिने जनाएको छ । कुवेत विशेषगरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीका लागि महत्वपूर्ण गन्तव्य हो । नेपाल र कुवेतबीच मैत्रीपूर्ण र सौहाद्र्रपूर्ण सम्बन्ध रहेकोमा काठमाडौं-कुवेत-काठमाडौं उडानले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने एयरलाइन्सको भनाइ छ । नेपाल र कुवेतबीच २३ जनवरी २००६ मा हवाई सेवा सम्झौता भएको थियो ।

हिमालय एयरलाइन्सका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो, ‘हिमालय एयरलाइन्स एक प्रगतिशील वायुसेवा कम्पनी हो, जसले यात्रुलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै आएको छ । हिमालयले काठमाडौं-कुवेत-काठमाडौं सेक्टरको सुरुवात पनि सोही भावनाअनुरूप गरेको हो ।’

कोरोना महामारी र पछिल्लो समयको युक्रेन संकटबाट प्रभावित राष्ट्रिय अर्थतन्त्र र एयरलाइन्सका लागि नयाँ रुटमा सेवा सुचारु गर्दा केही सहजता प्रदान हुने एयरलाइन्सको अपेक्षा छ । एयरलाइन्सको एयरबस ३२० लाई प्रयोग गरिने उक्त रुटको टिकट बुकिङका लागि यात्रुले हिमालय एयरलाइन्सको बिक्री कार्यालय वा नजिकको ट्राभल एजेन्सीमा सम्पर्क गर्न सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?