म लामो समय सरकारमा बस्ने मन्त्री होइन : पर्यटनमन्त्री श्रेष्ठ

Read Time = 7 mins

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताउनुभएको छ ।

सोमवार पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायहरुसँग पर्यटन क्षेत्रको पुनरुत्थानबारेमा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।

उहाँले पर्यटन क्षेत्रमा विभिन्न विकृति बढ्दै गएको गुनासो आउने गरेको भन्दै निजी क्षेत्रसँग हातेमालो गरेर विकृति नियन्त्रण गर्ने योजना रहेको बताउनु भयो । पर्यटन मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थापन गर्नको लागि तत्काल गर्न सकिने मध्ये कालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने कामका विषयमा अध्ययन गरेर काम अगाडि बढाउने उल्लेख गर्नुभयो ।
उहाँले पर्यटन क्षेत्रको पुनरुत्थानको काम सरकार र निजी क्षेत्र मिलेर मात्रै व्यवस्थित गर्न सकिने दाबी गर्नुभयो । मन्त्री श्रेष्ठले तत्काल समय सापेक्ष अनुसारको ऐन नियमलाई संशोधन गरेर काम अगाडि बढाउने पनि तयारी भइरहेको बताउनु भयो । उहाँले आफू लामो समय बस्ने मन्त्री नभएको भन्दै ऐन कानून निर्माण गर्नभने लागिपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रको विकासका लागि तत्काल गर्न सकिने ,मध्येकालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने काम हेरेर गर्नेछौं । ऐन नियम बनाउने काम केही समय लाग्छ । ऐन कानूनको कामको पनि शुरुवात गरौं भनेर सोचेको छौं । म लामो समय बस्ने मन्त्री होइन । तर शुरुवात गरेपछि भोलि निरन्तरता पाउँछ र एउटा निस्कर्ष निस्कन्छ । शुरु नै भएन भने अगाडि बढ्दैन । ऐन नियमका कुराहरु कहाँ केकेमा समय सापेक्ष संशोधन गर्नु पर्नेछ । त्यो कामको शुरुवात गर्छु । पर्यटन क्षेत्रलाई पुनःस्थापित र प्रचार गर्नुपर्ने कुराहरु छन् । त्यसमा मन्त्रालय कार्यक्रम नै अगाडि बढाएर जानेछ । पर्यटन पुनरुत्थानको काम सरकार र निजी क्षेत्र मिलेर नै गर्ने हो । हातेमालो गरेर नै पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने हो । पर्यटन क्षेत्रमा देखिएका विकृतिका कुराहरु पनि सुन्नमा आएका छन् । मैले थाहा पाए अनुसार यो क्षेत्रमा धेरै विकृतिहरु बढ्न थालेको छ जसले गर्दा हाम्रो इमेज खराब हुँदै गएको छ । यो विकृति नियन्त्रण गर्ने कुरामा पनि निजी क्षेत्रको सहयोगको आवश्यकता रहेको छ ।’

त्यस्तै कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रका सबै प्याकेजहरुलाई अनलाइन प्रणालीमार्फत प्रचारप्रसार गर्ने सुझाव दिनुभयो । उहाँले ट्राभल एजेन्सीमार्फत पर्यटन गन्तव्यहरुको ब्रोसरहरु बोकेर,हवाइ उडानमा खर्च गरेर अहिलेको आधुनिक र टेक्नोलोजीको समयमा जानुपर्ने उपयुक्त नहुने दाबी गर्नुभयो । अध्यक्ष सुवेदीले विदेशी पर्यटक नेपाल आएर नेपालका पर्वतीय र पदयात्रा जाँदा टे«किङ कम्पनीहरुको माध्यमबाट मात्रै पर्वतीय र पदयात्रा सञ्चालन हुनुपर्ने जिकिर गर्नुभयो ।

त्यस्तै, होटल एसोसिएसन अफ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले राज्यले पर्यटन उद्योगलाई कहिल्यै राष्ट्रिय प्राथमिकता नराखेको गुनासो गर्नुभयो । उहाँले सरकारले अन्य उद्योगको तुलनामा राष्ट्रिय प्राथमिता नपरेर सहुलियत तथा छुट समेत नपाउँदा उद्योग धरासाही बनेको दाबी गर्नुभयो । अध्यक्ष राणाले सरकारले पर्यटन उद्योगलाई मौद्रिक नीतिमार्फत सहुलियत तथा अनुदानको व्यवस्था गरे मात्रै पर्यटन उद्योगलाई ठूलो सहयोग पुग्ने बताउनु भयो ।

उहाँले सरकारले नेपालको राम्रो सन्देश दिनको लागि पाँच तारेदेखि सबै होटलमा खानामा गुणस्तरियता कायम गराउनु पर्ने सुझाव दिनुभयो । अध्यक्ष राणाले नेपालका पर्यटक ल्याउनको लागि अझै चुनौती रहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्तवीर लामाले पर्वतारोहण उद्योगलाई राष्ट्रिय उद्योगको रुपमा स्थापना गर्न सुझाव दिनुभयो । उहाँले पर्वतारोहण सम्बन्धि सेवा सुविधाहरु एकद्वार प्रणालीमार्फत दिनुपर्ने बताउनु भयो । अध्यक्ष लामाले शाहसिक विभिन्न खेलहरुको लागि हिमालय आरोहण समेत खुल्ला गर्न माग गर्नुभयो । उहाँले हिमाल आरोहण गर्दा ज्यान गुमाउनेको परिवारलाई कल्याणकारी कोष सञ्चालन गर्ने नितिगत व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै,नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले पर्यटकको लागि काठमाडौंमा विगत लामो समयदेखि पर्यटक बसपार्कको अभाव भएकाले सरकारले पर्यटक बसपार्कको व्यवस्थापन तत्काल गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा समग्र पर्यटन व्यवसायीहरुले नेपालको पर्यटन क्षेत्र पुनरुत्थानको लागि सरकारले गर्नुपर्ने विभिन्न काम गर्नको लागि सुझाव दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?