पानी नपरेपछि किसानले जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगे

Read Time = 4 mins

-प्रकाश न्यौपाने

नवलपरासी । पानी नपरेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा किसानहरुले जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेका छन् ।

लामो समयदेखि पानी नपरे पछि अगुवालाई बाँधेर मन्दिर लगे पानी आउँछ भन्ने अन्धविश्वासमा जनप्रतिनीधिलाई बाँधेर मन्दिर लगिएको हो ।

जनप्रतिनीधिहरुलाई सरावल गाँउपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी र उपाध्यक्ष बासमती हरिजनसहित अन्य जनप्रतिनिधि र कर्मचारीलाई बाँधेर मन्दिर लगिएको थियो। बाँधेर मन्दिर लगिएका जनप्रतिनिधिले स्वच्छ मनले पूजा अर्चना गरे भगवान खुसी भएर पानी पार्ने विश्वासमा यस्तो गरिएको सरावल गाँउपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताउनु भयो । यहाँ जब -जब असार महिनामा पानि पर्दैन, तब-तब स्थानीयले अगुवालाई बाँधेर मन्दिरमा लगेर हिलो छ्याप्ने प्रचलन छ । अगुवाले स्वच्छ मनले पूजा गरेमा पानी पर्ने  विश्वास लिएर स्थानीयले जनप्रतिनीधिलाई बाँधेर मन्दिर लएर पूजा गर्न लगाउने प्रचलन रहेको अध्यक्ष चौधरीले बताउनु भयो ।

यहाँ तीनदिनसम्म पूजा अर्चना गरी अन्तिम दिन गाँउका अगुवालाई बाँधेर बालबालिकासहित मन्दिर लगेर पूजा अर्चना गर्दा भगवान खुसी भएर पानी पार्ने विश्वास गरिन्छ ।

पश्चिम नवलपरासीमा २१ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको छ । मल बेलामा नपाएका किसान यति बेला पानी नपरेका कारण थप पीडामा परेका छन् । रोपाई सकेको लामो समय बितिसक्दा पनि पानी नपर्दा किसानले रोपेको धान सुक्न थालेका कारण किसान चिन्तित भएका हुन् । खडेरीले माटो सुक्दा खेत धाँजा फाटेको छ । असारको पहिलो साताबाटै रोपाई सुरु गरेका यो क्षेत्रका किसान आकासे पानीको भर पर्न वाध्य छन् । यहाँ बैकल्पिक सिचाईको व्यवस्था नहुँदा रोपो सुक्न थाल्दा यस बर्ष धान उत्पादनमा कमि आउने देखिन्छ । लगानी पनि नउठ्ने हो की भन्ने चिन्ताले यतिबेला किसानहरुलाई पिरोल्न थालेको छ ।

अघिल्लो बर्ष धान भित्त्राउने समयमा बाढी डुबाउका कारण धान उत्पादनमा क्षति भएपनि पछिल्लो बर्षहरुमा जिल्लामा धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्रको दावी छ । जिल्लामा २१ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका प्रमुख शिव अर्यालले जानकारी दिनुभयो । प्रति हेक्टर ४१ क्विन्टल धान उत्पादन हुने गरेको र यस बर्ष जिल्लामा ९६ प्रतिशत धान रोपाई भएको अर्यालले जानकारी दिनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?