सुदूरपश्चिमबाट सात सय खेलाडी सहभागी हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

धनगढी । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुन गइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय बढी खेलाडी सहभागी हुनेभएका छन् । नवौं राष्ट्रिय खेलकुदमा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिमले भाग लिने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशमा खेलाडी छनोटका लागि एक हजार २८३ पुरुष र ८७८ महिलालाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

यीमध्येबाट सात सय नौ खेलाडी सो प्रतियोगितामा भाग लिनका लागि छनोट हुने जनाइएको छ । त्यसमध्ये १९४ खेलाडी सोझै छनोट हुने भएका छन् । सो प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीबाट आवेदन माग गरिएको थियो । आवेदन दिएकामध्येबाट विभिन्न खेलका लागि आवश्यक संख्यामा खेलाडी छनोटको काम आगामी सातादेखि हुने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट अन्तर्राष्ट्रिय र स्थानीय रेफ्री तथा निर्णायक गरी ४७२ खेल पदाधिकारी सहभागी हुने जनाइएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट एक हजार ४८१ जनाको टोली गण्डकी प्रस्थान गर्ने बताइएको छ । प्रदेश खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दैनिक दुई हजारका दरले भत्ताको व्यवस्था गरिएको सदस्यसचिव सिंहले बताउनुभयो ।

प्रदेश सरकारको बजेटबाट परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणदेखि खेल सकिएको भोलिपल्टसम्म दैनिक दुई हजारका दरले भत्ता दिने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?