बिरुवा रोपिन्छन् तर संरक्षण छैन

हिमालय टाइम्स
Read Time = 8 mins

-विवेक खड्का

दाङ । असार र साउन महिना वृक्षरोपणको उपयुक्त समय हो । वर्षायामलाई वृक्षरोपण गर्ने समयका रूपमा लिने गरिन्छ । हरेक वर्षजसो निजी, सरकारी तथा गैरसरकारी संघसंस्था र निकायलाई यो सिजनमा बिरुवा लगाउने चटारो नै हुन्छ । वृक्षरोपण कार्यक्रमलाई कतिले त आफ्नो वार्षिक कार्यक्रम राखेका छन् । विभिन्न दिवसको अवसर पारेर तथा अभियानकै रूपमा समेत वृक्षरोपण गरिँदै आएको छ । पछिल्लो समय बिरुवा रोप्ने काम फेसनकै रूपमा देखा परेको छ । प्रत्येक वर्ष वन डिभिजन कार्यालयहरूले वृक्षरोपणका लागि लाखौँ बिरुवा वितरण गर्छन् । ती बिरूवा वन क्षेत्र तथा खाली स्थानमा रोपिन्छ पनि तर यसरी रोपिने बिरुवा कति बाँचे र कति मरे भन्ने यकिन तथ्यांक भने कुनै निकायले राख्दैनन् ।

एकपटक बिरुवा रोपेपछि फेरि अर्को वर्ष त्यही ठाउँमा बिरुवा रोप्ने प्रचलन बढ्दै गएको छ । केही समयपहिले तुलसीपुरमा एक घर एक बिरुवा अभियान सुरु भएको थियो । त्यसले केही हदसम्म सार्थकता भने पाएको छ तर सबै बिरुवा भने बचाउन सकेको अवस्था छैन ।

रूख रोप्ने अनि जोगाउने दायित्व सबैले लिनुपर्ने जानकारहरू बताउँछन् । ‘बिरुवा रोपेरमात्र हुँदैन, त्यसलाई बेला-बेलामा हेरचाह र स्याहार गर्न सके मात्र वृक्षरोपणले सार्थकता पाउँछ,’ स्थानीय वयोवृद्ध यमनारायण केसीले भन्नुभयो । उहाँले वृक्षरोपण गर्नु राम्रो पक्ष भएको भन्दै वृक्षरोपण गर्नका लागि नभई त्यसलाई सार्थकता दिनुपर्ने बताउनुभयो । जोसुकैले वृक्षरोपण गर्ने हुँदा न लगाउने तरिका मिल्छ न त लगाएका बिरुवाको अवस्थाबारे हेरफेर गरिन्छ । जसका कारण बर्सेनि रोपिने लाखौँ बिरुवामध्ये मुस्किलले आधामात्रै जोगिन्छन् ।

बिरुवा रोप्नेहरू बढ्दै गए पनि संरक्षणमा भने कसैको ध्यान पुगेको पाइँदैन । हरेक वर्ष एउटै स्थानमा वृक्षरोपण गरिनु र त्यहाँ बुट्यान क्षेत्र नबढ्नुले यसरी गरिने वृक्षरोपण औचित्यहीन भएको पुष्टि गर्छ । डिभिजन वन कार्यालय दाङले सर्वसाधारणलाई यस वर्ष पनि घर–घरमा बिरुवा दिन सुरु गरेको छ तर ती बिरुवा कसले कसरी संरक्षण गर्छ, गर्दैन त्यसको भने कुनै निकायले नियमन गर्दैन । जसले गर्दा राज्यको लगानी पनि खेर जाने गरेको छ ।

वनविज्ञहरूका अनुसार बिरुवा संरक्षणमा उमार्दादेखि नै प्राविधिक कुरामा ध्यान दिनुपर्छ । उपयुक्त स्थान, रोप्ने तरिका र वस्तुभाउबाट समेत बचाउनुपर्ने हुन्छ । यसका लागि उपभोक्ता र आमनागरिकसमेत सचेत हुनुपर्ने उनीहरू बताउँछन् । मानव र वृक्षबीचको सम्बन्ध अनादिकालदेखि नै घनिष्ठ छ । वृक्षले मानव र मानवले वृक्षको संरक्षण पनि प्राचीनकालदेखि नै गर्दै आएको हो ।

जन्मदेखि मृत्युसम्म मानव जीवनलाई सार्थक तुल्याउन वृक्ष चाहिन्छ । जन्मेपछि शिशुलाई ताप दिन दाउरा चाहिन्छ भने मृत्युपछि पनि लाश जलाउन यही दाउराको आवश्यक हुन्छ । यसैगरी बाँचुञ्जेल चाहिने अक्सिजन पनि यही वृक्षले प्रदान गर्दछ । वृक्षले कार्बन भण्डारणदेखि भूसंरक्षणसम्मका कार्यहरू गर्दछ ।

वृक्षको महत्व मानव जीवनका लागि अपरम्पार छ । वृक्ष रोप्ने कार्य नै वृक्षरोपण हो । वृक्षरोपणले कृषककोे आवश्यकता पूर्तिसँगै वातावरण सन्तुलन कायम गर्दछ । हजारौँ वर्षदेखि वृक्षरोपण कार्यले वातावरण सन्तुलन, खाद्यान्न आपूर्ति, दैनिक जीविकोपार्जनलगायतका आवश्यकता पूरा गर्दै आएको हो । अझ धार्मिक महत्वका लागि वृक्षरोपण गरिँदै आएको पनि पाइन्छ । हिन्दूधर्मअनुसार वर-पिपल, स्वामीलगायतका वृक्षलाई ईश्वरीय अंश नै मानिन्छ ।

अहिलेको बदलिँदो परिवेशमा वृक्षरोपण प्राकृतिक सौन्दर्यका लागिसमेत गरिन्छ । ग्रामीण जीविकोपार्जन सुधारका लागि वृक्षरोपण महत्वपूर्ण छ । वृक्षरोपणले सामाजिक, आर्थिक र वातावरणीय फाइदा पु¥याइरहेको हुन्छ । वृक्षरोपण गर्नका लागि जिल्ला वन कार्यालय तथा जिल्ला भूसंरक्षण कार्यालयहरूले निःशुल्क बिरुवाहरूसमेत उपलब्ध गराइरहेका छन् । त्यस्तै व्यक्तिहरूले पनि किनेर निजी लगानीमा वृक्षरोपण गर्ने प्रचलन छ ।

वृक्षरोपण कार्यका लागि सुरुमा स्थान छनोट गरी हावापानी, भौगोलिक अवस्था र माटोको गुणस्तर आदि ध्यानमा राखी आवश्यक प्रजातिहरू छनोट र आवश्यक संख्या यकिन गर्नुपर्दछ । वृक्षरोपण क्षेत्र छनोट गरेपछि चिस्यान भएको बेलामा खाल्डो खन्नुपर्छ तर यहाँ वृक्षरोपणकै दिन खाल्डाहरू खनेर बिरुवा रोप्ने प्रचलन छ । यसले गर्दा पनि बिरुवा लगाएको नजाग्ने समस्या बढेको स्थानीय बताउँछन् ।

जलवायु परिवर्तन र वन विनाशका कारण पछिल्लो समयमा विभिन्न असरहरू देखिन थालेसँगै जलवायु परिवर्तनलाई अनुकूलन गराउन पनि वृक्षरोपण भने महत्वपूर्ण हुने बताइएको छ । ‘वृक्षरोपण गर्नु सबैका लागि सराहनीय कार्य हो तर रोपेर मात्र हुँदैन त्यसलाई हुर्काउनुपर्छ,’ पूर्ववनकर्मी ध्रुव गौतमले भन्नुभयो । उहाँले रोपिएका बिरुवाहरू संरक्षण संवद्र्धन गोडमेल गर्न ध्यान दिन पनि सबैलाई आग्रह गर्नुभयो । ‘सबै ठाउँमा बिरुवा रोप्न उपयुक्त देखिँदैन, केही ठाउँमा राम्रो पनि छ, केही स्थानमा भने विभिन्न कारणले वृक्षरोपण गरे पनि बिरुवाहरू नजाग्ने अवस्था देखिन्छ,’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?