नेपाली छड पहिलोपटक भारत निर्यात, श्री स्टिलले पठायो ३५ टन छड

Read Time = 3 mins

-चन्द्रकान्त खनाल

बुटवल । सिमेन्टपछि नेपालबाट पहिलोपटक भारत छड निकासी भएको छ । बुधबार रुपन्देहीस्थित श्री स्टिलले उत्पादन गरेको फलामे डन्डी (छड) बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट भारतका लागि निकासी भएको हो ।

चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, डन्डी, प्रशोधित पानी र जुत्ताचप्पलमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था ल्याइएसँगै पहिलोपटक श्री स्टिलले डन्डी निकासी गरेको हो । यसअघि पाल्पा सिमेन्टले तानसेन ब्रान्डको सिमेन्ट भारत निकासी गरेको थियो ।

श्री स्टिलका सञ्चालक राजेशकुमार अग्रवालले ब्यूरो अफ इन्डियन स्ट्यान्डर्डबाट बिएसआई प्रमाणपत्र पाएपछि उद्योगबाट पहिलोपटक छड निकासी गरेको बताउनुभयो ।

‘हामीले भारतको नौतनवास्थित एक फर्मलाई आज एक ट्रक पठाएका छौं, यो सुरुवात हो । कच्चा पदार्थ भारतबाट ल्याएर भारतमै निकासी गर्न सम्भव थिएन, सरकारले गरेको व्यवस्थामा नगद अनुदान भएपछि नै यो निकासी सम्भव भएको हो,’ उहाँले भन्नुभयो । भारतबाट नै स्पन्ज आइरन ल्याएर छड उत्पादन गरिँदै आएको छ । ४५० डलरमा किनेको स्पन्ज छड प्रोसेसिङ गरी ७५० डलरमा बिक्री हुँदै आएको छ ।

‘झन्डै १५ महिनापछि बिएसआई प्रमाणपत्र आयो जसले निकासीको बाटो खुलेको छ, हामीबाहेक अन्य उद्योगले पनि निकासीका लागि प्रक्रिया अगाडि बढाएका छन् । नेपालको लागि गौरवको काम हो, सरकारले चाँडै कार्यविधि बनाउनुपर्छ,’ अग्रवालले भन्नुभयो, ‘रुपन्देहीको रोहिणी गाउँपालिका ३ सेमरहवास्थित श्री स्टिल्स प्रालिले केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप र उमा ग्रुपको संयुक्त लगानीमा टिएमटी छड उत्पादन गर्दै आएको छ।’

कम्पनीले नेपालमै पहिलोपटक जापानी प्रविधिको स्वचालित प्लान्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको छ । जुन भूकम्प र अग्नि प्रतिरोधात्मक मानिन्छ ।

पहिलो लटमा एक ट्रकमा करिब ३५ टनसम्म टिएमटी छड पठाइको म्यानेजर दिपक शाहले बताउनुभयो । ‘यो सुरुवात र सफलता केवल हाम्रो र उद्योगको मात्रै होइन, रुपन्देही जिल्ला, लुम्बिनी प्रदेश र राष्ट्रकै सफलता हो,’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?