ओमानबाट लगानी भित्र्याउन आग्रह

Read Time = 2 mins

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग भेट गरी नेपालमा ओमानबाट लगानी र पर्यटक भित्र्याउन पहल गर्न आग्रह गरेको छ । चेम्बर भवनमा बुधबार भएको भेटका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक हिसाबले सम्पन्न मुलुक ओमानमा झण्डै २० हजार नेपाली कार्यरत रहेको भन्दै रोजगारीमा गएका प्रत्येक नेपालीले एकजना ओमानी नागरिक भित्र्याउन पहल गर्ने हो भने पर्यटन क्षेत्रले फड्को मार्ने बताउनुभयो ।

ओमानसँग नेपालको कूटनीतिक सम्बन्ध निकै पुरानो रहे पनि उच्चस्तरीय भ्रमण हुन नसकेकाले पर्यटक आकर्षित गर्न नसकिएको उहाँको भनाइ थियो । ओमानसँग नेपालको व्यापारघाटा उच्च रहेकाले पर्यटन र लगानीमार्फत् व्यावसायिक सम्बन्ध विस्तारमा मल्लले जोड दिनुभएको छ । साथै उहाँले ओमानमा नेपाल हाउस स्थापनाको पहलका लागि पनि आग्रह गर्नुभएको छ । ओमानमा कार्यरत नेपालीलाई लक्षित गरी उनीहरूका लागि आवश्यक खाद्यान्न, लत्ता कपडालगायत नेपालबाटै आपूर्ति गर्ने व्यवस्थासहितको नेपाल हाउस खोल्न सकिए आर्थिक गतिविधि बढ्ने र व्यापारघाटा कम गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

राजदूत अर्यालले ओमानबाट पर्यटक भित्र्याउन तथा वैदेशिक लगानी आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो । ओमानमा कार्यरत एक नेपाली बराबर एक ओमानी नागरिक नेपाल भित्र्याउने अभियान सुरु गर्ने तथा नेपाल हाउस स्थापनाका लागि पनि पहल गर्ने उहाँले जानकारी गराउनुभएको चेम्बरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?