भीम रावलको प्रश्न : सभामुखले दिएको निर्देशन पनि नसुन्ने यो सरकारले श्रवणशक्ति गुमाएकै हो ?

Read Time = 3 mins

काठमाडौं । नेकपा (एमाले) का सांसद भीमबहादुर रावलले एसपीपीको सम्बन्धमा अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसदलाई जानकारी दिन सरकारले आनाकानी गरेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकालाई जानकारी नगराइएको बताउनु भयो ।
उहाँले पत्र पठाए, नपठाएको सम्बन्धमा संसदमा जानकारी गराउन सभामुखले गरेको निर्देशन पनि सरकारले नमानेको बताउनु भयो ।
सभामुख र संसदीय समितिको निर्देशन सरकारले नसुनेको भन्दै उहाँले सरकारले श्रवणशक्ति गुमाएको टिप्पणी गर्नुभयो ।

उहाँले सरकारको श्रवणशक्ति गुमेकाले कानको उपचार आवश्यक भएको र जनताले चुनावमा कानको उपचार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो , ‘एसपीपीको सम्बन्धमा सरकारको निर्णयको कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ भनेर सदनलाई जानकारी गराउनको लागि सभामुखले निर्देशन दिनुभएको आज पाँच दिन बित्यो । सरकार कहाँ छ ? यो देशमा छ ? कि कतै छ ? अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय नमान्ने । सभामुखले दिएको निर्देशन पनि नसुन्ने होइन सरकारले कहिलेदेखि कान सुन्नलाई श्रवणशक्ति गुमायो ? भन्ने प्रश्न उठ्छ कि उठ्दैन ? म त्यो रोष्टममा उभिनुको तात्पर्य त अहिले खुल्यो होला नि । एक महिना भयो सरकारले गरेको निर्णय । सभामुखले दिएको निर्देशन पनि नसुन्ने । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको कुरा पनि नसुन्ने । रोष्टमबाट बोल्दा अलिकति सुन्छ कि भनेको, कानको उपचार त राम्ररी गर्नुपर्ने । नेपाली जनताले चुनावमा गर्छन् कि हेरौँ ।’

उहाँले बेलायतमा रहेका भुतपूर्व गोर्खा सैनिकको समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । विगत लामो समयदेखि भुतपूर्व गोर्खा सैनिक भर्ती सन्धी असमान र अपमानजनक रहेको भन्दै खारेजीको मागसहित आन्दोलित भएको भन्दै सो विषय नेपालको स्वाधिनता, स्वाभिमान र हीतसँग गाँसिएको विषय भएको बताउनु भयो । सरोकारवालासँग छलफल गरी समस्या समाधानमा सरकारले पहलकदमी लिनुपर्ने उहाँको भनाई छ ।

सांसद रावलले यस सम्बन्धमा सरकारले हालसम्म गरेका काम, कारबाही संसदलाई जानकारी गराउन पनि माग गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?