पुस्तक : ‘अँगालोभरिको अनुभूति’ माथिको अनुभूति

हिमालय टाइम्स
Read Time = 19 mins

✍️ खेमनाथ दाहाल

साउन २ गते सोमबारको अंकबाट क्रमशः  यसका अतिरिक्त लेखकले यस शीर्षकमा आफ्नो जन्मथलो म्याङ्लुङ बजारमा आफ्नो पारिवारिक अवस्थितिको जानकारी गराउँदै कृष्ण जयन्ती, लाखे नाच, मारुनी नाच, रोपाइँ नाच, फागू पूर्णिमा आदि पर्व र चाडबाडको रोचक पक्षलाई जस्ताको त्यस्तै उतारेर सबैको मन आकृष्ट गर्न सफल भएका छन् ।

यस लेखमा लेखकले आफूले बाल्यकालमा गरेका र भोगेका कर्तुतलाई ‘दिनभर त रमाइलो गरियो तर बुबा शिक्षक भएको कारणले हाम्रो कर्तुत थाहा पाइहाल्नुभएछ । घर पुग्दा बुबा त रिसले आगो हुनुभएको । हामीलाई बाहिर गल्लीमा लगेर सजायस्वरूप ठिँगुर्‍याउनुभयो । हेमन्त त चलाख थियो, बुबाको टाङमुनिबाट भागिहाल्यो तर मचाहिँ घोसे मुन्टो लाएर सजायको प्रतीक्षामा ठिंग उभिइरहेँ । (पृष्ठ ५) भनेर इमानदारीपूर्वक व्यक्त गरेका छन् र आफ्नो लेखलाई यथार्थको कसीमा खरोसँग उतारेका छन् ।

‘म्याङ्लुङ बजारका ती सुनौला दिनहरू’ यो आलेखमा लेखकले एकातिर आफू जन्मिएको सिंहबाहिनी हाईस्कुलमा अध्ययन गर्दाका यावत् अनुभवलाई पाठकसमक्ष पुर्‍याउने चेष्टा गरेका छन् । उनले विभिन्न साथीहरूसँग, दाइहरूसँग बिताएका पलहरूको संस्मरणमा उल्लेख गरेका छन् । अर्कोतर्फ २०२० सालसम्म आइपुग्दा यौटा पहाडी जिल्लाका सदरमुकाम र त्यसमा आएको परिवर्तनका साथसाथै त्यहाँ भइरहेको जनचेतनाको अभिवृद्धि आदि विविध पक्षलाई समेटेर जानकारी दिने यत्न पनि गरेका छन् । पूर्वीय जिल्ला तेह्रथुमको म्याङ्लुङ बजार यसै पनि शिक्षा र चेतनामा अग्रणी मानिन्छ ।

‘बुबाको सपना र मेरो विद्यार्थी राजनीतिमा सक्रियता, काठमाडौंमा ममः, साहित्य र राजनीति’ यी दुई शीर्षकलाई लेखकले पृथक् गरे पनि यिनीहरूको पोयो भने एकै देखिन्छ । वास्तवमा २०२६ सालसम्म आइपुग्दा पनि हाम्रो देशको यातायात र सञ्चार दयनीय नै थियो ।

२०२४ सालमा सिंहबाहिनी स्कुलमा पढ्दा एक समान्य हड्तालको घटनाले त्यहाँको जनजीवनमा चेतनाको स्तर कुन स्तरमा पुगेको रहेछ भन्ने कुरा लेखकको यो भनाइले ‘चौबीस सालको एसएलसी परीक्षामा सिंहबाहिनी हाईस्कुलबाट पूर्वबडाहाकिम देवेन्द्रबहादुर तुम्बाहाम्फेका छोरा वसन्त तुम्बाहाम्फे प्रथम श्रेणीमा एसएलसी पास भएको थियो । अर्को दिन उनी सिंहबाहिनी हाईस्कुलमा दश कक्षालाई पढाउन गएछन् । त्यसको विरोधमा विद्यार्थीहरूले कक्षा बहिष्कार गरे । अर्को दिन बडाहाकिम पेस्तोल बोकेर विद्यार्थीहरूलाई धम्क्याउन आइपुगे । बजारभर तनाव र सनसनी फैलियो । विद्यार्थीहरू संघर्ष गर्न उद्यत देखिए । धरपकडको डरले छात्रावास खाली भयो । यसैबीचमा थुप्रै समस्या बढ्न थाले । हड्तालमा उत्रिए विद्यार्थी । संघर्ष कसरी गर्ने भनेर विद्यार्थी लुकेर भेला गर्न थाले’ प्रष्ट पार्दछ । त्यसकालमा सधैँ पेस्तोल बोकेर हिँड्ने पूर्वबडाहाकिमको विरोध गर्नु सामान्य कुरा थिएन । तथापि चेतनास्तरमा भएको अभिवृद्धिले विद्यार्थीलाई हौसला दियो र अन्ततः सम्झौतामा हड्ताल साम्य भएको कुरा संस्मरणमा उल्लेख गरेर लेखकले त्यसबेलाका ठूलाबडाले देखाउने हैकमवाद र जनतामा आएको प्रतिरोधात्मक चेतनाको एकै पटक उजागर गरेका छन् । यसका अतिरिक्त लेखकले यो लेखमार्फत् ‘माइती घर’ र ‘आमा’ सिनेमाहरू पहिलोपटक टुँडिखेलमा हेरेको, शुक्रबार हप्तामा एकपटक हाट लाग्ने कुरालाई उठान गरेर त्यसकालका पहाडी जिल्लाहरूको अवस्थाको बोध गराएका छन् ।

‘बुबाको सपना र मेरो विद्यार्थी राजनीतिमा सक्रियता, काठमाडौंमा ममः, साहित्य र राजनीति’ यी दुई शीर्षकलाई लेखकले पृथक् गरे पनि यिनीहरूको पोयो भने एकै देखिन्छ । वास्तवमा २०२६ सालसम्म आइपुग्दा पनि हाम्रो देशको यातायात र सञ्चार दयनीय नै थियो । धरान विराटनगरबाट काठमाडौं आइपुग्न तीन दिन र आफूले दिएको परीक्षाका रिजल्ट हेर्नसम्म पनि सात-दश दिन कुर्नुपर्ने अवस्थाबाट गुज्रेकाहरूका लागि नौलो कुरा नभए पनि आजको पुस्ताका लागि यो इतिहास भएको छ । त्यसकालमा राम्रो शिक्षा प्राप्त गर्न काठमाडौं आउनुपर्ने अघोषित बाध्यता थियो । त्यही बाध्यतालाई अनुशरण गर्दै लेखक पनि एसएलसी उत्तीर्ण भएपछि विराटनगर हुँदै गुन्द्रुक, सिन्की, मस्यौरा, घिउ कोसेली बाँड्दै काठमाडौं आएका थिए ।

यो म्याङ्लुङदेखि काठमाडौंसम्मको यात्रा वृतान्त साँच्चै रोचक पारामा लेखकले प्रस्तुत गरेका छन् । कोसेलीको कुरा आफैंमा यथार्थपरक भएकाले कतिपय पाठकलाई आफैंमा भएको घटनाझैँ लाग्न सक्छ । लेखकले काठमाडौं पुगेपछि राजधानी प्रवेश गरेका अधिकांश नवागन्तुक युवाझैँ ममः मा रमेको, पढाइभन्दा साहित्य र राजनीतिमा भुलेर बैरगनियासम्म पुगेको कुरा यी अध्यायमा इमानदारितापूर्वक लेखेका छन् । उनी त्रि-चन्द्र कलेजमा पढ्न थालेसँगै पढाइभन्दा राजनीतितिर आकृष्ट भएको, पढ्दा त्यस कालका धेरै विद्यार्थीलाई आफ्नै इतिहास पढिरहेको आभाष हुनसक्छ । कलेजभित्रको राजनीति त्यसबेलाको ठूलै रोग थियो जसले धेरै मेधावी छात्रछात्रालाई उद्देश्य विमुख बनायो भने थोरैलाई नेता बनायो ।

‘अमेरिकाका ती सुरुवाती दिनहरू’ यो शीर्षकमा लेखकले त्यहाँ सुरुका दिनहरूमा गरेको संघर्षका बारेमा अभिव्यक्त गरेका छन् । प्रवासका यी सुरुवाती दिनलाई म प्रवासको प्रसव वेदना भनेर सम्झन्छु र त्यहीरूपमा अभिव्यक्त गर्दछु र गर्न चाहन्छु पनि ।

विद्यार्थी आन्दोलनका कुरा खोतल्दै उनले लेखेका छन्, ‘म सम्झन्छु २०२८ सालको कुरा । विभिन्न माग राखेर सम्पूर्ण विद्यार्थी वर्ग हड्तालमा उत्रेका थिए । जुलुस निस्क्यो । रत्नपार्क, न्युरोड, कमलाक्षी हुँदै राष्ट्रिय नाचघरअगाडिको चोकमा पुगेपछि पुलिसले लाठीचार्ज गर्न सुरु गरे । भागमभाग भयो । त्रि-चन्द्र कलेजभित्रको कम्पाउन्डमा पुलिस आउन नसक्ने भएकाले त्यहाँ आमसभा गरिने भयो । आमसभा सकिएपछि बाहिर निस्कन पाइएन । पुलिसले कलेज पूरा घेरेर बसेका थिए । जो बाहिर निस्कन्छन्, पक्रिन थालेका थिए । लाठीचार्जमा परेका घाइते विद्यार्थीहरूको मलहमपट्टी गर्न थालियो ।’ (वसन्त पृष्ठ १५)

यी पंक्ति पढ्दै गर्दा आफूले जुद्धसडकमा लाठी खाएको घटनालाई स्मरण भएर डँडाल्नु चसक्क चस्किएको अनुभूत भएको छ म आफैंलाई अहिले ।

वास्तवमा यी आलेख पढ्दै गर्दा बेला-बेला उनले आजसम्म गुम्स्याएर राखेका मनका कुरालाई प्रकट गरेका त होइनन् भन्ने आभाष हुन पनि थाल्न सक्छ पाठकलाई । पढ्दै जाँदा उनका यी दुई मार्मिक वाक्यहरूले कसको मन नदुख्ला ? ‘बुबाले इन्जिनियर बनाउन काठमाडौं पढ्न पठाएको छोराले आइएस्सीको पहिलोपटकको परीक्षा नै दिन सकेन ।’ बुबाको सपना पूरा गर्न नसक्ने भएपछि अन्त्यमा जनप्रशासन कलेजमा भर्ना भएँ, स्नातक बन्न । त्यतिबेला जनप्रशासन क्याम्पसमा लुरुलुरु जानुपर्दा बुबाको सपनाको मलामी गएजस्तो अनुभव भएको थियो मलाई ।’

(ख) अनायास आइलागेको व्यावसायिक जीवन :
बुबा नारायणमान श्रेष्ठ ठेकेदारका रूपमा फिदिममा बसिरहेका बेला लेखक बुबालाई भेट्न गएको र त्यहाँ अनुभूत भएका कुराको सेरोफेरोमा तयार पारिएको छ ‘त्यो बेलाको फिदिमको तस्बिर’ शीर्षकको यो आलेख । यस लेखमा लेखकले त्यो बेलाको फिदिममा आफूले अनुभूत गरेको यथार्थलाई लिपिबद्ध गरेका छन् । यो लेखमा उनले पञ्चायतकालीन नेता पद्मसुन्दर लावतीको दबदबाको वर्णन गरेका छन् भने आङ्देम्बे परिवारको गरिब जनतामाथिको शोषणको परकाष्ठाको दुखदायी पीडालाई जस्ताको त्यस्तै लेख्ने हिम्मत गरेका छन् ।

जब उनी बुबासँग कांग्रेसका पूर्वमन्त्री देवमान आङ्देम्बेलाई भेट्न पुगे, त्यहाँ उनले ऋणको भाका सार्न आग्रह गरिरहेका, थप ऋणको याचना गरिरहेका गरिब, असहाय, भोका र नांगाहरूको जमातलाई देखे । त्यहाँ उनी आङ्दम्बेले ‘व्याज समयमा तिर्न नसक्ने, थप ऋण थाप्न आउनेलाई कडा शब्दमा गालीगलौज गरेको देखे । ऋणको भाका सार्ने र समयमा व्याज नदिनेलाई घर उठीबासको धम्की दिएको देखे । गरिब गाउँले बिचराहरूले हरेक गालीगलौज सहेको देखे ।

यस्तो कुकृत्यको प्रतिवाद र बहस गर्ने सामथ्र्य नभएका ती गरिबलाई त्यसबेला केवल छाक टार्नको समस्या र चिन्तामात्र उनीहरूको मुहारमा देखे । यही कुरालाई वसन्तले बडो मार्मिक पाराले ‘मैले जनताको गरिबी, शोषण र सामन्ती प्रथाको ज्वलन्त उदाहरण देखेर आएँ । दुःख, पीडा र करुण क्रन्दन सुनेर आएँ । शोषकको आक्रोश र तिनले दिने चरम यातना देखेर आएँ । मैले त सिर्फ एक ठाउँमा मात्र देखेर आएँ तर यस्ता गाउँ, शहर र बजारमा अरू कति थिए होलान ?’ (वसन्त ३७)

‘पाँचथर बसाइका केही झझल्काहरू’ यी निम्नलिखित पंक्तिहरू स्वयं यस कृतिका रचनाकार वसन्त श्रेष्ठका भावविभोर उद्गार हुन् ।
‘धेरै पहिल्यै
डाँडापारिको घाम
भइसक्नु भएको मेरो बुबा
अचेल
प्रत्येक पल
प्रत्येक क्षण
मेरो प्रतिच्छायामा भेटिरहन्छु’ (वसन्त श्रेष्ठ)
उनका यी वाचाल उद्गारहरूद्वारा सम्पे्रषित सन्देश बुझेर नारायण सरलाई भावविभोर श्रद्धाञ्जली भन्नुबाहेकको विकल्प रहेन । ‘पाँचथर बसाइका केही झझल्काहरू’ यस आलेखमा बुबा नारायण सरको अवशानपछि विद्यार्थीबाट एकाएका ठेकेदार बन्न पुगेका लेखकले कसरी त्यसबेलाका जिल्ला हाँक्ने महारथीहरू सिडियो, डिएसपी, जिल्ला विकास समितिका सभापतिदेखि लिएर झापाकाण्डका आरोपित वरिष्ठ नेता गोविन्दप्रसाद न्यौपाने र विपरीत ध्रुवका कांग्रेस नेता आङ्देम्बेसम्मको सबैको मन जिते र सबैको सहयोगले आफ्नो काम सफल बनाए भन्ने कुराको जानकारी गराइएको छ । र, त्यसकालका विविध कृत्यहरूलाई झझल्काका रूपमा व्याख्या गरेको छ ।

यस लेखमा लेखकले एकातिर सेतो लुगा लगाएका बेला तत्कालीन बडामहारानी ऐश्वर्य राज्यलक्ष्मीदेवी शाहको फिदिम भ्रमणमा उनी लुक्नुपरेको व्यथालाई व्यक्त गरेका छन् भने अर्कोतर्फ एक प्रकारको कौतुहलता उत्सर्जन गरेका छन् । लेखकले वैचारिक धरातल पृथक् भएका राजनीतिज्ञसँगसँगै आफूलाई छोटे सरकारका रूपमा प्रतिबिम्बित गर्न खोज्ने कर्मचारीसँग गरेको समन्वय बिरलै देख्न वा सुन्न पाइन्थ्यो त्यसकालमा तथापि लेखकले गरे, यो आफैंमा रोमाञ्चकारीमात्र होइन शिक्षाप्रद पनि छ । त्यसैले ‘वैचारिक धरातल भिन्न-भिन्न भए तापनि त्यसमा इमानदारी र विश्वासको संकट आउन दिइएन भने जस्तोसुकै खालका सम्बन्धहरू पनि सुमधुर र दीर्घकालीन बन्न सक्दारहेछन् । यो मेरो निक्र्योल रहृयो फिदिम बसाइको ।’ (वसन्त श्रेष्ठ ४३) भनेर पोखेका उद्गारले पाठकलाई एउटा हौसला प्रदान गरेको छ ।

(ग) प्रवास गमन र भोगाइ :
यो शीर्षकलाई लेखक अमेरिका प्रस्थान गरेदेखि उनी त्यहाँ पुगेर आजउप्रान्त उनले गरेका कृत्यहरू, उनले भोगेका दुःख र वेदनाहरू अथवा अर्को शब्दमा भन्ने हो भने उनका जीवनका आरोह-अवरोहहरूको यावत् वृत्तान्त हो भन्दा अत्युक्ति नहोला ।

‘अमेरिका प्रस्थान’ बहिनी रजनीकी सासू एलेनर र ससुरा विल लेपडको निम्तामा कसरी लेखक नारायण सरको विरासदलाई त्यागेर अमेरिका लागेका थिए भन्ने कुराको संस्मरण उल्लेख छ । नेपालका केही उच्चवर्गका व्यक्तिबाहेक सामान्य नागरिकलाई पासपोर्टसमेत अघोषित प्रतिबन्धझैँ थियो त्यसकालमा । अमेरिकालाई एकप्रकारले स्वप्न संसार ठान्ने अवस्थामा अमेरिका पुग्दा उनी रोमाञ्चित नहुने कुरै भएन । त्यसैले त्यस्तो स्वप्न संसारमा पुग्न पार गर्नुपर्ने कठोर भिसा प्रक्रिया, लामो वायुयानको यात्रामा आइलागेका रोमाञ्चक, विस्मयकारी क्षणका साथसाथै बाटामा भेट भएका सहयोगीको उदारता आदिको न्यायोचित वर्णन गरेको पाइन्छ यो शीर्षकमा लेखकले ।

‘अमेरिकाका ती सुरुवाती दिनहरू’ यो शीर्षकमा लेखकले त्यहाँ सुरुका दिनहरूमा गरेको संघर्षका बारेमा अभिव्यक्त गरेका छन् । प्रवासका यी सुरुवाती दिनलाई म प्रवासको प्रसव वेदना भनेर सम्झन्छु र त्यहीरूपमा अभिव्यक्त गर्दछु र गर्न चाहन्छु पनि । वास्तवमा नेपाली भूमिबाट सिधा अमेरिका पुग्दा कतै सपनामा त छुइनँ भन्ने आभाष धेरैलाई हुनु स्वाभाविकै छ । अमेरिकामा कोलोराडो बोल्डरकी नीलम सदृश सहयोगी र न्युयोर्कका (लेखकले नाम खुलाउन कञ्जुस्याइँ गरेका) भाइ सदृश र धूर्त पनि यथेष्ठ पाइन्छन् भन्ने कुराको राम्रोसँग जानकारी दिने लेखको प्रयास सराहनीय छ । क्रमशः

  • अघिल्लो अंक पढ्न यो सामाग्री क्लिक गर्नुहोला ।

https://ehimalayatimes.com/2022/07/25784/

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?