वाम एकताको चर्चा बाध्यतापूर्ण बार्गेनिङ

हिमालय टाइम्स
Read Time = 6 mins

जब जब निर्वाचन नजिक आउँछ तब तब गठबन्धनका प्रसंगहरू अगाडि सार्ने गरिन्छ । कसको कोसँग गठबन्धन हुने भन्ने कुराचाहिँ फरक हो । हालको सरकार पनि गठबन्धनबाटै बनेको छ । यो गठबन्धनचाहिँ फरक अवस्थामा फरक ढंगबाट बनेको हो । विशेष परिस्थितिमा बनेको यस सरकारमा पाँच पार्टीको गठबन्धन छ । तर, यो गठबन्धनचाहिँ फरक राजनीतिक विचारका बीच भएको हो । यसबाट राजनीतिमा जस्तो पनि सम्भावना हुन्छ भन्ने देखिएको छ । अहिले सरकारका गठबन्धनका यी पार्टीहरूले आगामी संघीय निर्वाचनमा पनि गठबन्धन गरेरै जाने भन्ने गरेका छन् । नेपाली कांग्रेस परिस्थितिले सरकारको नेतृत्व गरिरहेको छ ।

यस पार्टीसँग नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त जनमोर्चा नेपाल हालको सत्ता साझेदार छन् । यस गठबन्धनमा वाम पार्टीहरूकै बाहुल्य छ । २०७४ सालको निर्वाचनमा वाम पार्टीहरू गठबन्धन गरेर निर्वाचनमा गएका थिए । परिणामतः उनीहरूले बहुमत पनि ल्याए तर उनीहरूबीचको एकता लामो समयसम्म रहन सकेन । सिसा फुटे जसरी फुटेर टुक्रा–टुक्रा भएर सडकमा पुगेपछि जसरी भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने अभियानमा उनीहरू सरकारको नेतृत्व नेपाली कांग्रेसलाई दिन तयार भए । त्यसैको परिणाम हो वर्तमान सरकार । तर, अब निर्वाचन नजिकिँदै छ । एक्लाएक्लै निर्वाचनमा जाने हिम्मत कसैको देखिएको छैन ।

त्यसैले सबैको गठबन्धन गरेरै जाने सोच छ तर कस-कसका बीच गठबन्धन गर्दा आफू बढी लाभान्वित हुन सकिन्छ भनेर लाभहानीको गोटी जोडघटाउ गर्ने काम सबै पार्टीहरूले गर्न थालेका छन् । नेपाली कांग्रेस नेतृत्वमा रहेको हुँदा सबैले उसैसँग बार्गेनिङ गर्न सुरु गरेका छन् । वाम पार्टीहरू गठबन्धन गरेर जाने भन्ने हल्ला फैलाएर नेपाली कांग्रेसलाई मनोवैज्ञानिकरूपमा भयभीत बनाउने रणनीति वाम पार्टीहरूको हुन सक्छ । यसो गर्दा नेपाली कांग्रेसले वामहरूको गठबन्धन नबनोस् भनेर आपूmहरूलाई काखी च्यापिरहन्छ भन्ने उनीहरूले ठानेका हुन सक्छन् । यही मनोविज्ञानबाट आफ्नो जनाधार नभएका केही वाम पार्टीहरू गत स्थानीय तहको निर्वाचनमा केही सिट जित्न सफल भए ।

अब यसै गरी संघीय निर्वाचनमा पनि नेपाली कांग्रेसलाई यसरी मनोवैज्ञानिक त्रासमा पार्ने हो भने आफ्ना पोल्टामा केही बढी सिट पार्न सकिन्छ भन्ने तिनलाई लागेको हुँदो हो । त्यसकारण ती वाम एकताको नारा लाउन थालेका छन् । २०७४ सालको निर्वाचनमा पनि वाम एकता भएकै हो तर त्यसबाट देशले के पायो त ? भन्ने हो भने त्यसको सकारात्मक जवाफ दिन जोकोहीलाई पनि निकै गाह्रो हुन सक्छ । बहुमत त तिनले ल्याए तर त्यो मात्र सकारात्मक कुरा होइन । त्यसबाट राष्ट्र लाभान्वित हुन सक्यो कि सकेन त्यो चाहिँ महत्वपूर्ण कुरा हो । बहुमत ल्याएको केही समयपछि नै ती छरिन थाले र हाल छिन्नभिन्न भएका छन् ।

अब कहिल्यै पनि तिनका बीच एकता हुने सम्भावना छैन भन्ने अवस्थामा पुगिसकेका ती वाम पार्टीहरूले एकता गर्ने जुन चर्चा बाहिर आएको छ त्यो कि कुनै आन्तरिक वा बाहृय शक्तिले तिनलाई मिलाउन चाहेको छ भन्ने नै हो कि यो तिनको नेपाली कांग्रेसलाई भयभीत बनाउने चालबाजीमात्र हो भन्न सकिन्छ । एकता वा चुनावी गठबन्धन जो जसका बीच भए पनि त्यो सकारात्मक नै हुन्छ तर त्यसको स्थायित्व र राष्ट्रलाई त्यसले पार्ने दीर्घकालीन सकारात्मक प्रभाव भने अपेक्षित नै रहन्छ । त्यसैले गठबन्धन हुनु मात्र महत्वपूर्ण कुरा होइन, त्यसको सकारात्मक परिणाम राष्ट्रका लागि प्राप्त हुनु आवश्यक हुन्छ । साना र जनाधार नभएका पार्टीहरूले यस्तो प्रचारबाट केही सिट हात पार्ने प्रयास गर्नुलाई राजनीतिमा अन्यथा भन्न मिल्दैन । चुनावी रणनीतिका रूपमा यसलाई स्वाभाविक ठान्नुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?