जिफन्टले २० लाख श्रमिकलाई कोषमा जोड्ने

Read Time = 3 mins

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आगामी चार वर्षभित्रमा २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका, सबै प्रकृतिको ज्याला रोजगारी र स्वरोजगारीमा रहेका गरी २० लाख श्रमिकलाई कोषमा जोड्न सकिने भन्दै जिफन्टले अभियान सञ्चालन गर्ने भएको हो ।

जिफन्टको आठौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको आगामी चार वर्षको कार्यक्रम प्रस्तुत गर्दै नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले स्वास्थ्य बिमाको प्रचार गर्ने, उपचारमा सहयोग गर्ने र प्रिमियम संकलनमा हस्तक्षेप गर्ने योजना पनि रहेको बताउनुभयो । जिफन्टले विभिन्न कलेजका विद्यार्थीलाई होटल, चेन रेस्टुराँ र मार्टमा तालिम (इन्टर्न) का नाममा शुल्क लिएर इन्टर्नसिप गराइने गरेको भन्दै त्यसरी काम गर्नेलाई तलब दिलाउने अभियानसमेत सञ्चालन गर्ने भएको छ । ‘तालिमेलाई तलब’ नामक अभियान सञ्चालन, ज्याला रोजगारीलाई मर्यादित बनाउने, श्रम अडिट कार्यान्वयन गर्न दबाब सिर्जना, पालिकास्तरमा श्रमिक पञ्जीकरण कार्यक्रम सञ्चालन गरिने पनि जिफन्टले जनाएको छ ।

त्यस्तै वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई अन्यायमा पर्न नदिन सीमापारिको समस्या ः संगठन र सफलता नामक कार्यक्रम, युवा र महिलालाई ट्रेड युनियन आन्दोलनमा जोड्ने अभियान पनि सञ्चालन गर्ने घोषणा गरेको छ ।

जिफन्टको आठौँ राष्ट्रिय महाधिवेशनले फेरि पनि श्रेष्ठको अध्यक्षतामा नयाँ राष्ट्रिय कमिटी चयन गरेको छ । उपाध्यक्षहरूमा विदुर कार्की, जनक चौधरी, जितेन्द्र श्रेष्ठ, कमल गौतम, मञ्जु कुमारी थापा मगर र सीता लामा रहनुभएको छ । महासचिवमा लक्ष्मण शर्मा, उपमहासचिवमा नरनाथ लुईंटेल र पदेन उपमहासचिवमा कमला तामाङ, सचिवहरूमा हरिबहादुर कार्की, कृष्णबहादुर केसी, स्मृति लामा, महेन्द्रलाल श्रेष्ठ, बेलीमाया घले, तारानिधि पन्त तथा पदेन सचिवमा विजया खड्का चयन हुनुभएको जिफन्टले जनाएको छ । साउन ७ देखि १० गतेसम्म आयोजित महाधिवेशनमा देशभरका करिब पाँच सय प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?