कांग्रेस रूपान्तरणका प्रयासहरू

Read Time = 18 mins

नेपाली कांग्रेसमा एकताका नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल जस्ता पार्टीका अंगहरू सक्रिय रहने गर्दथे । लोकतन्त्र स्थापनाका लागि यिनै संगठनहरू क्रियाशील हुन्थे । आमनागरिकमा राजनीतिक चेतना भर्ने काम कांग्रेसका यस्तै भ्रातृ संस्थाहरूले गर्दथे । मूलका रूपमा रहेको नेपाली कांग्रेस यस्तै भ्रातृ संस्थाहरूका सक्रियताका कारण बलियो हुने गर्दथ्यो । नेताहरूलाई भ्रातृ संस्थाहरूप्रति दृढ विश्वास थियो भने भ्रातृ संस्थाका नेताहरू कांग्रेसका नेताहरूमाथि अगाधा आस्था राख्दथे । यसैकारण कांग्रेसलाई न पञ्चायतले हल्लाउन सक्यो न राजाले डगमगाउन सके न राजाका हतियारधारी सेना र प्रहरीहरूले नै तर्साउन सके ।

त्यही जगमा उभिएको कांग्रेस माओवादीहरूले जति धम्क्याउँदा पनि डराएन । कांग्रेसका नेता तथा कार्यकर्तालाई माओवादीहरूले गाउँगाउँमा पसेर खोजी खोजी मार्ने, अंगभंग गर्ने र उनीहरूको सम्पत्ति लुटपाट गर्ने गर्दा पनि कांग्रेस सिद्धिएन । अहिले आएर भने कांग्रेसको इतिहासमा धमिरा लाग्दै गएको अनुभूति सर्वत्र गरिएको छ । कांग्रेस आफैं खिइँदै गएको छ । कसैले केही गरेको छैन तर आफ्नै क्रियाकलापले कमजोर बनेको छ । सत्तामा पुगेर सुशासन दिन नसक्दा कांग्रेसप्रतिको जनताको विश्वास घट्दै गएको छ । आफ्नो सिद्धान्त र विचारमा लोकतन्त्रलाई समेटेको नेपालकै अहिलेसम्मको एकमात्र पार्टी भएका कारण यस्तो हुनु राष्ट्र र जनताका लागि किमार्थ हितकर छैन ।

कांग्रेसका भ्रातृ संस्थाहरू शिथिल छन् । कुनै पनि संगठनको महाधिवेशन हुन सकेको छैन । टीका लगाएर र नेताहरूका बीचमा भागबण्डा गरेर भ्रातृ संस्थामध्येका नेवि संघ र नेपाल तरुण दलको केन्द्रीय समिति भर्खरै गठन गरिएको छ । केन्द्रीय समिति नै यस्तो बनाइएको छ कि जसलाई व्यवस्थित गर्न संस्थाका अध्यक्षलाई नै हम्मेहम्मे पर्दछ । केन्द्रीय सदस्यहरूसँग परिचय गरेर अध्यक्षले सबैलाई चिन्न नै छ महिना लाग्न सक्दछ । नेवि संघ र तरुण दलका केन्द्रीय समितिहरूको बैठक गर्नका लागि टुँडीखेल मात्रै उपयुक्त स्थान हुन सक्दछ ।

कांग्रेसलाई बलियो बनाउन र मुलुकमा हुने गरेका भ्रष्टाचारका विरुद्धमा सक्रिय हुन यस्ता समूहहरू सफल होऊन् भन्ने चाहना धेरैको छ, साथसाथै उही कांग्रेसको पुरानो गुट र उपगुटको लडाइँमा सीमित हुने काम नहोस् भन्ने पनि अपेक्षा छ ।

यही अव्यवस्थालाई मध्यनजर गर्दै कांग्रेसमा विभिन्न समूह उदाएका छन् । कुनै रूपान्तरण अभियानका नाममा क्रियाशील भएका छन् भने कुनै टक सेन्टरका नाममा । यस्ता समूहहरूले नेपाली कांग्रेसलाई रूपान्तरित गर्दै सरकारबाट भएका विकृतिका विरुद्धमा आवाज उठाउँदै मुलुकको राजनीतिलाई सही लिकमा हिँडाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्ता समूहहरूका बारेमा विभिन्न प्रश्न उठाउने पनि छन् र तिनलाई समर्थन गरेर हौसला बढाउनेहरू पनि देखिएका छन् ।

कांग्रेसलाई बलियो बनाउन र मुलुकमा हुने गरेका भ्रष्टाचारका विरुद्धमा सक्रिय हुन यस्ता समूहहरू सफल होऊन् भन्ने चाहना धेरैको छ साथसाथै उही कांग्रेसको पुरानो गुट र उपगुटको लडाइँमा सीमित हुने काम नहोस् भन्ने पनि अपेक्षा छ । संस्थापन पक्षलाई कमजोर बनाउने उद्देश्य राखी आफ्नो गुटको सबलीकरणमा मात्र यस्ता समूहहरू क्रियाशील भए भने कसैलाई फाइदा पु¥याउँदैन तर विकृतिका विरुद्धमा लडेर सुशासन कायम गर्न सफल भए भने राम्रै हुने पनि देखिन्छ ।

नेपाली कांग्रेसको संस्थापन पक्ष छँदैछ । केही महिनाअघिदेखि कांग्रेस रूपान्तरणको अभियान बोकेर मधु आचार्य, गुरु घिमिरे, जगदीश नरसिंह केसी, रञ्जित कर्णहरूको टोलीले देश दौडाहा समापन गरिसकेको छ । यो समूहले त जिल्ला–जिल्लाबाट कांग्रेसलाई अग्रगामी बनाउन प्राप्त सुझावहरू संकलन गरी त्यसलाई प्रतिवेदनको रूप दिएर पार्टीको केन्द्रीय कार्यालयमा दर्ता समेत गरिसकेको छ । केहीअघि सम्पन्न कांग्रेसको बैठकमा समेत यसका बारेमा चर्चा चलाइएको थियो । अहिले आएर कांग्रेसलाई मात्र नभई सरकारलाई समेत सुधार्ने भन्दै टक सेन्टरका रूपमा अर्को समूह देखिएको छ र यसले सक्रियता बढाउँदै लगेको छ ।

नेपाली कांग्रेसको संस्थापन पक्ष भनिएकाको मनमा पनि कांग्रेस सबल भइदिए हुन्थ्यो भन्ने पक्कै होला । कमजोर कांग्रेसको शक्तिशाली सभापति हुने रहर निश्चय पनि पार्टी सभापति शेरबहादुर देउवाको छैन नै भन्ने ठान्नुपर्दछ तर क्रियाशीलता, व्यवहार र निर्णय प्रक्रियाले भने त्यसलाई प्रमाणित गर्न नसकेको मात्र हो । कांग्रेस एक्लैले संसद्मा बहुमत ल्याएर सातौं पटकसम्म प्रधानमन्त्री बन्ने इच्छा देउवाको नभएका कारण कांग्रेस यसरी लथालिंग हुँदै गएको हो भनेर आरोप लगाउन मिल्दैन र पनि नेपाली कांग्रेसले केही वर्षयतादेखि गर्दै आएको काम र हुन नचाहेको सक्रियताले संस्थापन पक्षको मनमा भएको कुरालाई कसैले अनुभव गर्न नपाएको हो ।

पार्टी निष्क्रिय भएको मात्र होइन । नेपाली कांग्रेस पार्टी सरकारमा पनि छ । नेपाली कांग्रेस सहभागी सरकारले सदैव राष्ट्रहितका काम र कुरा गरोस् भन्ने चाहना कांग्रेसीहरूमा पलाउनुलाई कसैले अन्यथा भन्न सक्दैन । जनताका काममा सरकारको सक्रियता बढोस् र कांग्रेससहितको सरकारले सुशासन कायम गर्ने पक्षमा अतुलनीय भूमिका खेलोस् भन्ने चाहना पुराना र इमानदार कांग्रेसीहरूले राख्नु स्वाभाविक नै मान्नुपर्दछ । त्यसैकारणले टक सेन्टर र रूपान्तरण अभियानले सक्रियता बढाएका हुन् भन्नेमा कुनै शंका छैन र यसलाई कांग्रेसको संस्थापन पक्षले कसरी लिएको छ र लिनेछ भन्ने हेर्न बाँकी नै छ ।

यता टक सेन्टरका वक्ताहरू भ्रष्टाचारका विरुद्धमा र सुशासनका पक्षमा आगो ओकल्दै थिए तर उता सरकार लुम्बिनी विकास कोष जस्तो अन्तर्राष्ट्रिय महत्व बोकेको पवित्र संस्थामा विभिन्न काण्डमा पटक-पटक मुछिएका व्यक्तिलाई उपाध्यक्षमा नियुक्त गर्दै थियो । प्रधानमन्त्री र संस्कृतिमन्त्री माओवादी पार्टीका भए पनि सरकारको महत्वपूर्ण हिस्सा लिएको नेपाली कांग्रेस पार्टीका केही नेताहरूबाट त प्रतिक्रिया आएको छ तर समग्र पार्टीले के गर्छ र रूपान्तरणका लागि जस्तोसुकै संघर्ष गर्न पछि पर्दैनौं भन्नेहरूले के गर्छन् भनी जनताले हेरेर बसेका छन् । टक सेन्टरलाई पहिलो चुनौती यही नै हुनपुगेको छ ।

रूपान्तरण अभियानकर्ताले आफ्ना सुझाव पार्टीलाई बुझाएको धेरै भइसक्यो र त्यसका बारेमा सञ्चारमाध्यमहरूमा पनि व्यापक चर्चा भइसकेकाले त्यसका बारेमा अहिलेलाई कुरा यत्तिमा थाँती राख्न उपयुक्त होला । टक सेन्टरले भने साना कार्यक्रम पहिला गरेको भए तापनि बृहद् रूपमा साउन २१ गते राष्ट्रिय सभा गृह काठमाडौंमा एक कार्यक्रमको आयोजना ग¥यो । त्यहाँ व्यक्त विचारहरूलाई मनन गर्दा रूपान्तरण अभियानकर्ताका विचारभन्दा भिन्न पाइएन । दुवै समूहको एउटै भावना, विचार र उद्देश्य छ भने किन दुई समूह बनेर हिँड्नु परेको होला भन्ने संशय पैदा भएको छ र सर्वसाधारणलाई आश्चर्य लागेको पनि छ ।

टक सेन्टरमा उठाइएका कुरा सबै सही छन् । स्वागत गर्दै पूर्वमन्त्री भीमसेनदास प्रधानले संविधानमा उल्लिखित संघ, प्रदेश र स्थानीय तहका अधिकार आजसम्म पनि बाँडफाँड हुन नसकेका कुरामा चिन्ता व्यक्त गर्दै समानुपातिक र समावेशीका कुराहरू भाषण र संविधानमा मात्रै सीमित हुनपुगेकोमा गरेको दुःख व्यक्तलाई कसैले नकार्न सक्दैन । चुनावमा जनतालाई मीठामीठा प्रलोभन दिने र आश्वासन बाँड्ने तर चुनाव सकिएपछि सत्ताको लुछाचुँडीमा मात्रै राजनीतिक दलहरू व्यस्त भई जनताका पीरमर्कामा चासै नदिने प्रवृत्तिले जनतामा पैदा भएको नैराश्य हटाउन अब सक्रिय हुनुपर्दछ भन्दै त्यसैका जागरणका लागि टक सेन्टर सक्रिय भएको तर्क प्रधानको थियो ।

नेपाली कांग्रेसलाई अब नयाँ ढंगले सञ्चालन गर्नुपर्दछ भन्दै जननायक बीपी कोइरालाको तस्वीरमात्रै मञ्चमा राखेर अन्य सबैलाई तलै राखिएको थियो । प्रमुख अतिथि भन्नुको सट्टा प्रमुख स्रोता भनेर पूर्वउपप्रधानमन्त्री कृष्ण सिटौलालाई आमन्त्रण गरिएको थियो भने नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री उमाकान्त चौधरीका साथै केन्द्रीय सदस्यहरूको समेत उपस्थिति थियो तर अब जनताले बोल्ने नेताले सुन्ने परिपाटीको विकास गर्नुपर्दछ भन्दै नेतागणहरूले मन्तव्य व्यक्त गर्ने व्यवस्था गरिएको थिएन । यति भन्दाभन्दै पनि कार्यक्रममा जति जनाले बोले ती सबै नेता नै थिए, जनप्रतिनिधि नै थिए ।

रूपान्तरण अभियान र टक सेन्टरको एउटै उद्देश्य हो भने किन दुई वटा छुट्टाछुट्टै समूह बनाएर हिँड्नु परेको ? समग्र कांग्रेसलाई नै सुधार्ने अभियानमा हिँडेको टक सेन्टरको कार्यक्रममा पहिलेदेखि नै सिटौला समूह भनेर चिनिएका नेताहरूलाई मात्रै किन सहभागी गराइएको ?

बागमती प्रदेशसभाका मुख्य सचेतक कुन्दनराज काफ्ले, कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राई र गण्डकी प्रदेशका सांसद एवं कांग्रेसका बाग्लुङ सभापति जीतबहादुर शेरचनले मात्रै मन्तव्य राखेर एक घण्टाको हाराहारीमा कार्यक्रम समापन गरेर नेपाली कांग्रेसको लम्बेतान कार्यक्रम गर्ने परम्परालाई पाठ पढाउने प्रयास गरेको पनि देखियो । कार्यक्रमको स्वरूपमा मात्रै होइन निर्भीक र स्वतन्त्र विचार प्रवाह गरेर कांग्रेस नयाँ बाटोमा जाने प्रयास गर्दैछ भन्ने सन्देश दिन प्रयत्न गरेको आभाष दिनसमेत त्यो कार्यक्रम सफल भएजस्तै लाग्दथ्यो ।

कार्यक्रममा विश्वविद्यालय दलीयकरणबाट मुक्त हुनुपर्ने, भ्रष्टाचारको अन्त्य हुनुपर्ने, संविधानमा उल्लेख भएको निःशुल्क शिक्षा, सर्वसुलभ स्वास्थ्यसेवा, सेटिङमा मात्रै काम हुने प्रचलनको अन्त्य जस्ता कुराहरू उठाइएका थिए । कृषि अनुदान कृषकले नपाएका, बिचौलिया जसले आजसम्म हलो र अनौ चिनेको छैन उसैका हातमा अनुदानका पैसा पुगेको, आयातमुखी अर्थव्यवस्थामा ल्याउनुपर्ने परिवर्तन जस्ता मीठा कुराहरू सुनिएका थिए । सरकार र पार्टीलाई अबका दिनमा टक सेन्टरले यस्तै कार्यक्रमहरू गरी निरन्तर दवाव सिर्जना गरिरहने जस्ता विचार वक्ताहरूका थिए । समग्रमा कार्यक्रम रोचक थियो । रोचकमात्रै किन भनिएको हो भने यसले निरन्तरता पाएर जुनदिन केही मात्रामा भए पनि सफलताका छनकहरू प्रदर्शन गर्न सक्दछ तबमात्रै प्रभावकारी भन्नुपर्दछ ।

यति हुँदाहुँदै केही प्रश्नहरू भने उठेका छन् । रूपान्तरण अभियान र टक सेन्टरको एउटै उद्देश्य हो भने किन दुई वटा छुट्टाछुट्टै समूह बनाएर हिँड्नु परेको ? समग्र कांग्रेसलाई नै सुधार्ने अभियानमा हिँडेको टक सेन्टरको कार्यक्रममा पहिलेदेखि नै सिटौला समूह भनेर चिनिएका नेताहरूलाई मात्रै किन सहभागी गराइएको ? अरू नेताहरूलाई पनि बोलाइएको थियो तर नआएका हुन् कि सिटौला समूहको अस्तित्व र शक्ति प्रदर्शन गर्नका लागि यो अभियान चलाइएको ? यस्ता प्रश्नहरू टक सेण्टरका सामु खडा छन् र समयमा उत्तर आउँदै जाने अनुमान गर्न सकिन्छ । यी प्रश्नहरूभन्दा पहिला समूहको कार्यक्रमको नामकरण किन अंग्रेजीमा गरिएको होला भन्ने लाग्दोरहेछ । टक सेन्टरको सट्टा बहस चौतारी, संवाद केन्द्र, विचार विमर्श जस्ता कुनै नाम जुराएको भए नेपालीपनको महसुस हुनसक्दथ्यो ।

वक्ताहरू सबै प्रदेशसभाका सांसदहरू थिए । सांसदहरूले पहिला संसद्मा प्रभावकारी तबरले कुरा राख्ने, सरकारलाई जिम्मेवार बनाई जनताका समस्यामा केन्द्रित गराउने र पछि बाहिर त्यसको प्रचारप्रसार गर्नुपर्ने हो तर बाहिर बोल्ने संसद्मा कुनै भूमिका नदेखिने भयो भने त्यसको कुनै अर्थ रहँदैन । सभागृहमा बोलेका कुराहरू अब संसद्मा घन्किन्छ कि घन्किन्न भनेर जनताले हेरिरहेका छन् । रूपान्तरण देशलाई पनि चाहिएको छ र कांग्रेसलाई पनि भन्नेमा कुनै दुईमत छैन । टक सेन्टरले एक दिन कार्यक्रम गरेर रूपान्तरण अभियानलाई विसर्जन गर्छ कि यसलाई निरन्तरता दिएर रूपान्तरणको चाहना राख्ने सबैलाई एकताबद्ध बनाएर हिँड्ने प्रयास गर्दछ, त्यो भने हेर्न बाँकी नै छ ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Devi Bhakta Dhakal
Devi Bhakta Dhakal
2023-08-10 8:21 am

काँग्रेसलाई ब्युझाउने प्रयास जारी छ तर त्यसका नेताहरुको सुन्ने कान र हेर्ने आँखाहरु नै बन्द भएको धेरै भैसक्यो।लेखले ब्युझाउने काम गरोस् हाम्रो शुभकामना ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?