एसपीपीको विषयमा सुनेका भरमा छलफल नचलाउन अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा आग्रह

फाईल तस्बिर

Read Time = 5 mins

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले एसपीपीको विषयमा सुनेको भरमा संसदीय समितिमा छलफल गर्नु नहुने बताउनुभएको छ ।

बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद सिंहले अनाधिकृत कागजातको विषयलाई लिएर एसपीपीको सम्बन्धमा समितिमा छलफल गर्नु नहुने धारणा राख्नुभएको हो ।

उहाँले प्रधानसेनापति र परराष्ट्र मन्त्रीले नेपाल कुनै सैन्य गठबन्धनमा सहभागि नहुने स्पष्ट पारिसकेको भन्दै सुनेको कुराको आधारमा सो विषयमा छलफल आवश्यक नरहेको बताउनु भयो । आधिकारिक कागजात अध्ययन गरेर मात्रै समितिले एसपीपीमा सरकारको भुमिकाको बारेमा धारणा बनाउनु उपयुक्त हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘प्रधानसेनापति यहीँ समितिमै आएर बोलेर जानुभएको हाम्रो मस्तिष्कमा ताजै छ । कुनैपनि सैन्य गठबन्धनमा सहभागि हुने कुरा छैन भनेर उहाँले भन्नुभएको हो । परराष्ट्र मन्त्रीले पनि समितिमा आएर आफ्नो कुराहरु राख्नुभएको । त्यसकारणले गर्दा सुनेको भरमा, रे को भरमा कुनै आधिकारिक नभएको डकुमेण्टको विषयलाई लिएर हामीले धरै समय छलफल गर्नु राम्रो हुँदैन । आधिकारिक डकुमेन्ट फेरि मागौँ । हेरौँ । सत्य, तथ्य जे छ डकुमेण्टको आधारमा समग्र समितिको एसपीपीको बारेमा र अन्य उठेको मुद्दाहरुको बारेमा हाम्रो धारणा बनाउनु राम्रो हुन्छ भन्ने लागेको छ ।’

उहाँले सबै दलहरुले राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर संविधानको मर्मलाई अक्षरश पालना गर्नेगरी गतिविधि अगाडी बढाउनुपर्ने बताउनु भयो ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले एसपीपीमा नेपाल सामेल नहुने पत्र अमेरिकालाई नपठाउनुले अँध्यारो कुनामा खिचडी पाक्दै छ कि भन्ने शंका उत्पन्न भएको बताउनु भयो । उहाँले सरकारले आफ्नो परराष्ट्र नीतिलाई दह्रोगरी पक्रिन नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो,  ‘ढिलो गर्नुको कारण कतै कुनै अँध्यारो कुनामा फेरि खिचडी पाक्दै छ कि ? भन्ने शंका त नेपाली जनतालाई सधैँ भइ नै रहन्छ । छिटोभन्दा छिटो हामीले मागेको डकुमेण्ट आउनुपर्छ । सेनापतिको भ्रमण सार्वभौम संसदलाई जानकारी हुनुपर्छ । परराष्ट्र नीति सम्बन्धी नेपाल सरकारले दह्रोसँगले आफ्नो नीति नपक्रेको अहिले पनि अनुभव हामीलाई सधै भइराखेको छ ।’

जनता समाजवादी पार्टी नेपालकि सांसद रेनुका गुरुङले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव पुनः अगाडी बढाउनुपर्ने बताउनु भयो । उहाँले विश्व द्वन्द्वमा फसिसकेको भन्दै नेपाललाई शान्ति क्षेत्र बनाउनु अपरिहार्य भइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी नेपाललाई शान्ति क्षेत्र प्रश्ताव अगाडी बढाउन चाहन्छौँ । इण्डियाले अहिलेसम्म नेपाल शान्ति क्षेत्रको प्रश्तावलाई हस्ताक्षर गरेको छैन । त्यही भएर पनि हामीलाई शंका त लाग्छ नि । हामीले नेपाललाई शान्ति क्षेत्रको प्रश्ताव अगाडी बढाउनुपर्छ । अपरिहार्य भएको छ । विश्व द्वन्द्वमा फसिसक्यो । फेरी प्रश्ताव अगाडी बढाऔँ । नेपालले कुनैपनि सैन्य गठबन्धनबाट अलग रहन र आफ्नो देशको परराष्ट्र नीति बमोजिम असंलग्न नीतिलाई पनि जोड दिनुपर्छ ।’

उहाँले नेपाल सैन्य गठबन्धनबाट अलग हुनुपर्ने र असंलग्न परराष्ट्र नीतिलाई जोड दिनुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?