परम्परा र आधुनिकता संयोजन गरी मौलिक कला रचना गर्ने मदन चित्रकार

हिमालय टाइम्स
Read Time = 12 mins
A A- A+

-ज्ञानेन्द्र विवश

काठमाडौं । नेपाली चित्रकला, कला लेखन र कला प्राध्यापनमा एक सुपरिचित सुनाम मदन चित्रकार। लामो समय सरकारी सेवामा रही सेवा निवृत्तपश्चात कलामै उहाँ समर्पित हुनुहुन्छ। अहिले नेपाली संस्कृतिका विविध दर्शन, मिथक, पात्र तथा पौराणिक मान्यताहरूलाई परम्परा र आधुनिकतासँग संयोजन गरी आफ्नै किसिमको मौलिक कलारचनामा उहाँ संलग्न हुनुहुन्छ। उहाँको यो सिर्जना र साधना नेपाली कलाका लागि एक अलग सिर्जनात्मक उपलब्धि र उपस्थिति पनि हो।

काठमाडौंको तँलाछी टोलमा २००३ सालमा कलाकार एवम् कलालेखक मदन चित्रकारको जन्म भएको हो। उहाँ नेपाली कलाक्षेत्रका मूर्धन्य कलाकार मास्टर तेजबहादुर चित्रकार र मनकेशरी चित्रकारका सुपुत्र हुनुहुन्छ। उहाँ निकै लामो समयदेखि अनवरत सिर्जना र लेखनक्षेत्रमा क्रियाशील रहँदै आइरहनुभएको छ। उहाँका अनुसार उहाँले प्रारम्भिक कला शिक्षा जुद्धकला पाठशाला (वर्तमान ललितकला क्याम्पस) बाट लिनुभयो। एसएलसीपश्चात् आफूले विज्ञान विषय पढे तापनि त्यसलाई निरन्तरता दिन नसकेको बताउँदै अन्ततः कलाकारको प्रारब्ध लिएर आएकाले होला सायद कलाकार नै बन्न पुगेको अनुभव उहाँ सुनाउनुहुन्छ।

उहाँ अगाडि भन्नुहुन्छ- ‘सानैदेखि मलाई चित्र बनाउन मन पर्थ्यो। सेतो कागजको टुक्रा भेट्दा तत्काल चित्र बनाइहाल्थेँ। मेरा बुबा आफू स्वयम् कलाकार हुनुभए तापनि उहाँले मलाई चित्रकार बन्न प्रोत्साहित गर्नुभएको मलाई सम्झना छैन। बरु म आफूले बनाएका चित्रहरू कलाकार दिलबहादुर चित्रकारलाई देखाउँथेँ। उहाँले मलाई सिकाउनुहुन्थ्यो। कलाकार नै बन्छु भन्ने कुनै आकाङ्क्षा थिएन। संयोगवश २०१९ सालमा भारत सरकारको छात्रवृत्तिमा मुम्बईको सर जे. जे. स्कुल अफ आर्ट्स पढ्न जाने अवसर मिल्यो। त्यहाँ मैले ‘अप्लाइड आर्ट्स’ अध्ययन गरेको थिएँ। त्यो बेला यो विषय सर्वथा नौलो थियो।’

२०२४ सालमा उहाँ अध्ययन सकी स्वदेश फर्किनुभयो। ‘एप्लाइड आर्ट्स’ विषयको औपचारिक शिक्षा हासिल गरेका नेपाली कलाकारमा सम्भवतः मदन चित्रकार नै पहिलो हुनुहुन्छ। भारतबाट पढेर फर्किएपछि जनक शिक्षा सामग्री केन्द्र, पर्यटन विभाग आदि ठाउँमा उहाँले जागिर खानुभयो। पर्यटन विभागमा रहँदा आफूले व्यावसायिक कलाका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरका नेपाली प्रचार सामग्रीहरू बनाएको उहाँ बताउनुहुन्छ।

२०२७ साल ताका कलाकार मदन चित्रकारले जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित विद्यालय स्तरका पाठ्यपुस्तकका लागि प्रशस्त ‘इलस्ट्रेसन’ बनाउनुभयो। नेपाली पाठ्यपुस्तकमा कार्टुन शैलीमा ‘इलस्ट्रेसन’ को थालनी गर्ने श्रेय उहाँलाई नै जान्छ। यसबाट आफूलाई औधी सन्तुष्टि मिलेको उहाँ सहर्ष बताउनुहुन्छ। उहाँका अनुसार नेपालमा ‘नयाँ शिक्षा योजना, २०२८’ लागु भएपछि विकास गरिएका तत्कालीन पाठयपुस्तकहरू नेपालको शैक्षिक प्रकाशनका इतिहासमा ‘ब्रेकथ्रु’ नै थियो।

कलाकार मदन चित्रकारले पेन-एन्ड-इन्क, जलरङ, तेलरङ र एक्रेलिक सबै माध्यममा काम गर्नुहुन्छ। प्रारम्भका केही वर्ष उहाँले जलरङ माध्यममा काम गर्नुभएको थियो। त्यस ताका उहाँले काठमाडौं उपत्यकाका ग्रामीण परिवेश, सहर, बजार, गल्ली, मन्दिर आदिका स्थलगत रूपमा जलरङबाट बनाउनुभएका यथार्थपरक चित्ररचनाहरू एकदमै उच्च कोटीका छन्। समयको प्रवाहसँगै उहाँका चित्ररचना शैलीले परिवर्तित रूप लिँदै गयो।

केही समय यतादेखि समसामयिक राजनीतिक तथा सामाजिक प्रकरण एवम् आध्यात्मिक र सांस्कृतिक परम्परालाई सांकेतिक विम्बद्वारा सरलीकृत तर सशक्त ढंगबाट संयोजन गर्दै आउनुभएको छ। प्रायः ज्यामितीय आकारमा आकृतिबद्ध गरिएका उहाँका यी चित्ररचनामा संयोजनकै अंगका रूपमा कतै कतै धर्म र दर्शनका श्लोक तथा मन्त्रलाई पनि लिपिबद्ध गरिएका हुन्छन्। उहाँका कलामा सांस्कृतिक ध्वजापताका, अष्टमङ्गल चिह्न आदिलाई माधुर्यपूर्ण रङविन्याससहित संयोजन गरिएका हुन्छन्। आफ्नो यो कला प्रवृत्तिलाई उहाँ परम्परागत नेपाली कलाशैलीलाई परिवर्तित एवम् परिमार्जित रूप दिने प्रयास रहेको बताउनुहुन्छ।

कलाकार मदन चित्रकारको पहिलो एकल कलाप्रदर्शनी २०३४ सालमा नेपाल भारत सांस्कृतिक केन्द्रमा भएको थियो। सो प्रदर्शनीमा जलरङमा रचित उपत्यकाका गल्ली, बस्ती, मन्दिर, तथा ग्रामीण क्षेत्रका भू-दृश्यका चित्ररचनाहरू राखिएका थिए। दर्शकहरूको प्रतिक्रिया एवम् बिक्रीका दृष्टिले उक्त प्रदर्शनी निकै सफल रहेको उहाँ सम्झनुहुन्छ।

२०५६ सालमा उहाँले ‘भानिसिङ हेरिटेज’ शीर्षकमा जे. आर्ट ग्यालरीमा‘‘ड्रइङ’ हरूको प्रदर्शनी गर्नुभएको थियो। २०५७ सालमा ‘नेपाल भ्रमण वर्ष’ का अवसरमा नेपाल पर्यटन विकास बोर्डले ‘भिजिट नेपाल आर्ट सो-१९९९’ शीर्षकमा उहाँका दृश्यचित्रहरूको प्रदर्शनीको आयोजना गरेको थियो। ‘नेपाल भ्रमण वर्ष’ का लागि उहाँले डिजाइन गर्नुभएको लोगो अद्यापि चर्चित रहेको छ। २०६४ सालमा नेपाल आर्ट काउन्सिलमा उहाँले ‘सिम्फोनी अफ कलर्स’ शीर्षकमा आधुनिक शैलीमा रचित जलरङ्गी चित्ररचनाहरूलाई सार्वजनिक गर्नुभएको थियो। सोही साल सिद्धार्थ आर्ट ग्यालरीमा ‘दि अनटोल्ड’ अर्थात् ‘अव्यक्त’ शीर्षकमा एकल कलाप्रदर्शनी भएको थियो।

कलाकार मदन चित्रकार २०४२ सालमा स्थापित नेपाल कलाकार समाजको संस्थापक सदस्यमध्ये एक हुनुहुन्छ। २०४७-०५१ सम्म उहाँले सो संस्थाका अध्यक्षको कार्यभार पनि सम्हाल्नुभएको थियो। लामो समयसम्म निजामती सेवामा रही २०५६ सालमा उहाँले स्वैच्छिक अवकाश लिनुभयो। सेवा निवृत्तपछि कला सिर्जना र अध्यापनमा उहाँ सक्रिय रहँदै आउनुभएको छ। उहाँले काठमाडौँ विश्वविद्यालयअन्तर्गत सेन्टर फर आर्ट एन्ड डिजाइन, ललितकला क्याम्पस तथा सिर्जना कलेज अफ फाइन आर्ट्समा कला अध्यापन गर्नुभयो। २०७५ सालदेखि उहाँ सिर्जना कलेज अफ फाइन आर्ट्समा प्रिन्सिपलका रूपमा कार्यरत रही २०७८ सालदेखि त्यहाँबाट पनि अवकाश लिनुभएको छ।

कलाकार मदन चित्रकार ‘सुप्रबल गोरखा दक्षिणबाहु तेस्रो’ तथा ‘ललितकला लेखन पुरस्कार’ का साथै गत हप्तामात्रै नेपाल व्यावसायिक कलाकार संघबाट सम्मानित हुनुभएको छ। यद्यपि उहाँको सिर्जनशील योगदानको सही मूल्याङ्कन गरी उहाँलाई अद्यापि खासै सम्मान गरिएको छैन।

कला र कलाकारबारे आफ्ना धारणा राख्दै उहाँ भन्नुहुन्छ– ‘मेरो विचारमा एक सिर्जनशील कलाकार सधैँभरि एउटै विषयवस्तु र शैलीमा स्थिर रहनु हुँदैन। समयअनुरूप उसका सिर्जनाहरू पनि गतिशील र परिवर्तन भइरहनुपर्छ। सिर्जनालाई साँघुरो परिधिभित्र बाँधेर हेरिनुहुन्न। निःसन्देह पहिलेको अपेक्षा अहिले नेपाली कलाजगत्मा निकै चहलपहल बढेको छ। सिर्जनशील एवम् प्रतिभाशाली कलाकारहरू देखापरिरहेका छन्। तथापि कतिपय ‘नक्कली मयुरहरू’ पनि नभएका होइनन्। हाम्रा कतिपय कलाकारमा उत्कृष्ट सिर्जनाद्वारा ख्याति कमाउनुभन्दा मिडियामार्फत आफूलाई ‘हाइप’ गर्नेरगराउने प्रवृत्ति पाइन्छ। ‘एक्सपेरिमेन्ट’ का नाममा नानाभाँती कलाकृतिलाई प्रदर्शन गर्ने होडबाजी हुन थालेको छ। कलाकार आफू स्वयम् पनि अलमलिँदै दर्शकलाई समेत अन्योलमा पार्नु कुनै दृष्टिले पनि स्वस्थकर कुरा होइन भन्ने मेरो दृढ धारणा रहिआएको छ।’

कलाकार मदन चित्रकार विभिन्न पत्रपत्रिका तथा प्रकाशनहरूमा प्रायः अङ्ग्रेजी भाषामा कला सम्बन्धी विचारोत्तेजक लेखरचनाहरू लेखिरहनुहुन्छ। ‘तेजबहादुर चित्रकारः आइकोन अफ ट्रान्जिसन’, ‘नेपाली आर्टस्इस्युज मिसिलानी’, ‘नेपाली पेन्टिङ : थ्रु दि एजेज’ तथा ‘नेपाली आर्ट ः थट्स् एन्ड म्युजिङ्स’ शीर्षकका अत्यन्त गहकिला उहाँका पुस्तकहरू प्रकाशित छन्। त्यसो त उहाँको पछिल्लो यो कलापुस्तक ‘नेपाली आर्टस्थट्स एन्ड म्युजिङ्स’ आफैँमा एक प्रशंसनीय काम र कला इतिहास पनि हो। यसका साथै यो पुस्तक अनुसन्धानात्मक कला लेखनको दस्तावेजसमेत हो। जुन पुस्तकको चर्चा नेपाली कलाक्षेत्रमा नहुनु दु्र्भाग्य नै हो। दुर्लभ रङ्गीन चित्र तथा मूर्तिकलाहरूले सजिएको यस पुस्तकले नेपाली कला र पुर्खा कलाकारहरूको अभिलेखनमा गहकिलो योगदान दिएको छ।

 

  • श्रोत : आइएनएस-स्वतन्त्र समाचार

 

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?