चट्ट रातो सारीमा भावना

Read Time = 4 mins

काठमाडौं । बाहिर घरी पानी पर्ने घरी रोकिने भइरहेको थियो । कलंकीको खाँडादेवी फुडल्याण्डमा रातो सारीमा सजिएर गायिका भावना आचार्य यताउता गरिरहनुभएको थियो । परपट्टि मुकेश हुमागाईंको ध्यान क्यामेरामा थियो । निर्देशक गम्भीर विष्ट भने स्क्रिनमा हेर्दै निर्देशकीय पाटोमै व्यस्त हुनुहुन्थ्यो ।

गायिका भावना आचार्यको गतसाता ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको तीज गीतको छायांकन भइरहेको समयमा हाम्रो टिम उक्त स्थानमा पुगेको थियो । हामी पुग्दा कलाकारहरू आफूलाई दिएको भूमिकामा अभ्यासमै व्यस्त देखिनुहुन्थ्यो भने कोरसहरू तितरबितर थिए । कोरसहरूलाई कोरियोग्राफरले सम्हालिरहनुभएको थियो ।
गायिका भावनाले हाम्रो टिमलाई देख्नेबित्तिकै न्यानो स्वागत गर्नुभयो र हाम्रो टिमलाई चिनाउनुभयो । चट्ट रातो सारीमा सजिनुभएकी गायिका भावना आफैँले गीतमा लगानी गरेकाले थोरै दौडधुपमा हुनुहुन्थ्यो । सुटिङमा आवश्यक पर्ने सानातिना कुराहरू आफैँले मिलाइरहनुभएको थियो । हामीले रातो सारीमा देखेपछि प्रश्न गर्‍यौं, ‘तपाइँ पनि भिडियोमा नाँच्दै हुनुहुन्छ ?’, गायिका भावनाले आफू पनि आफ्नो गीतमा नाँचिरहेको बताउनुभयो, ‘हो मेरो गीतमा म प्रायः आफैंले अभिनय गरेकी हुन्छु । अहिले त झन् तीज गीतको त्यसैले आफैं नाँचेकी छु ।’ गायिका भावनालाई नृत्यमा मोडल मनिता कुलालले साथ दिनुभएको थियो । भिडियोमा भावना र मनिताको जोडीको रूपमा अशोक धिताल र दिलीप ओखेडाले पनि नृत्य गरिरहनुभएको थियो । गीतमा भावनाकै शब्द तथा संगीत रहेको छ भने कोरस स्वर चेतना विकेको छ ।

‘दिदीबहिनीका, माइती तिरका, चुरा सारीका कुरा तीज गीतमा आउनुपर्छ भन्ने लाग्छ ।’

भिडियोमा कविता तोलंगीको मेकअप रहेको छ । भिडियो नवीन निरौलाले सम्पादन गर्नुभएको हो । उक्त गीत तीन दिनअघि सार्वजनिक भइसकेको छ । भावनाको आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा आइरहेको प्रतिक्रियाबाट आफू खुशी भएको बताउनुभएको छ । उहाँले भन्नु हुन्छ, ‘जतिले हेर्नुभएको छ त्यतिले राम्रो प्रतिक्रिया दिनुभएको छ । त्यसैमा खुशी लाग्छ ।’ उहाँले आफूले मौलिक गीतमा ध्यान दिएको र तीज भन्ने बित्तिकै मौलिकता झल्किनुपर्नेमा उहाँको जोड छ ।

‘तीज गीत भन्ने तर अश्लीलता भरिएको पनि देख्छौं तर मलाई तीजपर्व भन्ने बित्तिकै मौलिकता झल्किनुपर्छ भन्ने लाग्छ । दिदीबहिनीका, माइती तिरका, चुरा सारीका कुरा तीज गीतमा आउनुपर्छ भन्ने लाग्छ’, भावनाले हिमालय टाइम्ससँग भन्नुभयो । ‘म मौलिकता भन्दा पर गएको छु जस्तो लाग्दैन । एकपटक सबैलाई हेर्न अनुरोध गर्छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?