-रामचन्द्र रायमाझी
पाल्पा । त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरेको स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा दिन गुल्मीकी जानुका पराजुली गत जेठ २४ गते त्रिभुवन बहुमुखी क्याम्पस तानसेन परीक्षा केन्द्र पुग्नुभयो । विहान १२ बजेदेखि सञ्चालन हुने परीक्षा दिन ११ : ३० बजे नै केन्द्रमा पुग्नुभएको पराजुली त्यहाँ परीक्षा दिने कोही पनि नदेखेपछि आफु सबै भन्दा छिटो आएको भन्दै क्याम्पस नजिकैको प्रतिक्षालयमा गएर बस्नुभयो । समय वित्दै गयो परीक्षा दिने १/२ जना साथी बाहेक अरुलाई उहाँले देख्नुभएन ।
परीक्षा दिन पुगेका अन्य दुई जना साथी आफ्नो परीक्षा दिने कोठा कहाँ परेको छ भनि हेर्न सूचना पाटीमा पुगे । पराजुली पनि परीक्षाको सिट प्लानको सूचना राख्ने ठाउँमा गएर हेर्नुभयो । तर उहाँले त्यहाँ परीक्षाको लागि कुनै पनि सूचना टाँस गरेको देख्नुभएन र हतार हतार गर्दै क्याम्पस प्रशासन पुग्नुभयो । क्याम्पस प्रशासनले स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा केन्द्र बुटवल परेको जानकारी गरायो । परीक्षा समयमा बुटवल पुग्न उहाँलाई सम्भव थिएन । १२ बज्नै लागेको थियो । पराजुली क्याम्पस प्रशासनले दुई/तीन दिन अगाडि जानकारी गराउनुपर्ने भन्दै मलिन अनुहारमा कोठामा फर्किनुभयो । उहाँको जेठ २४ परेको फाउण्डेसन अफ एजुकेशन (५१२) विषयको मात्र परीक्षा दिन बाँकी थियो । तर उहाँले त्यहि परीक्षा पनि दिनबाट बञ्चित हुनु प-यो ।
पराजुली त्रिभूवन बहुमुखी क्याम्पस कै विद्यार्थी हुनुहुन्छ । आफु गाउँमा भएको र कही कतैबाट पनि केन्द्र बुटवल परेको भन्ने जानकारी थाहा नपाएको पीडित पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामै त्रिविले खेलवाड गरेको छ, हरेक वर्ष पाल्पामै हुँदै आएको परीक्षा एकाएक बुटवल राख्नु दुखद् हो ।’
उहाँ मात्र होइन उक्त केन्द्रमा परीक्षा दिन पुगेका विद्यार्थी सबै त्यस दिनको परीक्षा दिनबाट बञ्चित भए । साउन २ गतेदेखि सञ्चालन भएको स्नातक तहको दोस्रो वर्षको पहिलो दिनको परीक्षा दिन त्रिभुवन बहुमुखी क्याम्पस पुगेका रैनादेवी छहरा गाउँपालिकाका यम कार्की पनि केन्द्र बुटवल परेकै कारण परीक्षा दिनबाट बञ्चित हुनुभयो । उहाँ पनि हरेक वर्षका परीक्षाहरु सोही क्याम्पसमै हुने भएपछि परीक्षा दिन त्यही पुग्नुभएको थियो । तर त्रिविले परीक्षा केन्द्र बुटवल तय गरिदिएपछि समयमै परीक्षा केन्द्र पुग्न नसक्दा उहाँ पनि परीक्षा दिनबाट बञ्चित हुनुभयो ।
अहिलेसम्म सबै तहका परीक्षाहरु त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमै हुँदै आएका कारण पनि बुटवल केन्द्र तोकिँदा धेरै विद्यार्थीहरु सूचना नपाएकै कारण परीक्षा दिनबाट बञ्चित हुनुप-यो । त्रिविले संघीयताको मर्म विपरित पाल्पा सहित गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी जिल्लाको परीक्षा केन्द्र बुटवलमा तोकिदिएको छ ।
त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गर्दै तीनवर्षे स्नातक तह विएड द्धितीय वर्ष र स्नातकोत्तर प्रथम वर्षको आंशिक परीक्षा दिने विद्यार्थीहरुको केन्द्र बुटवलमा तोकेको हो । यस अघि पाल्पा लगायतका सम्बन्धित जिल्लामा हुँदै आएको परीक्षा बुटवल तोकिदा विद्यार्थीहरु भने मारमा परेका छन् । एकातर्फ वर्षातको समयमा बुटवल जान आउन बाटोको समेत समस्या हुन्छ भने अर्कोतर्फ आफ्नो जिल्ला भन्दा बाहीर परीक्षा केन्द्र हुँदा विद्यार्थीको खर्च समेत बढाउने गरेको छ ।
बुटवल परीक्षा केन्द्र राख्ने निर्णयले विद्यार्थीहरुलाई थप समस्यामा पारेको त्रिभूवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो ‘त्रिविले केन्द्र बुटवल राख्ने निर्णय गरेपछि हामीहरुले विद्यार्थीहरुलाई बर्खाको समयमा बुटवल आउजाउ गर्न समस्या हुने भएकाले पाल्पामै राख्न आग्रह गरेका थियौ, तर केन्द्रले विद्यार्थी संख्य कम रहेकाले अहिलेलाई बुटवल राख्ने र आगामी वर्षदेखि काठमाडौंमा गर्ने बताएको छ ।’
संघीयताको मर्म विपरित गरिएको निर्णयले विद्यार्थीहरु मारमा पर्ने जिल्लाका सरोकारवालाहरु बताउँछन् । उनीहरुले विश्वविद्यालयले तत्काल निर्णय सच्चाएर जिल्ला स्तरमै केन्द्र तोकिनु पर्ने बताउँदै आएका छन् । विगतबाट नै विभिन्न लापरवाही र खेलवाडको केन्द्र बन्दै आएको त्रिभुवन विश्वविद्यालय आफ्ना कर्तुतहरू मार्फत् चर्चामा रहन्छ । यसपटक पनि परीक्षा केन्द्र निर्धारणदेखि प्रश्नपत्रमा समेत खेलवाड गर्दैै त्रिविले नालायकीपन देखाएको छ । उसको कार्यशैलीबाट विद्यार्थीहरू आहत छन्, त्यो भन्दा पनि महत्वपूर्ण कुरा प्रश्नपत्र काण्डले त्रिभुवन विश्वविद्यालयले आफ्नो शाख पनि गिराएको छ । त्रिविले पटक–पटक विद्यार्थीहरुको भविष्य माथि नै गम्भीर खेलवाड गर्दै गएपछि विद्यार्थी संगठनहरुले समेत अन्दोलन गर्दै आएका छन् ।
त्रिविले पटक पटक प्रश्नपत्र दोहो-याएर, प्रश्नपत्र एउटा विषयको हुनुपर्नेमा अर्कै विषयको तथा अर्कै सत्रको प्रश्नपत्र उपलब्ध गराएर विद्यार्थीको भविष्य माथि खेलवाड गर्दै आएको छ ।
यही जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’को प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । यसै गरी जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र पनि अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । नेपालको सबैभन्दा पुरानो त्रिविजस्तो विश्वविद्यालयले यस किसिमको घटना बारम्बार दोहो-याइ रहँदा त्रिविकै प्रतिष्ठामाथिको विश्वास घट्दै गएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच