नेपाल फाइनल नजिक

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । साफ यु-२० फुटबल च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलअन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको छ । नेपालको यो लगातार दोस्रो जित हो । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको खेलमा नेपालका लागि कप्तान आयुष घलान, कृतिशरत्न छुन्जु र मनग्य नकर्मीले एक-एक गोल गर्नुभयो । पहिलो हाफमा कुनै गोल नभए पनि दोस्रो हाफमा नेपालले तीनवटै गोल गर्‍यो । ५९औँ मिनेटमा कप्तान आयुषले नेपाललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो ।

लगत्तै नेपालका लागि कृतिशले दोस्रो गोल गर्नुभयो । आयुषले पेनाल्टी क्षेत्रभित्रबाट दिएको पासमा उहाँले गोल गर्नुभएको थियो । खेलको ८४औँ मिनेटमा नेपालले ३-० को अग्रता लियो । सुगम सुवालको पासमा मनग्यले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्नुभएको थियो । योसँगै नेपालले जारी प्रतियोगितामा शतप्रतिशत जित निकालेको हो ।

खेलपछि बोल्दै टोलीका सहायक प्रशिक्षक बालगोपाल साहुखलले लगातार जितबाट टोलीको आत्मविश्वास बढेको प्रतिक्रिया दिनुभयो । ‘हामी धेरै खुसी छौँ । दोस्रो जित दर्ता गरेका छौँ । खेलाडीमा आत्मविश्वास पनि बढेको छ । खेलको सुरुवात निकै कठिन थियो । श्रीलंकाले आफ्नो टोलीलाई टाइट बनाएर खेल्यो । हामीले केही सुस्त बिल्डअप गरेका थियौँ,’ साहुखलले भन्नुभयो, ‘दोस्रो हाफमा हामीले आफ्नो गति समात्यौँ । गोल गर्न थालेपछि अन्त्यतिर त खेल हाम्रै पकडमा थियो । त्यसैले खुसी छौँ ।’

साहुखलले नेपालले दोस्रो हाफमा धेरै गोल गरे पनि विपक्षीलाई सुरुवातदेखि आक्रमण गर्ने नेपालको रणनीति रहेको बताउनुभयो । नेपाल गोल नखाने एकमात्र टोली हो । साहुखलले उत्कृष्ट डिफेन्सका कारण यो सम्भव भएको बताउनुभयो । नेपाल अंक तालिकाको शीर्षस्थानमा रहे पनि अहिले नै फाइनलबारे सोच्न नहुने प्रशिक्षक साहुखलले बताउनुभयो । नेपालले अझै दुई खेल खेल्न बाँकी रहेको बताउँदै उहाँले अझै जित हासिल गर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।

यस्तै अर्को खेलमा साबिक विजेता भारतले बंगलादेशसँग दुई-एक गोलअन्तरले पराजय भोगेको छ । बंगलादेशको यो लगातार दोस्रो जित हो । बंगलादेशको जितमा मोहम्मद अहमत नोभाले दुई गोल गर्नुभएको थियो । भारतका लागि हिमांशु झांग्राले एक गोल गर्नुभयो ।

नेपालको दुई खेलबाट ६ अंक छ । दोस्रो स्थानको बंगलादेशको पनि ६ अंक रहेको छ । गोलअन्तरमा नेपालले बंगलादेशलाई पछि पारेको हो । भारत, माल्दिभ्स र श्रीलंकाले भने अंकको खाता खोलेका छैनन् । लिग चरणपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले अब ३१ जुलाईमा भारतको सामना गर्नेछ । फाइनल ५ अगस्टमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?