बारा । मुरी फलाउन मानो रोप्ने महिना असार सकिएर साउनको दोस्रो सातासम्म बारामा ६५ प्रतिशतमात्रै धान रोपाइँ भएको छ । धान रोपाइँको सिजनको समयमा वर्षा नहुँदा र मल अभावका कारण जिल्लामा यस वर्ष अहिलेसम्म धान रोपाइँ हुने कुल क्षेत्रफलको ६५ प्रतिशत हाराहारीमा मात्र धान रोपाइँ भएको हो ।
जिल्ला कृषि ज्ञानकेन्द्र बाराका अनुसार जिल्लामा यस वर्ष अहिलेसम्म धान रोपाइँ हुने कुल क्षेत्रफलको ६५ प्रतिशत हाराहारीमा मात्र धान रोपाइँ भएको हो । गत वर्षको अनुपातमा यस वर्ष अहिलेसम्म २० प्रतिशत खेतहरू बाँझै रहेका छन् भने गत वर्षभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्ष यसबेलासम्म ८५ प्रतिशत बढी क्षेत्रफलमा किसानहरूले धान रोपिसकेको ज्ञानकेन्द्रले तथ्यांकमा उल्लेख छ ।
मलखाद, सिँचाइलगायतको समस्याका कारण धान रोपाइँमा ढिलाइ भएको किसानहरूको गुनासो छ । नियमित पानी नपरेका कारण धान रोपाइँ गर्न समस्या भएको बारा आदर्श कोटवाल गाउँपालिकाका किसान योगेश न्यौपानेले बताउनुभयो । अर्कोतर्फ धान रोप्ने बेलामा अत्यावश्यक पर्ने मलखादको चरम अभावले किसानहरू धान रोप्ने, नरोप्ने दोमनमा रहेका उहाँको भनाइ छ । जिल्लामा ६५ प्रतिशत धान रोपाइँ भए पनि सोचेअनुरूप मनसुनी वर्षा नहुँदा अधिकांश खेतमा धाँजा पर्न थालेको छ । जसोतसो रोपाइँ गरेको धान खेत सुक्दै गएपछि धाँजा परेको हो ।
फाट्टफुट्टबाहेक वर्षा नहुँदा बारा आदर्श कोटवाल गाउँपालिकाका किसानले रामलाल यादवको बोरिङ गरेर रोपाइँ भएको खेत पनि धाँजा फाटेर चिरिएको छ । आकाशे पानी नपरेसम्म धान उत्पादन हुन नसक्ने यादवले गुनासो गर्नुभयो । उहाँले वर्षा नहुँदा र मलको समेत अभाव भएका कारण धान सुकेर कामै नलाग्ने हुन लागेको बताउनुभयो । केही दिन वर्षा नभए धान उत्पादन धेरै कम हुने उहाँको भनाइ छ ।
यता, जिल्लामा ६४ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ । खेती क्षेत्रफल बढी रहे पनि सरकारले नै आवश्यकताभन्दा कम जिल्लामा मलको कोटा कायम गरेका कारण किसानहरूलाई आवश्यकताअनुसार मल आपूर्ति गर्न नसकिएको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ ।
जिल्लामा आठ हजार मेट्रिक टन डिएपी, ११ हजार मेट्रिक टन युरिया र पाँच सय मेट्रिक टन पोटासको खपत गरिँदै आए पनि सरकारले १२ सय मेट्रिक टन डिएपी, ६ सय मेट्रिक टन युरिया स्थानीय तहमार्फत् किसानलाई वितरण गरेकाले धान खेतीको लागि मल अभाव भएको हो ।
खपतको आधाभन्दा कम कोटा निर्धारण गरेर मल बिक्री वितरण गर्नका लागि दिएपछि किसानहरूले आवश्यकताअनुसार मल पाउन नसकेको कृषि ज्ञानकेन्द्र बाराका प्रमुख जितेन्द्र यादवले स्वीकार्नुभयो । बाराका लागि निर्धारण गरिएको कोटाभन्दा निकै कम मल आएकै कारण धान बालीका लागि किसानलाई चाहिने मलको अभाव भएको र आवश्यकताअनुसारको मल उपलब्ध गराइदिनका लागि माथिल्लो निकायमा पहल गरेको प्रमुख यादवको भनाइ छ ।
धान खेतीका लागि पर्याप्त पानी चाहिने बेलामै वर्षा नभएपछि जिल्लाका अधिकांश स्थानको रोपाइँ प्रभावित भएको र अत्यधिक गर्मी तथा पानी अभावका कारण जेनतेन लगाएको धान पनि सुक्न थालेको छ । धान बालीका लागि चाहिने आवश्यक मलको समेत समयमै व्यवस्थापन गर्न नसकिँदा किसानहरूले खेतमा रोपाइँ गरेको धानको उत्पादनमा समेत कमी आउने डर रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच