आज साउन १५, खीर खाएर मनाइँदै

हिमालय टाइम्स
Read Time = 3 mins

आज साउन १५ अर्थात् खीर खाने दिन । आज देशभर खीर भोजन गरेर साउन १५ मनाइँदै छ। खीरलाई पवित्र भोजनको रूपमा पनि लिइन्छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ।

साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मर(मसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। धेरै घाँस पाइने बेलामा गाईभैँसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र र चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो। साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ। यसैले साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् बताउँछन् । यद्यपि यसको कुनै शास्त्रीय वचन भने छैन।

मानिसमा रोगसँग लड्ने क्षमता बढाउनमा खीर उपयोगी भएको मानिन्छ भने गोठधुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुँदा यसको सांस्कृतिक महत्वसमेत रहँदै आएको छ । खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राखेर बनाइन्छ।

विज्ञहरूले खीरलाई सांस्कृतिक पर्वको परिकारसँगै औषधिय गुण खानेकुराको रूपमा समेत अर्थ्याउने गरेका छन् ।

खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ।

नेपाली समाजमा भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ।

यसैबीच, खिर खाऔँ, आफ्नो परम्परा जोगाऔँ भन्ने नाराका साथ नेपाल डेरी एसोसिएसनले यस वर्ष साउन १५ मा देशभरका उपभोक्तलाई खिर खान आहृवान गरेको छ ।

साउन १५ लाई नेपालमा राष्ट्रिय दुग्ध विकास बोर्डले विगत केही वर्षदेखि खिर दिवसका रूपमा मनाउँदै आएको छ । यस वर्ष पनि पोषिलो खिर, स्वस्थ शरीर भन्ने नाराका साथ बोर्डमा खिर दिवस आयोजना हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?