बिमा कम्पनीले पुँजी नबढाए कारोबार रोक्का गर्ने चेतावनी

Read Time = 4 mins

काठमाडौं । बिमा समितिका अध्यक्ष सूर्य सिलवालले तोकिएको पुँजी नपुर्‍याउने बिमा कम्पनीको कारोबार रोक्का गर्ने चेतावनी दिनुभएको छ । बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय बिमा कम्पनीको नवौँ वार्षिकोत्सव कार्यक्रममा उहाँले आफूले अब सरकारी र निजी कम्पनी नचिन्ने भन्दै राष्ट्रिय बिमा कम्पनी र राष्ट्रिय बिमा संस्थानले पनि पुँजी वृद्धि नगरेमा कारोबार रोक्का गरिने चेतावनी दिनुभएको हो । अध्यक्ष सिलवालले राष्ट्रिय बिमा कम्पनी र राष्ट्रिय बिमा संस्थानलाई पारदर्शीरूपमा अघि बढ्न पनि निर्देशन दिनुभयो ।

बिमा कम्पनीले नयाँ कारोबार सुरु गरेको नौ वर्षपछि पनि समस्या रहनु दुःखद भन्दै उहाँले अब ढाकछोप गरेरमात्रै कम्पनी नचल्ने बताउनुभयो । बिमा कम्पनीहरूको पुँजी पाँच अर्ब रुपैयाँसम्म पुर्‍याउन निर्देशन दिइए पनि सरकारी कम्पनीहरू २० करोड रुपैयाँमै सीमित रहेको भन्दै उहाँले अब कारबाहीको विकल्प नरहेको बताउनुभयो । सिलवालले भन्नुभयो, ‘अब कुनै पनि किन्तु परन्तु सुन्नेवाला छैन । विगत जसरी अब चल्दैन । मलाई अडिट चाहियो । सरकार व्याकअप भएर केही हुँदैन । हामी पनि सरकार नै हो । पुँजी वृद्धि भएन भने म कारोबार रोक्का गरिदिन्छु ।’

बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले सरकारी कम्पनीको सबल र दुर्वल पक्ष सबैलाई जगजाहेर रहेको बताउँदै उहाँले आफूहरूको प्रतिस्पर्धा राष्ट्रिय बिमा कम्पनीसँग भए पनि सरकारको व्यवसाय र सहयोग सरकारी कम्पनीलाई नै बढी हुने बताउनुभयो । राष्ट्रिय बिमा कम्पनीका अभिकर्ता शम्भु ढुंगानाले कोरोना बिमा ल्याउनेलाई जेल हाल्नुपर्ने र सरकारी स्वामित्वका कम्पनीले आफ्ना पुराना हिसाबकिताब छिटो सम्पन्न गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राजस्व सचिव कृष्णहरि पुस्कर, नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी, हिमालयन पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखरन रामामूर्तिलगायतको उपस्थिति रहेको थियो ।

हाल राष्ट्रिय बिमा कम्पनीमा सरकारको ४७.५०, कर्मचारी सञ्चय कोषको २२ र नेपाल बैंकको १०.९६ गरी कुल ८०.४६ प्रतिशत संस्थापक सेयर रहेको छ । त्यस्तै बाँकी रहेको १९.५४ प्रतिशत सेयर साधारण सेयर रहेको छ । कम्पनीले आव २०७८/०७९ मा कुल. २६४.७१ करोड बिमाशुल्क आर्जन गरेको छ । कम्पनीमा नबिल बैंकका एक करोड ७४ लाख १५ हजार एक सय ७९ कित्ता, नेपाल इन्भेस्टमेन्ट बैंकका एक करोड ७३ लाख १६ हजार सात सय ४४ कित्ता र नेपाल पुनर्बिमा कम्पनीका २७ लाख ६९ हजार पाँच सय ४९ कित्ता सेयर लगानी रहेको छ ।

त्यस्तै नेपाल आयल निगम, नेपाल बैंक, ग्लोबल आइएमइ बैंक, प्रभु बैंक, सिभिल बैंक, नेपाल ल्युब आयल कम्पनीको समेत लगानी रहेको छ भने २०७९ असारसम्ममा वाणिज्य बैंक, विकास बैंकलगायतको मुद्दती निक्षेपमा चार सय ९० करोड रुपैयाँको लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?