अलपत्र सेती दोभान पुल आठ वर्षमा सञ्चालनमा युएई

हिमालय टाइम्स
Read Time = 4 mins

-युवराज पौडेल

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं. ५ र वडा नं. ६ जोड्ने आँधीखाला सेती दोभान सडक मोटरेबल पुल आठ वर्षपछि निर्माण सम्पन्न भएको छ । दुई वर्षमा सम्पन्न हुने भनेको आँधीखोला सेती दोभान मोटरेबल पुल आठ वर्षसम्म पनि निर्माण नहुँदा आँधीखोला गाउँपालिका वडा नं. ५ र ६ का बासिन्दाहरूलाई कठिनाइ भइरहेको थियो । नेपालकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुबारी जाने यात्रुहरूलाई समेत समस्या परिरहेको थियो ।

उक्त पुलको ठेक्का सम्झौता २०७१/६/२६ मा भएको थियो । सम्झौताअनुसार दुई वर्षभित्रमा काम सम्पन्न गर्नुपर्नेमा आठ वर्ष हुँदा पनि पुल निर्माण हुन नसकेपछि सरोकारवालाहरूलाई स्थानीय राजनीतिक दलका नेता, स्थानीय बासिन्दा र सचेत युवाहरूले विभिन्न तरिकाले आवाज उठाएर दबाब दिएका थिए । ४० मिटर लम्बाइ र सात मिटर चौडाइ क्षेत्रफलमा बनाउने गरी ठेक्का सम्झौता भएको उक्त सेती दोभान पुलको ठेक्का सम्झौता आशेष जेभी कास्कीले लिएको थियो ।

उक्त पुलका मूल ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम) र सहायक ठेकेदार ऋषिराम गौतम हुनुहुन्छ । तामाङ रामेछापका नेपाली कांग्रेसका नेता हुनुहुन्छ भने गौतम नेकपा एमाले कास्कीका नेता हुनुहुन्छ ।

काम समयमै सम्पन्न हुन नसकेपछि स्थानीय जनता आक्रोेशित भएका थिए । सडक डिभिजनले ठेकेदारलाई ठेकेदार कम्पनीले सडक डिभिजनलाई ढिलाइको दोष लगाउँदै काम रोकिने गरेको थियो ।

यसैबीच स्याङ्जामा प्रमुख जिल्ला अधिकारीका रूपमा आउनुभएका राजु पौडेलले उक्त अलपत्र पुलको विषयमा चासो देखाउनुभएको थियो । उहाँको पहलमा पुल अलपत्र पार्ने सडक डिभिजन र ठेकेदार कम्पनीलाई बोलाएर काम अगाडि बढाउन पटक-पटक निर्देशन र दबाब दिएपछि मात्र रोकिएको काम अगाडि बढेको थियो ।

ठेकेदारले दुई वर्षमा सकिनुपर्ने पुल सात वर्षसम्म पनि अलपत्र पारेपछि युथ अफ आँधीखोलाका युवाहरूले ‘ठेकेदार हराएको सूचना’ भन्दै ठेकेदार खोजिदिन सामाजिक सञ्जालमा अभियान नै चलाएका थिए ।

यतिबेला पुल निर्माण भएर लोड टेष्ट पनि सकिएको छ । सेती दोभान, निबुवाबोट, फापरथुम, पातीखोला, भुद्रुमपोला, बेझाङ, माझु, पञ्चमुल, सिरुबारी, दरौंलगायत स्थानका जनता पुल निर्माणसँगै खुसी देखिएका छन् ।

आँधीखोला १ पञ्चमूलका रत्नबहादुर तमु भन्नुहुन्छ, ‘पुल बन्दैन कि भन्ने चिन्ता धेरै थियो । तर, पुल बनेकोमा हामी धेरै खुसी भएका छौँ । अब हाम्रो होमस्टेमा आउने पाहुनाहरूलाई खोलाको चिन्ता भएन ।’

त्यस्तै, आँधीखोला ६ निबुवाबोटका टीकाराम ढकालले भन्नुभयो, ‘पुल अलपत्र पर्दा कति दिन त राती निद्रा पनि लागेन । इञ्जिनियर र ठेकेदारसँग कतिपटक झगडा पनि गरियो । जेहोस् सबैको जोडबलले ढिलै भए पनि पुल बन्यो । खुसीको सीमा नै छैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?