नेतृत्वको कार्यशैलीमाथि सदस्यहरूको प्रश्नैप्रश्न

पार्टी विधानसम्मत नचलेकोदेखि परिवारवाद हाबी भएको सम्मका गुनासा

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा नेतृत्वको तीव्र आलोचना भएको छ । केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनीहरूले पार्टी बनाउन सबै सच्चिनुको विकल्प नभएको धारणा राखेका छन् । अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी बिग्रिँदै गएकोमा चिन्ता पनि व्यक्त गरेका छन् । बिहीबार बैठकमा धारणा राख्दै केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी पार्टीजस्तो नभएको टिप्पणी गर्नुभयो । पार्टीको विचार र व्यवहार लथालिंग अवस्थामा रहेको उल्लेख गर्दै न्यौपानेले माओवादी निरन्तर ओरालो यात्रामा रहेको बताउनुभयो ।

शान्तिपूर्ण प्रतिस्पर्धाको नाममा पार्टी बदनाम भइसकेको उल्लेख गर्दै न्यौपानेले भन्नुभयो, ‘विश्व कम्युनिष्ट आन्दोलनमा जसरी विचलन आएको छ यदि माओवादी पनि यसरी नै जाने हो भने त्यो खतरा रहन्छ त्यसैले संसदीय व्यवस्थालाई उपयोग गरेर अर्काे क्रान्तिको तयारी हामीले गर्नुपर्छ ।’

केन्द्रीय सदस्य ओम शर्माले पार्टी बिग्रिनुको प्रमुख दोषी पार्टी अध्यक्ष प्रचण्ड नै भएको आरोप लगाउँदै भन्नुभयो, ‘माओवादी पार्टी बिग्रियो । यसको अरू कोही दोषी नभएर प्रमुख दोषी नै अध्यक्ष कमरेड प्रचण्ड हो । म त भन्छु, पाँच हजार वर्ष माओवादी पार्टी रहे पनि अहिलेको तरिकारले समाजवादको बाटोमा जान सकिँदैन ।’ नेता शर्माले अहिले राजनीतिक दलका नेतालाई पार्टीका कार्यकर्ता तथा जनताको सानोतिनो काम गर्दा पनि कमिसनबिना काम नगर्ने गरिएको टिप्पणी गर्नुभयो । नेतृत्वमा परिवारवाद लागू भएको आरोप लगाउँदै शर्माले भन्नुभयो, ‘अध्यक्ष प्रचण्ड कमरेडलाई हरेक काम गर्दा दाहाल नै चाहिने । वरिष्ठ उपाध्यक्ष नारायणकाजीलाई श्रेष्ठ कमरेडलाई श्रेष्ठ नै चाहिने ?’ अर्का केन्द्रीय सदस्य हिमाल शर्माले पनि पार्टी बिग्रिनुको प्रमुख दोषी नै अध्यक्ष प्रचण्ड भएको आरोप लगाउँदै भन्नुभयो, ‘पार्टी यसरी विग्रिनुको दोषी अरू कोही नभएर पार्टी अध्यक्ष कमरेड प्रचण्ड नै हो । जो नेता सरकारमा गयो उही अवसरवादी भएर निस्किन थाले । नेतृत्वमा अवसरवाद लागू भयो ।’

परिवारवाद हाबी भएको आक्रोश
जारी केन्द्रीय कमिटी बैठकमा कतिपय सदस्यहरूले शीर्ष नेतामा परिवारवाद हाबी भएको आरोप लगाएका छन् । केन्द्रीय सदस्य लक्ष्मण पन्तले सरकारमा गएको नेतृत्वले अनैतिक गैरकानुनी काम गर्नका लागि आफन्तलाई सचिवालयमा नियुक्त गरेको आरोप लगाउँदै भन्नुभयो, ‘प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिव छोरी गंगा दाहाल बनाउनु र उपप्रधानमन्त्री नारायणकाजीले निजी सचिव शुरेशकाजी श्रेष्ठ नियुक्त गर्नु संयोग मात्रै जुरेको होइन । अनैतिक र गैरकानुनी काम गर्नका लागि परिवारकै सदस्य सचिवालयमा नियुक्त गरिएको हो ।’

केन्द्रीय सदस्य पन्तले नेताको पारिवारिक सदस्यलाई निजी वा स्वकीय सचिवबाट हटाउन केन्द्रीय समिति बैठकबाट निर्णय गर्नुपर्ने माग गर्दै भन्नुभयो, ‘सचिवालयमा बस्ने विश्वास पात्रै नै हो त्यो हामीलाई पनि जानकारी छ । तर, हिजो १० वर्षे जनयुद्धका बेला पार्टीको जुनसुकै व्यक्ति सचिवालयमा राख्दा विश्वास कायम हुने, तर आज लाभको पदमा जानेबित्तिकै पार्टीको नेता कार्यकर्ताप्रति विश्वास कायम नगर्ने ? १० वर्षे जनयुद्धमा किन आफ्ना छोराछोरी आफन्त सचिवालयमा राखिएन ?’

बुधबार र बिहीबार धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी विधिसम्मत रूपले नचलेको भन्दै असन्तुष्टि व्यक्तसमेत गरेका छन् । केन्द्रीय सदस्य कलावती शर्माले पार्टीलाई विधि, विधानमा चलाउन नसकेको र सांगठनिक रूपमा पनि भद्रगोल भएको टिप्पणी गर्दै भन्नुभयो, ‘पार्टी संगठनलाई विधानसम्मत तरिकाले विधि, विधानअनुसार चलाउनुपर्नेमा जहिल्यै पनि विधान भत्किन्छ हाम्रो । विधि, पद्धती र प्रणालीमा लगेर चलाउन नै चुकेको छ । भद्रगोल, विधिसम्मत रूपले नचलेको भन्ने हाम्रो पार्टीको मुख्य समस्या छ । योजना बनाएअनुसार कार्यान्वयन नहुँदा समस्या । बनाएको विधानलाई कार्यान्वयन गरेर जान सक्नुपर्छ ।’

केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले पनि पार्टी निरन्तर ओरालो लागेको टिप्पणी गर्नुभयो । अब योभन्दा ओरालो लाग्ने ठाउँ नरहेको र माओवादी पार्टीजति विधानमा अरू कोही उदार नभएको जिकिर गर्दै सापकोटाले भन्नुभयो, ‘अब पार्टी बनाउने, क्रान्तिकारी बनाउने । अब ३२ सिटभन्दा मुनि झर्ने ठाउँ छैन । सिद्धियो झर्ने ठाउँ । अब उकालो लाग्ने । ०८४ सालमा पुग्दाखेरी अहिले सरकारले गरेका राम्रा कामहरूको बलबुतामा पार्टी रूपान्तरण गर्ने, हामी अलिअलि सुध्रने र जनतातिर फर्किने । जनताको हामीसँग विश्वास गुमेको छ । जनता रिसाएका छन् ।’

केन्द्रीय सदस्य रामनारायण बिडारीले पार्टीका नेताहरू तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने कुरा जोडदार रूपले उठिरहेको बताउनुभयो । पार्टी टाठाबाठा र हुने खानेको मात्रै भएको आरोप लगाउँदै बिडारीले भन्नुभयो, ‘पार्टीको संगठन राम्रो भएन । जनतामा हामी कम गयौँ । टाठाबाठा, जान्नेसुन्ने, धनीमानी, हुनेखानेहरूमा बढी समय बितायौँ । सहरिया, बजारिया भयौँ । ग्रामीण जीवनमा गएनौँ । किसान, मजदुर, श्रमप्रति हामीले ध्यान दिएनौँ । समाजवादउन्मुख कार्य हामीले गर्न सकेनौँ । यो कुरा चाँडै गर्नुप¥यो भन्ने कुरा छ । एउटा कुरा जोडदार रूपले उठेको छ, अब अधिकांश पदहरू चुनावबाट आउनुप¥यो ।’ केन्द्रीय सदस्य दिलीप प्रजापतीले पार्टीमा अराजकता हाबी हुँदै गएको बताउनुभयो । विधान मिच्ने काम पार्टी अध्यक्ष प्रचण्डबाटै भएको आरोप लगाउँदै प्रजापतिले पार्टीमा रहेका दोहोरो भूमिका हटाउनसमेत माग गर्नुभयो । केन्द्रीय सदस्य हरिराज अधिकारीले समाजवादी मोर्चाप्रति प्रश्न उठाउँदै भन्नुभयो, ‘समाजवादी मोर्चा बन्नु राम्रो हो ? पोलिटब्युरोको व्यवस्था किन हटाइयो ?’

महराद्वारा अध्यक्षको प्रशंसा
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावको प्रशंसा गर्नुभएको छ । केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा आफ्नो धारणा राख्नुभएका महराले प्रचण्डको राजनीतिक प्रतिवेदन सही रहेको उल्लेख गर्दै भन्नुभयो, ‘पार्टी पुनर्गठन गर्ने र सुधारको अभियान चलाउने अध्यक्ष प्रचण्डको प्रस्ताव सही छ, यसलाई समृद्ध बनाएर लैजाऔँ । पार्टी संगठन सुदृढ गरेर मात्रै हाम्रो शक्ति बढ्छ अब सबैको ध्यान त्यतातिर जान जरुरी छ । एक-अर्काको विरोधभन्दा पनि सबै नेता कार्यकर्ता एकजुट भएर अघि बढ्नुको विकल्प छैन ।’

विशेष महाधिवेशनमा जोड
नेकपा माओवादी केन्द्रको बैठकमा विधान सम्मेलनभन्दा पनि विशेष महाधिवेशनमा जान प्रस्ताव भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा स्थायी समिति सदस्य जयपुरी घर्तीले विशेष महाधिवेशनमा जानु उपयुक्त हुने धारणा राख्दै भन्नुभयो, ‘विधान सम्मेलन अघि ४०९ जनाको केन्द्रीय कमिटी बनाउने अनि फेरि विधान संशोधन गर्ने अनि फेरि त्यो सच्याउने ? बरु विधान सम्मेलनभन्दा विशेष महाधिवेशन गर्नु उपयुक्त हुन्छ भन्ने मेरो धारणा छ ।’

केन्द्रीय सदस्य गोविन्द रोका ‘सचिन’ले पार्टीको तर्फबाट राज्यका निकायमा पुगेका र लाभको पद ग्रहण गरिसकेका नेता कार्यकर्ताको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै भन्नुभयो, ‘विस २०६३ यता पार्टीको तर्फबाट राजकीय जिम्मेवारी वा विभिन्न लाभको पदमा बसेका नेता कार्यकर्ताको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ र आवश्यकताअनुसार राज्यको निकायद्वारा छानविन पनि गराउनुपर्छ ।’ पार्टी तथा जनवर्गीय संगठनका हरेक तहका कमिटी दुई अंकको बनाउनुपर्नेमा जोड दिँदै रोकाले भन्नुभयो, ‘पार्टीको केन्द्रीय समिति बढीमा ९९, प्रदेश समिति ८५, जिल्ला समन्वय समितिलाई कार्यकारी समितिमा बदलेर ७५ सदस्यीय, महानगर समिति ५५, उपमहानगर समिति ४५, नगर समिति ३५, गाउँ समिति २५, वडा समिति १५, टोल समिति नौ र सेल कमिटी बढीमा सात सदस्यीय बनाऊँ ।’

बैठकमा मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा छलफल भइरहेको छ । बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?