प्राविधिक शिक्षामा छात्राको आकर्षण

हिमालय टाइम्स
Read Time = 6 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट विद्यार्थीहरू आएका छन् । २०६८ सालमा जिल्लामा नै पहिलोपटक सञ्चालन भएको किसानी कृषि प्राविधिक शिक्षालयले ११ वर्षको अवधिमा पाँच सय बढी कृषि प्राविधिकहरू उत्पादन गर्नुका साथै शिक्षालयको भौतिक पूर्वाधारमा समेत उल्लेख्य सफलता प्राप्त गरेको छ ।

कृषि विषय अध्ययनका लागि विद्यार्थीको आकर्षण बढ्दै गएपछि शिक्षालयमा भौतिक पूर्वाधार थप गरिएको छ । सुविधासम्पन्न भवनमा सूचना र प्रविधिका अत्याधुनिक साधनहरूको प्रयोग गरेर शिक्षा दिइँदै आइएको शिक्षालयका संयोजक करण कँडेलले बताउनुभयो । विद्यार्थीहरूलाई किसानका खेतबारी र पशुगोठमा नै लगेर प्रयोगात्मक शिक्षा दिइँदै आएको उहाँको भनाइ छ । शिक्षालयमा छात्रको तुलनामा छात्राको संख्या बढी रहेको कृषि प्राविधिक शिक्षालयले जनाएको छ ।

विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटिए, पाँच वर्षअघि (विसं २०७४ सालदेखि) तीनवर्षे आइएस्सी (एजी) र २०७६ सालदेखि भेटेरिनरी (पशु रोगको चिकित्सा वा उपचारसम्बन्धी) शिक्षा अध्यापन हुँदै आएको छ । शिक्षालयमा अहिले सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ, म्याग्दीलगायत १२ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका शिक्षालयका संयोजक कँडेलले जानकारी दिनुभयो ।

संयोजक कँडेलका अनुसार हाल शिक्षालयमा ९० जना छात्रा र ५१ जना छात्र अध्ययनरत छन् । हाल शिक्षालयमा विभिन्न जिल्लाका १४१ जना विद्यार्थीहरू अध्ययनरत छन् । कृषि डिप्लोमा ५१ जना, डिप्लोमा पशुतर्फ ६० जना र प्रि-डिप्लोमातर्फ ३० जना गरी १४१ जना विद्यार्थीहरूले कृषि र पशुसम्बन्धी शिक्षा लिइरहेका छन् । मासिक पाँच हजारमा आवासीय सुविधासहित गुणस्तरीय शिक्षा प्राप्त गर्न पाएकाले विद्यार्थीको चाप बढ्दै गएको किसानी प्राविधिक शिक्षालयले जनाएको छ ।

यही साउन १६ गते कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरूले पहिलो बेते भैँसीको पेटमा अड्किएको पाडो जीवितै बाहिर निकालेर भैँसीलाई सुत्केरी गराउन सफल भएका थिए ।

भौतिक पूर्वाधारले सम्पन्न किसानी कृषि प्राविधिक शिक्षालयले पछिल्लो समय बाली र पशु विज्ञानमा राम्रो नतिजा प्राप्त गर्दै आएको स्थानीय टेकबहादुर जुग्जालीले बताउनुभयो । आइएस्सी (एजी) तेस्रो सेमेस्टरमा अध्ययनरत छात्रा प्रकृति बूढाले नेपाल कृषिप्रधान देश भए पनि अधिकांश जग्गामा व्यावसायिकरूपमा खेती नगरिँदा बाँझिएको र आफू कृषि प्राविधिक भएपछि कृषकलाई परम्परागत तरिकाले होइन, आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिकरूपमा खेती गर्न सिकाउने उद्देश्यले यस विषयमा आकर्षित भएको बताउनुभयो ।

त्यसैगरी, पशु विज्ञानतर्फ दोस्रो सेमेस्टरमा अध्ययनरत सुरन विकले स्वरोजगार र ग्रामीण भेगका पशुपालक कृषकहरूको सेवाका लागि आफूले पशु विज्ञान रोजेको जानकारी दिनुभयो । १८ महिने जेटिएमा अध्ययनरत तारा शर्माले अझै पनि कृषि पेसा परम्परागत तरिकाले गरिँदै आइएको र आफूले कृषि पढेर जेटिए बनेपछि आधुनिकरूपमा व्यावसायिक कृषि पेसा सिकाउने उद्देश्यले कृषि प्राविधिक शिक्षालयमा पढ्न आएको बताउनुभयो ।

स्थानीय स्रोतका भरमा शिक्षकलाई तलब खुवाएर यो शिक्षालय सञ्चालन गरिएको छ । स्थानीय चन्दादाता र वैदेशिक रोजगारीमा गएका बिमवासीको सहयोगमा शिक्षालय सञ्चालन भइरहेको शिक्षालयका प्रमुख एवं किसानी माविका प्रधानाध्यापक जंगबहादुर गर्वुजाको भनाइ छ । विद्यार्थीलाई प्रयोगात्मक विधिद्वारा शिक्षण गराइँदै आएको र ‘देशको समृद्धि व्यावसायिक कृषि’ भन्ने मूल उद्देश्यका साथ कृषि प्राविधिक शिक्षालय सञ्चालन गरिएको शिक्षालयका प्रमुख गर्वुजाको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?