काठमाडौं । अन्य सरकारी निकाय जस्तै सडक बोर्ड नेपाल पनि अनियमितता र बेथितिको अखडा बनेको छ । सडक मर्मत सम्भारको बजेट विनियोजनदेखि कर्मचारीको सेवा सुविधासमेतमा व्यापक अयिनमितता हुुने गरेको बताइएको छ । बोर्डका तत्कालीन निमित्त कार्यकारी निर्देशक ई.सागर ज्ञवालीको निर्देशनमा सबै काम हुँदै आएको छ । गत आर्थिक वर्ष केही महिना निमित्त कार्यकारीको जिम्मेवारीमा रहनुभएका उहाँलाई अहिले फेरि सोही जिम्मेवारी दिइएको छ । बोर्डमा विगत लामो समयदेखि ज्ञवालीकै हालीमुहाली रहेको र बेथिति बढेर गएको बोर्डकै एक पूर्व-कर्मचारीको दाबी छ । निमित्त कार्यकारी निर्देशक ज्ञवालीले गत आवमा आधुनिक टोल प्लाजा निर्माण गर्न बोलपत्र आ≈वान गरी पेश भएका फर्ममध्ये प्राविधिक प्रस्ताव छनोट भएका १४ वटा फर्मको आर्थिक प्रस्ताव नखोलेको, स्थानीय तहहरूलाई सडक मर्मत सम्भारका लागि सहमति दिन र निकासा दिने काममा आलटाल गरेको, स्थानीय तहलाई सडक मर्मतका लागि बोर्डबाट ऐन, नियम र निर्देशिकामा उल्लेखित व्यवस्था प्रतिकूल हुने गरी बजेट विनियोजन गरेको, बजेट विनियोजनमा स्वेच्छाचारी नीति अख्तियार गरेको र सडक मर्मत सम्भारका लागि सीमित गाउँपालिकालाई आवश्यकभन्दा बढी बजेट विनियोजन गरेको उहाँको जिकिर छ । साथै ज्ञवालीले मासिक रूपमा नियमविपरित आफ्नो व्यक्तिगत मोबाइलमा बोर्डबार्ट शुःल्क तिर्न लगाउने गरेको, सार्वजनिक बिदाका दिन पनि व्यक्तिगत प्रयोगका लागि कार्यालयका चारपांग्रे सवारी साधनमा रातो प्लेट प्रयोग गरिएको, डिजिटल हाजिरी राखिए पनि डिजिटल हाजिरी प्रयोग नहुने गरेको दाबी गरिएको छ । बोर्डका सवारीसाधन व्यक्तिगत जस्तै प्रयोग गर्ने, वरिष्ठलाई बाइक, कनिष्ठलाई गाडी, इन्धनको दुरुपयोग लगायतका बेथिति रहेको सडक बोर्डका एक पूर्व-कर्मचारीको दाबी छ ।
हाल सडक बोर्डमा सातवटा चारपांग्रे र १६ वटा दुईपांग्रे सवारीसाधन रहेका छन् । चारपांग्रे सवारी साधनमा तह (श्रेणी)अनुसार अर्थ मन्त्रालयबाट जारी निर्देशिकाविपरीत मासिक इन्धन कोटा नतोकी इन्धनको व्यापक दुरुपयोग हुने गरेको छ भने बोर्डमा कार्यरत कर्मचारीलाई पदीय जिम्मेवारी (श्रेणी)अनुसारको सुविधाबाट वञ्चित गरिएको छ । अधिकृत द्वितीयलाई सवारीसाधन नदिई तृतीय श्रेणीका अधिकृतलाई दिइएको छ । चारपांग्रे सवारी साधनका लागि दिइएको इन्धन प्रयोगको प्रमाणित लगबुकसमेत नलिइ आर्थिक दुरुपयोग भइरहेको छ । सवारी साधन दुरुयोगका साथै जथाभावी रूपमा इन्धन कुपन जारी गरिएको छ ।
सो सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । २०७८ फागुन २० र २०७९ असार १९ मा उजुरी दर्ता भएको हो । तर, ज्ञवालीले भने आरोपको खण्डन गर्नुभएको छ । उल्लेखित कार्यमा आफ्नो कुनै हात नरहेको र तत्कालीन कार्यकारी निर्देशकसहित बोर्डको निर्णयअनुसार बजेट विनियोजन र सवारी साधनको व्यवस्थापन हुँदै आएको ज्ञवालीले हिमालय टाइम्सलाई बताउनुभयो । तथापि, उहाँले अख्तियारमा उजुरी परेको स्वीकार गर्दै त्यो उजुरी बोर्डकै पूर्व-कर्मचारी निर्मल कोइरालाले दर्ता गरेको जिकिर गर्नुभएको छ । बोर्डका टेक्निकल डाइरेक्टरसमेत रहनुभएका ज्ञवालीले भन्नुभयो, ‘मैले कुनै अनियामितता गरेको छैन, तत्कालीन कार्यकारी कार्यकारी निर्देशकका पालामै भएको नीतिगत निर्णयअनुसार नै बोर्डले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ, अख्तियारमा पनि बयान दिइसक्यौँ, सबै त्यो निर्मलको काम हो ।’
सडक बोर्ड ऐन २०५८ अनुसार रणनीतिक सडक मर्मत गरी चालु अवस्थामा राख्नका लागि दिगो स्रोत व्यवथापन गर्ने गरी निजी-सार्वजनिक साझेदारी मोडलअनुसार स्थापना गरिएको संस्था हो । जसमा कार्यरत कर्मचारीको सेवा सुविधासमेत अन्य सरकारी निकायका कर्मचारीभन्दा बढी रहेको छ । तर, बोर्डका कर्मचारीहरू आफ्नो इञ्जिनियरिङ कलेज, कन्सल्टेन्सी र सहकारीजस्ता व्यवसायमा बढी संलग्न भई सडक बोर्डको काममा खासै ध्यान नदिने गरेको आरोप लाग्दै आएको छ । सडक बोर्ड स्वशासित संस्था भए पनि पछिल्लो समय राजनीतिक हस्तक्षेपका कारण बेथिति बढेको विज्ञहरू बताउँछन् ।
नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक बोर्ड नेपालको मुख्य काम सडक मर्मत सम्भार गराउने, सडक मर्मत सम्भार गर्दा लाग्ने खर्चमा न्यूनीकरण गर्ने तथा सडकको मर्मत सम्भार कार्यलाई पारदर्शी एवं प्रभावकारी बनाउने रहेको छ । सडक बोर्डको सम्बन्धमा व्यवस्था गर्न बनेको सडक बोर्ड ऐन २०५८ अनुसार बोर्डले सडकको नियमित, पटके, आवधिक तथा आकस्मिक मर्मत सम्भार तथा सडकमा चल्ने सवारी साधनमा दस्तुर लगाई उठाउने आवश्यक व्यवस्था गर्न सडक बोर्ड स्थापना गरिएको हो । बोर्ड स्वशासित संस्था भएकाले बोर्डले व्यक्तिसरह चल-अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचविखन गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्ने सडक बोर्ड ऐन २०५८ मा उल्लेख छ । त्यस्तै, बोर्डले व्यक्तिगतसरह आफ्नो नामबाट नालिस उजुर गर्न र बोर्डउपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच