काठमाडौं महानगरलाई नर्भिक हस्पिटलको जवाफ: २० वर्षलाई जग्गा भाडामा लिएको हो, अहिले खाली गर्न सक्दैनौं

Read Time = 4 mins

काठमाडौं । नर्भिक इन्टरनेशल हस्पिटल प्रा।लिले काठमाडौं महानगरले भने जस्तो आफूले बनाएका भौतिक संरचना भत्काएर जग्गा खाली गर्न नसकिने जनाएको छ ।

काठमाडौं महानगरले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काएर खाली गर्न निर्देशन दिएपछि नर्भिकले सरकारसँग आफू २० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली नगर्ने जवाफ दिएको छ ।

नर्भिक हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मंगलबार पत्रकार सम्मेलन गरेर आफूहरुले उक्त जग्गा खाली गर्नुनपर्ने दाबी गर्नुभयो । २०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारी लुम्बप्रसाद सिवाकोटीसँग २० वर्षका लागि उक्त जग्गा भाडामा लिएको भन्दै उहाँले सम्झौतापत्रसमेत सार्वजनिक गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र उक्त जग्गा खाली गर्न निर्देशन दिएपछि नर्भिकले सम्झौतापत्र नै सार्वजनिक गरेर जग्गा खाली नगर्ने बताएको हो ।

पत्रकार सम्मेलनमा हस्पिटलका अध्यक्ष सिंहले महानगरले खाली गर्नु भनेको जग्गामा टहराहरु बनाएर अक्सिजन प्लान्टदेखि बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरुको सप्लाइ गरेको जानकारी दिनुभयो ।

नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घन्टे अल्टिमेटम दिनुभएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह मंगलबार निर्देशन पालन भए नभएको हेर्न नर्भिक अस्पतालमा पुग्नुभएको छ ।

नर्भिक अस्पताल र भूमि सुधार कार्यालयबीच २०६५ जेठ १ मा २० वर्षका लागि लिज सम्झौता भएको थियो । सम्झौतामा १ रोपनी ८ आना १ पैसा १ दाम क्षेत्रफलको जग्गा नर्भिकले प्रयोग गरेवापत वार्षिक ३७ हजार ९८९ रुपैयाँ भाडा तिर्ने उल्लेख छ । उक्त भाडादर प्रत्येक वर्ष १० प्रतिशत बढ्ने पनि सम्झौतामा जनाइएको छ । उक्त सम्झौताको अवधी अझै ८ वर्ष बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?