अस्ताचल पुगेको रविको राजनीति उदयाचलमा फर्केला त ?

हिमालय टाइम्स
Read Time = 11 mins

काठमाडौं । यो शीर्षक सिद्ध नहोस् भन्ने धेरै नेपालीहरूको चाहनाविपरीत नवोदित राजनीतिक दलका अध्यक्ष रवि लामिछानेले आफ्ना पाइलालाई अस्ताचलको डिलमा नै पुर्‍याए ।

(क) योगदान बिनाको लोकप्रियता :
हिजोका दिनमा उनी सफल सञ्चारकर्मी थिए । तर, उनको सफलताको साँचो कुनै राजनीतिक, दार्शनिक आधार थिएन । समाजमा विकसित विकृति, विसंगति र राजनीतिक नेतृत्वको असफलताबाट सिर्जित सामाजिक मनोभावनालाई उत्तेजक शब्दावलीको आवरणमा रविले आकर्षित गरेका हुन् । नेपालको वर्तमान राजनीतिक परिवर्तनमा रवि र रवि जस्ताहरूको कुनै योगदान छैन । यसैकारण उनीहरू निर्ममतापूर्वक निराशाहरूलाई मलजल गरिरहेका हुन्छन् । समाज सुधार गर्ने नाममा, सुशासन स्थापना गर्ने नाममा निराश मानिसहरूको अशान्त मनलाई दोहन गर्न सिकेका हुनाले सञ्चार क्षेत्रमा अनेक विवादास्पद परिघटनाहरूलाई पार गर्दै रविले राजनीतिको मौलो समातेको धेरै भएको छैन । संघीय लोकतान्त्रिक राजनीतिक प्रणालीप्रति कुनै जवाफदेहिता नभएकाहरूले प्राप्त अवसरको उपयोग जुनसुकै सूत्रका आधारमा पनि गर्न सक्छ । कुनै नैतिक मूल्य र राजनीतिक संस्कार र व्यवहारको आवश्यकता उसलाई पर्दैन । रविले पनि यस सत्यलाई राम्ररी उपयोग गर्दै अगाडि बढ्दै थिए । उनको आकर्षक र आक्रामक प्रत्यक्ष प्रस्तुति देखेका नेपालीहरूले परिवर्तनका नायक तर संस्थागत विकासमा असफल, पुरानो र विवेकहीनताको शिखरमा चढेको राजनीतिको विकल्पनायक रविको अनुहारमा अनुभव गर्न लागे । परिणाम उनको नेतृत्वमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी नामक दलले पाँच महिनामा नै जनतामा गहिरो आस जगाउन पायो । मंसिरमा सम्पन्न निर्वाचनमा २० स्थानका साथ प्रतिनिधिसभामा पुग्नुलाई उत्साहसाथ नागरिकहरूले स्वीकार गरेका थिए ।

(ख) गृह नै बटमलाइन हुनुको अर्थ :
तर, गठबन्धनमा बन्ने सरकारको समर्थन गर्न गृह मन्त्रालय नै बटमलाइनमा राखेपछि रविको उचाइ गिर्न लागेको थियो । उनले आफ्नाविरुद्ध अनुसन्धानलाई निष्क्रिय गराउन नै गृह मन्त्रालयको जिम्मेदारीमा अडान राखेको तथ्य पुनर्पुष्टि भएको छ । उनले अमेरिकी नागरिकता परित्याग गरे पनि नेपाली नागरिकता नलिएको, तर अमेरिकी पासपोर्ट यथावत् राखेर नेपाली पासपोर्ट पुरानै नागरिकताका आधारमा लिएको प्रसंगले सर्वोच्च अदालतसम्मलाई आकर्षित ग¥यो र अन्ततः उनका सबै पदहरू खारेज हुन पुगे । अहिले पनि दोहोरो पासपोर्टको मुद्दालाई उनले सामना गर्दै छन् र कानुन र संविधानका विशेषज्ञका अनुसार उनी यसबाट उम्कने कुनै सम्भावना देखिँदैन । यौटा जिम्मेदार नागरिकले राज्यको कानुन र नियमलाई पालना गर्छु भनेपछि पालना गर्नैपर्छ । अहिलेको संविधान कुनै तानाशाहको हुकुम प्रमांगीबाट होइन सार्वभौम जनताको संसद्बाट जारी भएको हो । यद्यपि, अनेक विवादहरू यसमा छन् तर पनि सबैले पालना गरिरहेका छन् । रविका हकमा मात्रै कसरी कानुनविरुद्ध काम गर्न छुट हुनसक्छ ? यही प्रश्न उठ्न लागेपछि रविमा आश्चर्यजनक नकारात्मकता देखापरेको अवस्था छ । उनले सरकारबाट आफ्नो मन्त्रीहरूलाई फिर्ता गरेको र आफ्नाबारे उठेका विवादका विषयमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा प्रकट उत्तेजक, गैरजिम्मेदार र गैरराजनीतिक अभिव्यक्तिले उनमा विकसित भएको अराजक र नकारात्मक मानसिकतालाई आमरूपमा प्रकट गरेको छ । त्यसमा पनि सञ्चार क्षेत्रबाट नै कमाएको ख्यातिका बलमा राजनीतिको पोखरीमा पौडी खेल्न पुगेका रविले उनका आफ्नै विगतको छायाचित्रलाई कुरूप र विवर्ण प्रस्तुत गरेको अनुभव भएको छ ।

(ग) राजकीय पद गुम्दाको पीडा :
रविले नेपालका केही सञ्चारगृह, सञ्चारगृहका मालिक र सञ्चारकर्मीमाथि लगाएको आरोपहरूलाई पुष्टि गर्ने जिम्मेदारी पनि उनकै हुनुपर्ने हो । यद्यपि, सञ्चार क्षेत्र आफँै सबै दूधले धोएको छ भनेर कसैले दाबी गर्दैन । किनकि स्वयम् रविले विगतमा चलाएका उत्तेजक प्रस्तुतिहरूले अनावश्यक रूपमा, अप्रमाणित रूपमा पीडित भएकाहरूको कथा विस्मृतिमा पुगिसकेको छैन । कतिपय मानिसहरूबाट आज पनि त्यो पीडाको मलीन स्वर सुनिन्छ । रविबारेको त्यो मूल्यांकन एकातिर यथावत् रहेको अवस्थामा हुकुमी शासनविरुद्ध लामो संघर्ष गर्दै परिवर्तनको सहयोगी सञ्चार क्षेत्रविरुद्ध समाजलाई भड्काउने प्रयास कुनै पनि अर्थमा निन्दनीय छ र हुनुपर्छ । रविले जसरी पत्रकारिताको मर्म र भावनाविरुद्ध अभिव्यक्ति दिए त्यसलाई राजकीय पद गुम्दाको पीडा भनेर उपेक्षा गर्न नसकिने होइन । तर, छोटो अवधिमा राजनीतिक नेतृत्वमा पुग्नासाथ भयानक अहंकारको प्रतिनिधि अभिव्यक्ति भएको हुनाले उपेक्षायोग्य भएन । त्यसमा पनि सञ्चारगृह घेर्न गरेको उद्घोष र दिएको धम्की त महानिन्दनीय छ ।

तर, सञ्चार क्षेत्रले पनि आत्मसमीक्षा र आत्ममूल्यांकन गर्नै पर्दछ र गरिरहनु पर्छ । आफूलाई भगवान्का अवतार ठान्ने राजनीतिक रोगको अवतार बनाउनु हुन्न सञ्चार क्षेत्रले पनि । आफूले अनुमान गरेका, भनेका, प्रकाशन, प्रसारण गरेका तर्क र विषयहरू बाहेक अरू पनि सत्य होलान् भनेर सोच्नु अनिवार्य छ । गतिशील समाजको मूलधारमा रहने जस-कसैले पनि आत्ममूल्यांकनलाई निरन्तर राख्नै पर्दछ । रविमा रहेको सर्वाधिक कमजोर पक्ष आत्ममूल्यांकन र आत्मपरीक्षण नै हो भनेर मान्नुको अर्थ सञ्चार क्षेत्रमा पनि त्यही सूत्र लागू हुनुपर्छ ।
अर्कोतर्फ रविले बारम्बार एउटै कुरा दोहोर्‍याउँदै आएका छन् । त्यो हो, आफूले कानुनको उल्लंघन गरेको तर दोषी नरहेको । कानुनको उल्लंघन गर्नु नै दोषी हुनु हो भन्ने कुरा भने उनले बिर्सिएका छन् । कानुनको उल्लंघन पनि गर्ने अनि आफू दोषी छैन भन्ने कुरा गर्नु उनको गैरजिम्वेवारीपन हो ।

(घ) निरंकुश चिन्तनको छाया :
रविले गृह मन्त्रालयलाई यतिविधि महत्व दिँदै नाकको प्रश्न बनाउनुले उनको खास स्वार्थ रहेको पुष्टि भएको अवस्थामा स्वतन्त्र दलबाट सरकारको जिम्मेवारीमा पुगेका सदस्यहरूलाई फिर्ता गर्ने रविको निर्णयले सहकर्मीहरूमा अनुभव, योग्यता, क्षमतासमेत बढ्नु हुँदैन भन्ने चिन्तन उनमा देखिएको छ । यस्तो चिन्तन राजनीतिमा घातक हुन्छ । निरंकुश चिन्तनको द्योतक हो : आफू मरेपछि .... राजा भनेजस्तो आफूले सत्तामा बस्न नपाएपछि अरूले किन बस्ने ? भन्ने सोच । जुन सोच रविमा देखिन्छ । अर्थात् जन्मँदै आफूलाई ईश्वरका अवतार ठान्नेहरूले समाजलाई दूषित बनाउन योगदान दिएका हुन्छन् ।

(ङ) माओवादी नेतृत्वको सुरक्षित सरकार :
रविको राष्ट्रिय स्वतन्त्र दल अब सरकारमा छैन । तर, माओवादी नेतृत्वको वर्तमान सरकारलाई त्यस पार्टीको समर्थन यथावत् छ । सरकारको जिम्मेवारी परित्याग गर्ने तर सरकारलाई समर्थन गर्ने दोहोरो रणनीति पनि स्वार्थवश हो भनेर धेरैले अनुमान गरेका छन् । किनकि पासपोर्ट प्रकरण रविको टाउकोमा डेमोक्लसको तरबार जस्तो भएर झुण्डिएकै छ । माओवादी नेतृत्वलाई रविको समर्थन वा विरोधको कुनै असर हुने गणितीय स्थिति छैन । दुई ठूला दलहरूको समर्थन सरकारलाई छ । रविमाथि अदालतले अन्याय गरेको अभिव्यक्तिलाई संसद्मा अभिलेखबद्ध गर्नुहुने एमाले अध्यक्षले समेत सरकारलाई समर्थन गर्ने वचनबद्धता प्रकट गरिरहेको देखिन्छ ।

यद्यपि, सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकारलाई थेगभरोसा गर्ने प्रयास गरिरहेको अवस्थामा रवि वा एमाले पार्टीको बहिर्गमनले खासै फरक पर्ने देखिँदैन । तैपनि रवि अभिव्यक्तिले सञ्चार जगत् र राजनीतिक क्षेत्रमा पैदा गरेको तरंगमाथि भने केही दिन बहस हुने स्पष्ट छ । विचारअनुसार पक्ष वा विपक्ष हुनुलाई स्वाभाविक मान्नुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?