पाल्पामा पनि नासुहरु आन्दोलित

Read Time = 4 mins

-रामचन्द्र रायमाझी
पाल्पा । तलव वृद्धिमा विभेद गरिएको भन्दै पाल्पा सहित देशभरका असन्तुष्ट नायव सुब्बाहरु आन्दोलनमा उत्रिएका छन् ।

प्रक्रिया मिचेर पर्याप्त अध्ययनबिनै कर्मचारीको तलब बढाउने सरकारी तयारीसँगै त्यसको विरोधमा नासुहरु आन्दोलित भएका हुन् । हालै सार्वजनिक भएको नयाँ चालु आर्थिक वर्षदेखि लागु हुने गरी नयाँ तलवमानको विषयलाई सच्याउन दवाब दिने उद्देश्यले पाल्पाका नायव सुब्बा सरहका कर्मचारी समेत आन्दोलनमा उत्रिएका छन् ।

पाल्पाका नायव सुब्बाहरुले जिल्ला प्रशासन कार्यालयको मूल गेटमा मंगलबार विहान ११ बजेदेखि १२ सम्म धर्ना दिएका थिए । नासु सरहका कर्मचारीहरुलाई १५ प्रतिशत वा सो भन्दा माथिका कर्मचारीहरुलाई २६ प्रतिशतसम्म तलव वृद्धिको तयारी भईरहेको अवस्थामा सो कार्यको विरोध गर्दै पाल्पासहित देशभरका नासुहरु आन्दोलनमा उत्रिएका हुन् ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पाल्पा, नेपाल निजामती कर्मचारी संगठन पाल्पा, नेपाल निजामती कर्मचारी युनियन पाल्पा र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती पाल्पामा आवद्ध सयौं नायव सुब्बाहरु असमान तलव व्यवस्थाको खारेज गर्दै बजेटमा प्रस्तुत समान हैसियतमा तलव कायम हुनुपर्ने माम राखेका छन् । आधिकारिक ट्रेड युनियनका अध्यक्ष मनोज आचार्य, कर्मचारी संगठन पाल्पाका अध्यक्ष युवराज ज्ञवाली, कर्मचारी युनियनका अध्यक्ष रवी अर्याल र कर्मचारी संगठन निजामती पाल्पाका अध्यक्ष श्रीराम रावलले अर्थमन्त्रीले असमान तलव व्यवस्था खारेज नगरेसम्म आन्दोलन जारी रहने बताउनु भयो । मंगलबार हामीले एक घण्टा मात्र धर्ना दिएका छौँ, भोलिका दिनमा कार्यालयको सबै काम काज ठप्प पारी चरणबद्ध आन्दोलनमा उत्रिने कर्मचारी संघ, संगठन तथा युनियनका नेताहरुले चेतावनी दिनुभयो ।

आन्दोलनमा उत्रिएका नासुहरुले संघीय निजामती सेवा ऐनको मस्यौदामा अधिकृत पदको पदपूर्तिका लागि विभेदपूर्ण व्यवस्था राखिएकाले सच्चाउन माग गरेका छन् । उनीहरुले अधिकृत पदमा खुल्लाबाट ५० प्रतिशत, बढुवाबाट ३० प्रतिशत र आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत पदपूर्तिको व्यवस्था संघीय निजामती सेवा ऐनमा राख्नुपर्ने माग गरेका छन् । निजामती ऐनमा खरिदार र अधिकृतहरुका लागि माथिल्लो पदमा प्रतिस्पर्धाको आन्तरिक प्रतिस्पर्धाको व्यवस्था राखिएको तर नासुहरुलाई नराखिएकाले सच्चाउनु पर्ने माग गरेका हुन् ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?