दीपाले भारतमा खेल्ने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल पुलिस क्लबकी मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने हुनुभएको छ । लिगका लागि उहाँ बुधबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । दीपाले डनबस्को क्लबबाट केरेला महिला लिग खेल्नुहुनेछ ।

नेपाल पुलिस क्लबमा विगत ६ वर्षदेखि खेलिरहनुभएकी दीपा अर्को महिना आयोजना हुने साफ च्याम्पिनसिपको पहिलो चरणको छनोटमा समेत स्थान बनाउन सफल हुनुभएको थियो । केरेला लिगमा १० वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

देशबाहिर व्यावसायिक फुटबल खेल्दा खुसी लागेको दीपाले बताउनुभयो । ‘व्यावसायिक फुटबल खेल्न पाउनु सौभाग्यको कुरा हो । म नेपालको प्रतिनिधित्व गर्दै खेल्दैछु । सक्दो राम्रो गर्ने प्रयास गर्नेछु,’ दीपाले हिमालय टाइम्ससँग भन्नुभयो ।

केरेला लिगको साबिक उपविजेता हो । केरेला लिग बुधबारबाटै सुरु हुँदैछ । त्यसको पहिलो खेलमा गोकुलम र केरेला एफसीबीच प्रतिस्पर्धा हुने बताइएको छ । दीपाको डनबस्कोले पहिलो खेल बिहीबार लड्र्स पिआरविरुद्ध खेल्नेछ । गोकुलम केरेला र महिला आइ लिग दुवैको च्याम्पियन टोली हो ।

गोकुलमबाट नेपाली महिला टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी खेल्दै हुनुहुन्छ । दुई वर्षअघि गोकुलम आई लिग च्याम्पियन हुँदा सावित्रा सर्वाधिक गोलकर्ता बन्नुभएको थियो ।

सावित्राले गत महिनामात्रै एक वर्षका लागि क्लबसँग सम्झौता गर्नुभएको थियो । क्लबलाई दुई वर्षअघि सावित्राले सानदार प्रदर्शन गर्दै भारतको महिला लिगको उपाधि जिताउनुभएको थियो । सावित्राले लिगका सबै खेलमा गोल गर्नुभएको थियो । प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्दै उहाँले १६ गोल गर्नुभएको थियो ।

सन् २०१९ मा पहिलोपटक सावित्राले सेथु एफसीबाट खेल्दा पनि टोलीलाई च्याम्पियन बनाउनुभएको थियो । त्यसबेला उहाँले १४ गोल गर्नुभएको थियो । घुँडाको चोटका कारण कतारमा शल्यक्रिया गरेर आएपछि पहिलोपल्ट भारतमा लिग खेल्न जान लाग्नुभएको हो ।

सावित्राले गोकुलमबाट यसै महिना हुने एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्नुहुनेछ । उज्वेकिस्तानमा हुने पश्चिम क्षेत्रको समूह चरणको खेल अगस्ट २० देखि २६ सम्म हुनेछ । भारतको च्याम्पियन गोकुलमसँगै यस समूहमा उज्वेकिस्तानको सोग्दियाना, जोर्डनको अर्थडक्स क्लब र इरानको क्लब खातुन वाम एफसी छन् । सावित्रा समूह चरण समाप्त भएपछि नेपाल फर्कने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?