नेपालको अपराजित यात्रा

पिएनजीविरुद्ध चार विकेटले विजयी

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । यूएईमा सोमबारबाट सुरु आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले सिरिजको पहिलो खेलमा सोमबार पपुवा न्युगिनी(पीएनजी)लाई चार विकेटले पराजित गरेको हो । पिएनजीले दिएको २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६९ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेल्नुभयो । यस्तै, अर्का ओपनर आसिफ शेखले ४४, आरिफ शेखले ३८, रोहितकुमार पौडेलले २० र दीपेन्द्रसिंह ऐरीले १७ रन बनाउनुभयो ।

पिएनजीका लागि कप्तान असद भालाले तीन तथा नर्मन भानुवा र सेसे बाउले समान एक-एक विकेट लिनुभयो । त्यसअघि यूएईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा नौ विकेट गुमाएर २०३ रन बनाएको थियो । पिएनजीका लागि चाड सोपारले २३, असद भालाले ३६, सेसे बाउले ३१, किप्लिन डोरिगाले २९ तथा नर्मन भानुवाले २५ रन बनाउँनुभयो ।

नेपालका लागि गुलशन झाले तीन तथा कुशल मल्लले दुई विकेट लिनुभयो । करण केसी, सोमपाल कामी, प्रतिश जी.सीको नाममा समान एक-एक विकेट रहृयो ।

यसै खेलमार्फत तीव्र गतिका बलर प्रतिश जी.सीले एकदिवसीय अन्तराष्ट्रियमा नेपाली टोलीबाट डेब्यू गर्नुभएको छ । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि डेब्यू गर्ने ३७ औं खेलाडी बन्नुभएको छ ।

पहिलो पटक राष्ट्रिय टिममा पर्नुभएका प्रतिशले पहिलो खेलमा नै डेब्यु गर्नुभएको हो । मध्यम गतिका बलर प्रतिशले बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्दै आउनुभएको छ ।

अब नेपालले मार्च २ (फागुन १८) मा घरेलु टोली यूएईसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।

श्रृंखलामा नेपाल, घरेलु टिम यूएई र पिएनजी सहभागी छन् । तालिकाको छैटौँ स्थानमा रहेको नेपालले २९ खेलबाट २८ अंक जोडेको छ । लिग-२ को शीर्ष तीनमा रहन नेपाललाई अब सात खेलमध्ये ६ मा जितको आवश्यकता छ । २९ खेलबाट पाँच अंक मात्र जोडेको पिएनजी पुछारमा छ । पिएनजीको भने शीर्ष तीनमा रहने सम्भावना समाप्त भइसकेको छ । २८ खेलबाट २९ अंक जोडेको यूएई पाँचाँै स्थानमा छ ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ का शीर्ष तीन टिमले आउँदो जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । बाँकी चार टिमले मार्च २४ देखि अप्रिल ४ सम्म नामिबियामा हुने आईसिसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् । प्लेअफमा च्यालेन्ज लिगबाट शीर्ष दुई र लिग-२ को पुछारका चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।

नामिबियामा हुने विश्वकप क्वालिफायर प्लेअफका शीर्ष दुई टिमले पनि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।

जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा क्वालिफायर प्लेअफका शीर्ष दुई, क्रिकेट विश्वकप लिग-२ का शीर्ष तीन र आईसिसीको पूर्ण सदस्य राष्ट्रहरूको सुपर लिगबाट पुछारमा रहेका पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सुपर लिगका शीर्ष सात टिमले सिधै आईसिसी एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । आयोजक राष्ट्रका रूपमा भारतले पनि सिधै विश्वकपमा स्थान बनाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?