सम्झौता नहुँदै मर्जर तथा प्राप्तिको हल्ला गरे कारबाही

Read Time = 6 mins

काठमाडौं । मर्जर तथा प्राप्तिमा जान प्रारम्भिक सम्झौता नहुँदासम्म सोसम्बन्धी सूचना चुहाउने सूचीकृत कम्पनीमाथि कारबाही हुने भएको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन) ले संगठित संस्था आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ को मस्यौदा सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो । गाभ्ने, गाभिने वा प्राप्तिसम्बन्धी जानकारी राख्ने संगठित संस्थाका सञ्चालक, कर्मचारी तथा अन्य सम्बन्धित पक्षले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना तथा जानकारी सार्वजनिक गर्न नपाइने मस्यौदामा उल्लेख छ । गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना तथा जानकारी सार्वजनिक गरेमा सोसम्बन्धी सूचना सार्वजनिक गर्ने संस्थाका सञ्चालक, कर्मचारी तथा अन्य सम्बन्धित पक्षले संगठित संस्थाको कम्पनी सचिवसमक्ष लिखित प्रतिबद्धता पेश गर्नुपर्नेछ ।

हाल सोसम्बन्धी नीतिगत व्यवस्था नहुँदा गाभ्ने, गाभिने बैंक तथा वित्तीय संस्थाहरूले प्रक्रिया सुरु नहुँदै गाभ्ने, गाभिने हल्लाबाजी गर्दै आएका छन् । जसका कारण कतिपयको गाभ्ने, गाभिने तयारी नै भाँडिने गरेको छ ।

त्यस्तै गाभ्ने, गाभिने वा प्राप्तिको प्रक्रियामा रहेका कम्पनीको १५ दिनमात्रै सेयर कारोबार रोक्का राखिनेछ । तर, अर्को संस्थालाई गाभ्ने अर्थात् प्राप्ति गर्ने संस्थाको भने कारोबार रोक्का हुने छैन । त्यसैगरी बोर्डबाट गाभ्ने/गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनीसम्बन्धी कानुनबमोजिम एकीकृत व्यावसायिक कारोबारको स्वीकृति प्राप्त गरेपछि सोको जानकारीसहित एकीकृत व्यावसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनुपर्नेछ ।

अबदेखि गाभ्ने, गाभिने वा प्राप्तिसम्बन्धी जानकारी राख्ने संगठित संस्थाका सञ्चालक, कर्मचारी तथा सम्बन्धित पक्षले प्रारम्भिक समझदारी नभएसम्म सो सम्बन्धमा कुनै पनि जानकारी सार्वजनिक गर्न पाउने छैनन् ।

बोर्डले मर्जर तथा एक्विजिसनमा जाने कम्पनीले छ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । संगठित संस्थाको गाभ्ने र गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको छ महिनाभित्र सम्पन्न गरिसक्नुपर्नेछ मस्यौदामा उल्लेख छ । लगानीकर्ताको सल्लाह सुझावपछि मस्यौदालाई अन्तिम रूप दिइने भन्दै बोर्डले सुझावका लागि सात दिन तोकेको छ । बोर्ड अध्यक्ष रमेशकुमार हमालले निर्देशिका गत साउन १२ बोर्डको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेयर रोक्कासम्बन्धी निर्देशिका दुई साताभित्र लागू गर्ने बताउनुभएको थियो । बोर्डले मौद्रिक नीति सार्वजनिक भएको दिनदेखि नै विज्ञ टिम बनाएर निर्देशिका तयार गरिरहेको उहाँको भनाइ थियो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर कारोबार रोक्का सम्बन्धमा राष्ट्र बैंकले गरेको नीति खारेज गर्दै सोसम्बन्धी सम्पूर्ण अधिकार धितोपत्र बोर्डलाई दिएको थियो । बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ ।

राष्ट्र बैंकको उक्त व्यवस्थासँगै बोर्डले सेयर कारोबार रोक्कासम्बन्धी टोली बनाएको थियो । जसमा बोर्डका कानुनको उपकार्यकारी कृष्णप्रसाद पोखरेल, कार्यकारी निर्देशक विनयदेव आचार्य र प्रवक्ता रूपेश केसी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?