वस्तुभाउ चर्ने रिठेडाँडा बन्यो पर्यटकीय गन्तव्य

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । बागलुङको जैमिनी नगरपालिका-५ बिनामारे स्थित पर्यटकीय क्षेत्र रिठेडाँडामा पर्यटन पूर्वधार निर्माण भइरहेका छन् । अनकन्टार भिरको शिरमा रहेको रिठेडाँडामा नगरपालिका र गण्डकी प्रदेश सरकारले वि.सं. २०७४ सालदेखि यहाँ पूर्वधार निर्माण गर्दै आएका हुन् । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि पर्यटन पूर्वधार निर्माण गरि रहेको जैमिनी नगरपालिका-५ का अध्यक्ष ठगबहादुर थापाले बताउनुभयो । अग्लो डाँडाको शिरमा समथर भू-भाग रहेको हुँदा आन्तरिक पर्यटक घुम्न आउने हुँदा यसलाई उकृष्ट गन्तव्य बनाउनका लागि संरचना थप्दै गएको उहाँको भनाइ छ । हालसम्म ४५ लाख बढि लगानी गरि सकेको अध्यक्ष थापा बताउनुहुन्छ ।

रिठेडाँडामा शौचालय, खानेपानी, चौतारा, मन्दिर घेराबार लगाएका संरचना बनिसकेका छन् । यहाँ आउने पर्यटकलाई समथर मैनाको बीचमा रहेको पोखरी, सिरसिर चलि रहने बतास र रिठेडाँडादेखि देखिने दृश्यले लोभ्याउने गरेको छ । गर्मी याममा त अझ शितला खोज्दै आउनेको लर्कोनै लाग्ने गरेको छ । नगरपालिकाले आगन्तुकका लागि रुख मुनी बसेर शितल ताप्नका लागि चौपारी बनाइ दिएको छ । त्योसँगै विश्रामस्थल पनि निर्माण भएको छ । पछिल्लो समय पर्यटक बढ्दै गएपछि घाम पानी छेक्नका लागि विश्रामस्थल बनाएको अध्यक्ष थापाको भनाइ छ ।

“रिठेडाँडा जैमिनीको मात्रै नभई सिंगो बागलुङको पर्यटकीय क्षेत्र हो, यो ठाउँ वर्षौँदेखि ओझेलमा परेको थियो, नगरपालिका स्थापना भएपछि हामीहरुले यहाँ लगानी गर्दै आएका छौँ, हालसम्म नगरपालिका र प्रदेश सरकारको गरि पचाश लाख बढी लगानी भएको छ” उहाँले भन्नुभयो - “यस वर्ष पनि प्रदेश र नगरपालिकाको १० लाख बजेटले सार्वजनिक शौचालय र खानेपानी व्यवस्थापनको काम हुँदै छ, पहिलेको तुलनामा अहिले निकै परिवर्तन भएको छ, पर्यटकहरुले पनि रुचाउँदै गएका छन् ।”

यहाँ पर्यटन पूर्वधार निर्माणसँगै प्रचारप्रसार हुन थालेपछि पर्यटक बढ्दै गएको जैमिनी नगरपालिका-५ का स्थानीय हर्कबहादुर थापा मगरले जानकारी दिनुभयो । पहिले गाउँलेले गाईभैँसी चरन क्षेत्रका रुपमा प्रयोग गर्ने रिठेडाँडा अहिले पर्यटक रमाउने स्थलका रुपमा विकास भएको उहाँको भनाइ छ । अझ सबैभन्दा बढी त माघ, फागुनको समयमा आउने भन्दै नयाँ वर्ष र अन्य विभिन्न चाडपर्वमा आन्तरिक पर्यटकको भिड लाग्ने थापा मगर बताउनुहुन्छ । पहिले यहाँ कुनै पनि संरचना नहुँदा आउने पर्यटकले घाम पानीको सामना गर्नु परेको भन्दै विश्रामस्थल बनेपछि सहज भएको उहाँको भनाइ छ ।

थापा मगरले भन्नुभयो - “अहिले यही गाउँका मान्छेहरु घुमघाम र बाख्रा, गाईवस्तु चराउनका लागि आउँथे, तर अहिले टाढा-टाढाबाट पनि पर्यटक घुम्न आउने गर्छन्, पुस मागको बेला त पर्यटक नआएको दिननै हुँदैन, अहिले पनि निरन्तर पर्यटक आइरहेको अवस्था छ, यहाँ अझै धेरै पूर्वधार बनाउन बाँकी छ, पूर्ण रुपमा संरचना बने भने विदेशी पर्यटक पनि आउने संभावना बढी छ ।

रिठेडाँडादेखि बागलुङको विभिन्न स्थानसहित पर्वत, स्याङ्जा र उच्च पहाडहरु नजिकबाट अवलोकन गर्न सकिन्छ । ग्रामीण जनजीवन बुझ्न र प्राङ्गारीक खानाको स्वादनका लागि पर्यटक रिठेडाँडा आउने गरेको पाइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?