Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

म्याग्दीको डडुवामा व्यावसायिक तरकारी खेतीको लहर

हिमालय टाइम्स
Read Time = 7 mins
A A- A+

-ध्रुवसागर शर्मा

म्याग्दी । १० वर्ष बहराइनमा काम गर्दा पनि खासै कमाइ गर्न नसकेपछि गाउँ फर्किनुभएका म्याग्दी बेनी नगरपालिका–५ डडुवाका ५२ वर्षीय मोहन भण्डारी अहिले आफ्नै घरअगाडिको खेतबारीमा तरकारी खेती गरेर वार्षिक पाँच लाखभन्दा बढी आम्दानी लिन सफल हुनुभएको छ । भण्डारी अचेल व्यावसायिक तरकारी र फलफूल खेतीमा निकै व्यस्त हुनुहुन्छ । तरकारी खेतीको गोडमेल, मलजल र फलफूलको रेखदेख गर्नु उहाँको दैनिकी बनेको छ ।

भण्डारीमात्रै होइन डडुवा गाउँका भरत भण्डारी, अर्जुन भण्डारी, डेकबहादुर पाइजा, भीमबहादुर पाइजा, वीरबहादुर भण्डारीलगायत २० जनाभन्दा बढी व्यक्तिले गाउँमै व्यावसायिक तरकारी खेती र पशुपालन गरेपछि पहिला उजाड र उराठलाग्दो डडुवामा अहिले व्यावसायिक तरकारी खेती र पशुपालनको लहर नै चलेको छ । व्यावसायिक तरकारी खेती र पशुपालन गरेर यहाँका बासिन्दाहरूले विदेशमा भन्दा बढी कमाइ गर्न सफल भएका छन् भने खेतबारीमा हरियाली र घर-घरमा खुसियाली देख्न पाइने बनाएका छन् ।

विदेशमा रहँदा तरकारी र पशुपालनको क्षेत्रमा गरेको कामको अनुभवलाई लिएर स्वदेश फर्किएपछि भण्डारीले आफूले जानेको सीपलाई कृषि पेसामा अँगालेको बताउनुभयो । विदेशबाट फर्केर चार वर्षअघिदेखि तरकारी खेती गर्दै आउनुभएका भण्डारीले तरकारी बिक्री गरेरमात्रै वार्षिक पाँच लाखभन्दा बढी कमाइ हुने गरेको बताउनुभयो ।

भण्डारीले दुईवटा आधुनिक टनेल, १८ फिट लम्बाइ र १२ फिट चौडाइको तीनवटा सामान्य टनेल र दुईवटा हाइटेक प्रविधिको टनेलभित्र गोलभेँडा खेती लगाउनुभएको छ । वार्षिक सरदरमा डेढ लाख रुपैयाँ जतिको लगानी गरी उहाँले टनेलमा गोलभेंडा, सिमला खुर्सानी, बारीमा काँक्रो, भन्टा, खुर्सानी, सागलगायतका तरकारी लगाउनुभएको छ । उहाँले गोलभेंडा बिक्रीबाट मात्रै सबैभन्दा धेरै चार लाख रुपैयाँ आम्दानी हुने गरेको जानकारी दिनुभयो । यसैगरी, बन्दा, काउली, खुर्सानी, चिप्लेभन्टा आदि बिक्रीबाट एक लाखदेखि डेढलाखसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ ।

भण्डारीमात्रै होइन, अहिले डडुवा गाउँका प्रायः सबै स्थानीयले तरकारी खेती सुरु गरेका छन् । यो गाउँमा तरकारी र पशुपालनको लहर नै चलेको र विगत पाँच वर्षयता स्थानीयहरू आर्थिकरूपमा पनि निकै सबल बनेका स्थानीयवासीसमेत रहनुभएका बुद्ध एकेडेमी बगरफाँटका शिक्षक प्रेम नेपाली (समुद्री) ले बताउनुभयो ।

‘व्यावसायिक कृषिमा मन लगाएर मिहिनेत गर्ने हो भने वार्षिक पाँच÷सात लाख रुपैैयाँ कमाउन विदेश जानुपर्दैन भन्ने उदाहरण मेरै गाउँका दाजुभाइहरू बनेका छन्,’ शिक्षक नेपालीले भन्नुभयोे, ‘पहिला उजाड-उजाड देखिने डडुवाका खेतबारीमा अहिले टनेलै टनेल छन्, टनेलभित्र तरकारी खेतीको रहरलाग्दो हरियाली छ, त्यही तरकारी बिक्री गरेर भएको आम्दानीले घर-घरमा खुसियाली छाएको छ ।’

तरकारी खेतीको सिँचाइका लागि स्थानीयले गाउँमै पक्की ट्याङ्कीसमेत निर्माण गरेका छन् । बर्खाको पानी जम्मा गर्नका लागि बनाइएका ती ट्याङ्कीमा जम्मा भएको पानीले हिउँदमा पानीको अनिकाल पर्दा सिञ्चाइ गर्ने गरेको कृषक पदम भण्डारीले बताउनुभयो । स्थानीय वीरबहादुर भण्डारीले केशरे पानीमा बर्खाको पानी जम्मा गर्न बनाउनुभएको ट्याङ्कीबाट अरू किसानहरूले पनि फाइदा लिएका छन् ।

त्यसैगरी, अर्का कृषक भीम पाइजाले गाउँमा पहिलोपटक गरेको सिमला खुर्सानी खेती यस क्षेत्रका लागि नौलो र मनग्ये आम्दानी लिन सकिने खेती बनेको छ । उहाँले सिमला खुर्सानी बेचेर वार्षिक डेढ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । अर्का कृषक डेकबहादुर पाइजाले तरकारी खेतीका साथै बङ्गुरपालन गर्नुभएको छ । यहाँका कृषकले आम्दानीलाई घरखर्च चलाउन र केटाकेटीको पढाइ खर्च जुटाउनमा प्रयोग गर्छन् । केही रकम व्यावसायिक कृषि खेतीमा लगानी हुन्छ भने बचेको रकमलाई वित्तीय संघसंस्थामा बचत गर्ने गरेको कृषकहरूको भनाइ छ । कृषक भण्डारी भन्नुहुन्छ, ‘राम्रोसँग ध्यान दिएर आफ्नै गाउँठाउँमा व्यावसायिक तरकारी, फलफूल र पशुपालन गर्नसके पैसा कमाउनकै लागि विदेश जानुपर्दैन ।’

गाउँमा उत्पादन गरेको तरकारी र फलफूलको बिक्रीवितरण गर्नका लागि बजारको समस्या नभएको किसानहरू बताउँछन् । सडकको समस्याले गर्दा समयमा नै बजार पु¥याउन भने सास्ती हुने गरेको कृषकहरूको गुनासो छ । सरकारले वास्तविक किसानको पहिचान गर्नुपर्ने यहाँका कृषकहरूको भनाइ छ । सङ्घ, प्रदेश र स्थानीय सरकारले कृषक लक्षित विभिन्न नीति तथा कार्यक्रमहरू ल्याए पनि पहुँच नभएका र व्यावसायिक तरकरी खेतीमा लागेका कृषकहरू भने लाभान्वित हुन नसकेको गुनासो किसानको छ ।

सरकारले कृषकलाई राहत दिने खालका कार्यक्रमहरू ल्याउनुपर्ने बताउँदै भण्डारीले कृषकलक्षित सही नीति र अनुदानका कार्यक्रमहरू ल्याउने हो भने कृषि क्षेत्रमा धेरै राम्रो गर्न सकिने अनुभव सुनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?