राप्ती प्राविधिक शिक्षालय सारिँदै

हिमालय टाइम्स
Read Time = 6 mins

-विवेक खड्का

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयनका लागि राप्ती प्राविधिक शिक्षालय स्थानान्तरणको तयारी सुरु भएको छ । शिक्षालयलाई गढवा गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरणका लागि अन्तिम तयारी सुरु भएको हो ।

शिक्षालय स्थानान्तरण भएमा मौरीघाटमा रहेका संरचना प्रयोग गरेर मन्त्रालयको कामकाज यतैबाट गर्ने सरकारको तयारी छ । मंसिरमा चुनाव घोषणा भएसँगै चुनावअघि नै प्रदेशसभा सञ्चालन र मुख्यमन्त्रीको कार्यालयसमेत स्थापना गरेर यहींबाट कामकाज थाल्ने तयारीमा मुख्यमन्त्री देखिनुभएको छ । सत्ता गठबन्धनबाटै राजधानी कार्यान्वयनमा विलम्ब नहोस् भन्नेमा मुख्यमन्त्री आफैं चनाखो देखिनुभएको छ ।

साउन ३१ गतेबाट शिक्षालयलाई गोबरडिहा लैजाने काम सुरु गर्ने निर्णय भएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिनुभयो । ‘शिक्षालय गढवामा स्थानान्तरण हुने निश्चित भएको छ । हामी सबैको प्रयासले सार्थकता पाएको छ’, अध्यक्ष पोख्रेलले भन्नुभयो, ‘यो कुरा हामी गढवावासीका लागि खुसी र गौरवको विषय हो ।’ राप्ती प्राविधिक शिक्षालय दाङको सञ्चालक समितिको बैठकले यही साउन ३१ गतेदेखि राप्ती प्राविधिक शिक्षालयलाई गोबरडिहामा स्थानान्तरणको कार्य सुरु गर्ने निर्णय गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले शिक्षालय स्थानान्तरणको निर्णय गरेको हो । ‘हामी पहिलो स्थानान्तरण साउन ३१ गते नै गर्छौं । त्यो स्थानान्तरण नमुना हुनेछ,’ शिक्षालय प्रमुख शालिकराम डाँगीले भन्नुभयो, ‘शिक्षालयका लागि चाहिने पूर्वाधारहरू पनि बन्दै छन् । चरणबद्धरूपमा सबै सार्नेछौँ ।’ शिक्षालयमा कृषि, भेटेनरी, सिभिल इन्जिनियरिङलगायत थुप्रै प्राविधिक विषयको पढाइ हुँदै आएको छ । हाल शिक्षालयमा ६९० विद्यार्थी अध्ययनरत छन् ।

प्राविधिक शिक्षालयले उपयोग गरेको जग्गा तथा संरचना प्रदेश सरकारलाई उपभोग गर्न दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को २०७८ चैत १ गते बसेको बैठकले निर्णय गरेको थियो । यो निर्णयका आधारमा शिक्षालय स्थानान्तरण गर्ने प्रक्रिया सुरु गरिएको हो । सरकारको निर्णयका आधारमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सानोठिमीले शिक्षालय स्थानान्तरण सम्बन्धमा समेत पत्र पठाएको थियो ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले समेत राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गर्ने निर्णय गरिसकेको थियो । पहिलो चरणमा शिक्षालयको पठनपाठनका लागि कक्षा सार्ने योजना रहेको प्रदेश स्वास्थ्यमन्त्री इन्द्रजित थारूले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।

गोबरडिहा स्कुलले आफ्नो संरचना खाली गरिसकेको छ । त्यो संरचनालाई रङ लगाएर चिटिक्क पार्ने काम चलिरहेको छ,’ मन्त्री थारूले भन्नुभयो, ‘कक्षाहरू सरेपछि प्रशासन र क्वाटरहरू त्यसपछि सर्छन् ।’ दुवै कामलाई बराबरी प्राथमिकता दिन्छौँ । ढुक्क भएर यो अभियानमा लाग्न जरुरी छ,’ मुख्यमन्त्री केसीले भन्नुभयो, ‘राजधानी कार्यान्वयन पूर्णरूपमा गर्न चाहेका छौँ ।’ शिक्षालय स्थानान्तरण भएपछि राजधानी कार्यान्वयनले गति लिनेछ ।

शिक्षालय स्थानान्तरणपश्चात् त्यहाँ रहेका संरचनाहरू मर्मत गरेर प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालयहरू, निर्देशनालयहरू, विभागहरूको कार्यालय स्थापना गर्न सकिनेछ । २०७७ असोज २० मा बसेको प्रदेशसभा बैठकबाट प्रदेशको नाम र स्थायी राजधानी तोकिएको थियो । यो विषय कार्यान्वयनका लागि प्रदेश सरकारले दुईवटा रणनीति लागू गरेको छ ।

दीर्घकालीन र अल्पकालीन दुईवटा विकल्पबाट राजधानी कार्यान्वयन अघि बढेको छ । दीर्घकालका लागि प्रदेशको गुरुयोजना निर्माण गरेर स्थायी प्रकारको संरचना निर्माणको काम पनि अघि बढेको छ भने अर्को विकल्प भनेको तत्काल प्रशासनिक कामकाज पनि राजधानी क्षेत्रबाट सुरु गर्ने । यी दुई विकल्प कार्यान्वयनमा रहेको देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?