पुस्तक : पन्तको नियात्रा कृति ‘बेलायतदेखि क्यानडासम्म’

हिमालय टाइम्स
Read Time = 7 mins

✍️ सुशीला घिमिरे

विष्णुप्रसाद पन्त अर्थशास्त्रको विद्यार्थी र पेशाले बजारशास्त्रको प्राध्यापक तर साहित्यमा पनि उहाँको सिद्धहस्तता रहेको छ । उहाँका एक दर्जन जति पुस्तक प्रकाशित छन् र ती विविध विधाका छन् । यही सन्दर्भमा उहाँको यो नियात्रा कृति अहिले मेरा हातमा छ ‘बेलायतदेखि क्यानडासम्म’ शीर्षकमा । पुस्तक डिएमआई साइजमा छ र हेर्दा पनि स्तरीय र आकर्षक छ । यस नियात्रा संग्रहको प्रकाशक गुणनिधि पन्त स्मृति प्रतिष्ठान रहेको छ । डा.विष्णुकुमार खत्रीको सम्पादन रहेको यस कृतिको पहिलो संस्करण हो यो जो २०७७ सालमा प्रकाशन भएको छ । पुस्तक भूमिका खण्डसहित १२० पृष्ठमा छ र यसको मूल्य २५० रुपैयाँ रहेको छ ।

पुस्तकको छपाइ स्तरीय छ र अशुद्धिहरू खासै भेटिँदैनन् । आवरणमा बेलायतको लण्डन बृजको तस्वीर र नीलो पृष्ठभूमिमा ग्लोभको नक्शा छ । तल राता र ठूला अक्षरमा पुस्तकको शीर्षक ‘बेलायतदेखि क्यानडासम्म’ भनेर राखिएको छ तर साना नीला अक्षरमा पुस्तकका लेखकको नाम ‘विष्णुप्रसाद पन्त’ भनेर राखिएको छ । पुस्तक आकर्षक छ । पुस्तकमा आवरण तयार गर्ने र साजसज्जाको काम गर्नेहरूका साथै यसको मुद्रण भएको प्रेसको नाम पनि दिइएको छैन ।

पृष्ठ आवरणमा फोटोसहित नियात्राकारको चिनारी दिइएको छ । जसअनुसार उहाँ २००७ साल फागुन १ गते काभ्रेपलाञ्चोक जिल्ला पञ्चकुमारी बिर्ता देउरालीमा जन्मिनु भएको रहेछ भन्ने थाहा हुन्छ । गुणनिधि पन्त र धनलक्ष्मी पन्तका सुपुत्र विष्णुप्रसाद पन्त विभिन्न संघसंस्थामा आबद्ध रहनु भएको जानकारी, उहाँका झण्डै एक दर्जन जति प्रकाशित कृतिहरूको नामसमेत यस पृष्ठमा दिइएको छ । पुस्तकको भूमिका खण्डमा डा.शैलेन्दुप्रकाश नेपालको ‘अनुभूतिगत सन्देशको अभिव्यक्ति’ र लेखकको ‘आफ्नै यात्रा आफ्नै कुरा’ रहेका छन् । यसपछि नियात्रा क्रम रहेको छ ।

उहाँले यस पुस्तकमा एकैपटक दुईवटा देशको नियात्रालाई समेट्नु भएका कारण यो दोहोरो लाभ पाठकले लिन सक्छन् । उहाँले पुस्तकको पहिलो खण्डमा बेलायत खण्ड भन्नु भएको छ र यस खण्डमा २७ वटा नियात्रा छन् । दोस्रो खण्ड क्यानडा खण्डका रूपमा आएको छ ।

पुस्तकमा ५१ वटा नियात्रा रहेका छन् जसमा बेलायततर्फका २७ क्यानडातर्फका २३ र नेपाल फर्कँदाको अनुभूति भएको एउटा नियात्रा यस पुस्तकका छन् । सानो पुस्तकमा यति धेरै नियात्रा रहनुबाटै थाहा हुन्छ पुस्तकका नियात्राहरू छोटाछोटा छन् भनेर । एउटा नियात्रा एक पृष्ठदेखि ५ पृष्ठसम्मका मात्र छन् जसले गर्दा पन्तका यी नियात्राहरू पढ्न लामो समय लाग्दैन । त्यसै पनि हालका दिनहरूमा नियात्रा पाठकहरूबाट रुचाइएको विधा पर्दछ । त्यसमा पनि छोटा हुनाले रमाएर पढ्न सकिन्छ ।

नियात्राले पाठकलाई पनि लेखक सँगसँगै यात्रा गराउन सक्नुपर्छ र ती ठाउँको यात्रा गर्न नपाएका पाठकले ती ठाउँहरूको यात्रा गरेको अनुभूति ती नियात्रा पढ्दाखेरी गर्नुपर्ने हुन्छ । त्यसै पनि नियात्रा वर्तमानमा एउटा पठनीय विधा मानिन्छ । आपूmले यात्रा गर्न नसकेका वा यात्रा गर्न बाँकी रहेका ठाउँहरूको बारेमा जानकरी दिने र ती ठाउँका विशेषता जान्न पाइने भएका कारण नियात्राको लोकप्रियता बढिरहेको हो । जंगबहादुरको बेलायत यात्रादेखि नेपालीमा यात्रा विवरणको लेखन सुरु भएको भए पनि हाल यसले बढी नै लोकप्रियता प्राप्त गरेको छ । यही क्रममा पछिल्लो चरणमा नियात्राकारका रूपमा थपिनु भएको हो विष्णुप्रसाद पन्त ।

उहाँले यस पुस्तकमा एकैपटक दुईवटा देशको नियात्रालाई समेट्नु भएका कारण यो दोहोरो लाभ पाठकहरूले लिन सक्छन् । उहाँले पुस्तकको पहिलो खण्डमा बेलायत खण्ड भन्नु भएको छ र यस खण्डमा २७ वटा नियात्रा रहेका छन् । दोस्रो खण्ड क्यानडा खण्डका रूपमा आएको छ र यस खण्डमा २३ वटा नियात्रा छन् । यति गर्दा ५० वटा नियात्रा समेटिइसक्छन् तर तेस्रो खण्ड अनुभूति खण्ड भनेर एउटा विभिन्न उपशीर्षकसहितको नियात्रा पनि समेटिएको छ ।

यसले गर्दा पन्तको यो नियात्रासंग्रह पठनीय छ र ती देशका विभिन्न विशेषाता बारे जान्न सिक्न चाहनेका लागि लाभदलायक छ । उहाँले आफ्नो यस पुस्तकमा बेलायतका विशेषता र त्यस देशबाट सिक्नुपर्ने कुरा, क्यानडाका विशेषता र त्यस देशबाट हमीले सिक्नुपर्ने कुरा आदिको चर्चा गर्नु भएको छ । आफू सँगसँगै पाठकलाई हिँडाउन उहाँ सफल हुनुभएको छ । नियात्राका शीर्षकहरू एक शब्ददेखि सात शब्दसम्मका छन् ।

शीर्षक आकर्षक र पाठ्यांशको संकेत गर्ने खालका छन् । नियात्रा छोटा-छोटा छन् एक पृष्ठको एक अनुच्छेददेखि अधिकतम् पाँच पृष्ठसम्मको फैलावटका छन् जसले गर्दा पाठकलाई यी नियात्राहरू पढ्न कुनै झर्को लाग्दैन । चिया खाँदाखाँदै वा बसमा यात्रा गर्दागर्दै पढ्न सकिन्छ । यो एउटा पठनीय र संग्रहणीय पुस्तक हो जसका लागि विष्णुप्रसाद पन्तलाई हार्दिक बधाई र पुस्तकको सफलताको कामना । उहाँबाट लेखिएका अन्य केही पुस्तकहरू छपाइको तयारीमा रहेको जानकारी पाइएको छ तिनको पनि शीघ्र प्रकाशनको कामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?