युवालाई उम्मेदवार बनाएर देखाउन अन्य राजनीतिक दललाई ओलीको चुनौती

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले कहिले जातका नाममा, कहिले भुगोलका नाममा नेपालीलाई भिडाउन खोजिएको बताउनु भयो । उहाँले अहिलेको नेपाली समाजलाई स्वस्थ प्रतिष्पर्धातिर जानुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले जातको पहिचान खोज्ने नभइ सबै नेपालीले नेपाली पहिचान खोज्न आवश्यक रहेको बताउनु भयो । उहाँले जातको पहिचानको नाममा एकले अर्कोलाई घृणा गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले नेपालीलाई अनेक प्रकारका जातियताका नाममा विभाजन गर्न खोजिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले गठबन्धनमा भएका सरकारले दुश्मनीतिर राजनीति लैजान खाजेका छन् । हाम्रो समाज स्वस्थ प्रतिष्पर्धातिर जाने की दुश्मनीतिर ? कहिले जातका नाममा, कहिले भुगोलका नाममा नेपालीलाई भिडाउन खोजिन्छ, सेन्टिमेण्टमा ल्याउन खोजिन्छ । हाम्रो पहिचान भनेर । नेपाली पहिचान । हामीले खोज्नुपर्ने नेपाली पहिचान हो । जातका पहिचान यो भन्यो, अनि एकले अर्कोलाई घृणा गर्‍याे । यसरी नेपालीलाई फुटाउन, विभाजन गर्न खोजिएको छ । त्यसो गर्नु राम्रो होइन, हाम्रो देश विविधतायुक्त देश छ ।’

ओलीले आफूसँग स्वास्थ्योपचारका लागि समेत पैसा नभएको बताउनु भयो । उहाँले आफ्नो र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पती मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताउनु भयो । घरघडेरी बेचेर उपचार गर्छु भन्न पनि मिल्ने अवस्था नरहेको बताउनु भयो । उहाँले यो सबै आफ्नो कर्म देशका लागि समर्पित रहेकोले देशकै लागि सम्पती दान गरेको बताउनु भयो । अध्यक्ष ओलीले आफ्नो समर्पण सक्रिय किसिमको रहेको बताउनु भयो । उहाँले देशको विकासका लागि काम गर्दा बिरोधीहरुले काम गर्न नदिएको भन्दै देश विकास र समृद्ध बनाउने अभियानमा अघि बढीरहने प्रतिवद्धता जनाउनु भयो । उहाँले कुनैपनि युवाभन्दा आफू सक्रियतामा कम नरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्नेमात्र होइन, मैले आफ्नो प्राइभेट प्रपर्टी, मेरो, मेरो श्रीमतीको सम्पूर्ण सम्पती आफ्नो होइन अब राज्यको सम्पती भनेर पास गरिसकेको छु । किनभने म देशका लागि समर्पित छु । त्यसकारण मेरो घर म बाचुन्जेल, मेरो श्रीमती बाचुन्जेल, म बस्न पाउँछु, त्यसपछि राज्यको हुन्छ । बिरामी भएँ भने तपाईहरुले उपचार गराउनु भयो भने हो नत्र मसँग पैसा छैन । सांसद छु सांसदको हिसावले थोरै त आउँछ । नत्र मैले घर बेचेर उपचार गर्छु भन्न मिल्दैन, राज्यलाई दान दिइसकेँ । मेरो डेडिकेशन छ, तर इनएक्टिभ खालको होइन, एक्टिभ छ । जबसम्म म जीवित रहन्छु देशका लागि जनताका लागि रहन्छु । कुन्ती मोक्तानले गाएको म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर भने झैँ छु । गीत पनि गाउँदै गर्छु अघि पनि बढ्दै गर्छु । आफ्नो कुरामा आफ्नो अभियानमा म अघि बढीरहन्छु । म युवाहरु भन्दा कम सक्रिय छैन ।’

अध्यक्ष ओलीले राजनीतिक दलले युवालाई महत्व नदिएको भन्ने कुरा सत्य नरहेको जिकिर गर्नुभयो । उहाँले नेकपा एमालेले काठमाडौं महानगरपालिकामा २९ वर्षको उपमेयर बनाएको उल्लेख गर्दै अन्य पार्टीलाई २९ वर्षका युवालाई उम्मेदवार बनाउने हिम्मत गरेर देखाउन चुनौती दिनुभयो । अध्यक्ष ओलीले आफ्ना नयाँ युक्तिहरुलाई अघि सारेर ज्येष्ठ नागरिकका कुरा सुनेर अघि बढ्नुपर्ने बताउनु भयो । देशमा हिंसा सिर्जना भएका कारण युवाहरु परिवार पाल्न विदेश जानुपरेको बताउनु भयो । उहाँले यो क्रम माओवादी जनयुद्ध शुरु भएपछि युवाहरु विदेश पलायन भइरहेको बताउनु भयो । उहाँले विदेश पलायन हुने युवाको अवस्था भयावह रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?